वीरका डाक्टरलाई नयाँ नियम

Birकाठमाडौं, २१ चैत । उपचारका लागि अस्पताल वा क्लिनिकमा जाने अधिकांश बिरामीले डाक्टरको ‘प्रेस्किप्सन’(लेख्ने औषधिको नाम, खाने तरिकासहितको सुझाव) नबुझेर हैरानी बेहोरिरहेका हुन्छन् । तपाईं पनि त्यस्तो समस्या झेल्दै हुनुहुन्छ होला । तर, अब खुसीको खबर † बिरामी र उनका आफन्तहरूको यही समस्यालाई मध्यनजर गरेर नेपालकै पुरानो वीर अस्पतालले डाक्टरहरूका लागि नयाँ नियम बनाएको छ ।

वीर अस्पतालले उपचारका लागि आएका बिरामीलाई डाक्टरले औषधिको नाम प्रष्ट बुझिने गरी अंग्रेजी क्यापिटल लेटर(ठूलो वर्णमाला) र औषधि सेवन गर्ने तरिकालाई नेपाली भाषामा प्रष्ट बुझ्ने गरी लेख्न लगाउने भएको छ । यसका लागि अस्पतालले सबै शाखाहरूलाई निर्देशनसमेत दिइसकेको छ ।
‘अस्पतालमा उपचारका लागि आउने बिरामीले अब चिकित्सकका अक्षर प्रष्ट रूपमा बुझ्नेछन्, अस्पतालका सबै वार्ड तथा विभागहरूमा औषधिको नाम अंग्रेजीको क्यापिटल लेटरमा र औषधि खाने तरिका नेपालीमा प्रष्ट रूपमा लेख्न निर्देशन दिइएको छ’, अस्पतालका निर्देशक डा. बुलन्द थापाले सौर्यसित भने । बिरामी र तिनका आफन्तहरूको गुनासोलाई मध्यनजर गरेर यस्तो नियम लागू गरिएको उनले बताए ।
निर्देशक थापाका अनुसार यो नियम अस्पतालमा लागू समेत भइसकेको छ । केही पुराना चिकित्सकहरूलाई भने नयाँ नियम बानी पार्न गार्‍हो भइरहेको छ । ‘पुराना र लामो समय काम गरेका चिकित्सकहरू भने बानी नपरेकाले बिस्तारै सुधार गरिरहेका छन् तर नयाँ पुस्ताका चिकित्सकले भने यो कुरालाई राम्रोसँग पालना गरिरहेका छन्,’
थापाले भने । बानी नपरेका चिकित्सकहरूले पनि बिस्तारै कार्यान्वयन गरिरहेको र चाँडै सबैले नियम पूर्णपालना गर्ने उनले बताए ।
चिकित्सकको नबुझिने अक्षरका कारण बिरामी मात्र होइन, स्वयं औषधि पसलेले समेत गलत औषधि दिने गरेको गुनासो बढेपछि यस्तो नियम सुरु गरिएको निर्देशक थापाले बताए । उनका अनुसार डाक्टरहरूले अस्पष्ट अक्षरका कारण औषधि पसलेले उस्तै नाम गरेका गलत औषधि दिँदा बिरामीलाई थप समस्या पर्ने गरेका छन् । ‘हजारौँ औषधिको उच्चारण एक–आपसमा मिल्दोजुल्दो हुने र उस्तै–उस्तै नाम हुने गर्छन्, नाम उस्तै भए पनि काम फरक हुने औषधि पसलेले नबुझ्दा बिरामीलाई धेरै गलत औषधि दिइएको पाइयो’, उनले भने । सामान्य अक्षर फरक पर्दा बिरामीको ज्यान जोखिममा पर्ने भएकाले चिकित्सकहरूलाई प्रस्ट बुझिने गरी औषधिको ‘जेनेरिक’ नाम लेख्न निर्देशन दिइएको थापाले बताए ।
औषधि पसलेलेहरू पनि चिकित्सकको नबुझिने अक्षरले समस्या झेल्दै आएको बताए । औषधि व्ययसायी तथा नेपाल औषधि व्यवसायी संघका पूर्वअध्यक्ष पारसमणि बरालका अनुसार प्रस्ट बुझिने अक्षर नलेख्दा धेरैपटक औषधि पसलेहरू पनि समस्यामा परेका थिए । संघले यसअघि पटक–पटक चिकित्सकहरूलाई प्रस्ट भाषामा औषधिको नाम लेख्न अनुरोधसमेत गरेको थियो ।
‘चिकित्सकले प्रस्ट बुझिने गरी औषधिको नाम नलेख्दा हाम्रो व्यावसायिक इमान्दारितामा समेत प्रश्न उठ्ने गरेको छ, चिकित्सकले प्रस्ट रूपमा सबैले बुझ्ने गरी औषधिको नाम लेख्ने हो भने औषधि पसलबाट बिरामीलाई गलत औषधी बिक्री हुने समस्या शतप्रतिशत कम भएर जान्छ,’ बरालले भने । उनका अनुसार डाक्टरले लेखेको नबुझेकै कारण पसलहरूबाट धेरैपटक गलत औषधि बिरामीलाई गएका छन् ।
डाक्टरको गलत ‘प्रेस्किप्सन’का कारण वा गल्तीले कुनै बिरामीको मृत्यु वा नोक्सानी भए ऐननियमबमोजिम कारबाही हुने व्यवस्था छ । मेडिकल काउन्सिलका अनुसार यसप्रकारको त्रुटिले बिरामीमा नकारात्मक असर परे प्रचलित अन्य दण्डबाहेक काउन्सिलले चिकित्सा पेसाको अनुमतिपत्र रद्दसमेत गर्नसक्छ । तर, हालसम्म नबुझिने अक्षरका कारण कति बिरामीमा असर पर्‍यो र त्यस्तो त्रुटिले कति बिरामी प्रभावित भएका छन् भन्ने यकिन तथ्यांक कसैसित छैन ।

प्रतिक्रिया