३३ दलद्वारा सिंहदरबार घेराउ

Gherauकाठमाडौं, २१ चैत । चुनावी मन्त्रिपरिषद् खारेजीको माग गर्दै आन्दोलनमा रहेका नेकपा–माओवादीसहितका असन्तुष्ट ३३ दलले मंगलबार सिंहदरबार घेराउ गरेका छन् । दलीय सहमतिमा सरकार गठनपछि मात्रै चुनाव घोषणा गरिनुपर्ने बताउँदै आएका उनीहरूले बिहान ९ देखि ११ बजेसम्म देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार घेराऊ गरेका हुन् ।

सिंहदरबार घेराउसँगै उनीहरूले देशभरका जिल्ला प्रशासन कार्यालय पनि घेराउ गरेका छन् । मतदाता नामावली संकलनलगायत निर्वाचन तयारीमा भइरहेका काम रोकिनुपर्ने माग उनीहरूले राख्दै आएका छन् । मंगलबार सिंहदरबार वरिपरिका कालिकास्थान, भद्रकाली, हनुमानस्थान र पद्मोदय मोडबाट उनीहरूले घेराउ गरेका थिए । बिहान काठमाडौंको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो । चुनाव असफल पार्ने निर्णय गरेका ३३ दलले २५ चैतसम्मका लागि आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
१ चैतमा भएको संविधान संशोधन र चुनावी मन्त्रिपरिषद् गठन राष्ट्रपतिद्वारा फिर्ता गरिनुपर्ने उनीहरूको माग छ । प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको सरकारले गराउने चुनावमा भाग नलिने घोषणा उनीहरूले गरेका छन् । सरकारले भने उनीहरूलाई वार्तामा आउन आह्वान गर्दै तीन सदस्यीय वार्ता टोली नै गठन गरेको छ ।
सरकार गठनको निर्णय गरेका प्रमुख चार दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिले पनि उनीहरूलाई वार्तामा आह्वान गरेको थियो । तर, उनीहरूले सरकार र उच्चस्तरीय समितिको संवैधानिक हैसियत नभएको भन्दै राष्ट्रपतिसँग मात्रै वार्ता गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया