महाभारत युद्ध निम्तिनुको प्रमुख कारण राजा शन्तनु थिए । यिनै हस्तिनापुर नरेशको ‘कामेच्छा’ ले यसको बीजारोपण गरेको थियो । उनी घरी गंगाको जवानीमा लट्ठिए त घरी मत्स्यगन्धा सत्यवतीको । गंगाका तर्फबाट जन्मिएका छोरा देवव्रतले आफ्नो बिहे गर्नुपर्ने बेलामा पिताका लागि केटी माग्न गइदिनुपर्यो । पिताको प्राण अड्किएकी केटीलाई ‘आमा’ बनाउन उनले आजीवन बिहे नगर्ने र राजा नहुने कसम खानुपर्यो । शन्तनु एक व्यक्तिको कामेच्छाले देवव्रतको पूरै जीवन हल्लिइरह्यो ।
शन्तनुकै कारण हो, भीष्म पितामह (देवव्रत) सक्षम भएर पनि उनको पुरुषत्व उत्तराधिकारीविहीनताको अवस्थामा पुगेको कुरुवंशलाई अघि बढाउन काम आएन । अनेकतिरबाट अनेकौँ अर्थ लगाएर जोडिएको झिनो साइनोका बलमा उनले ऋषि वेदव्यासलाई हस्तिनापुर दरबार झिकाएर रानीहरूलाई वीर्यदान गराउनुपरेको थियो । कालान्तरमा आफ्नै संकल्प उनका लागि घाँडो भइरह्यो । सधैँभरि सत्यको साथमा रहने आन्तरिक इच्छालाई दबाएर षड्यन्त्रैषड्यन्त्रको तानाबानाले ग्रस्त राज्यलाई साथ दिन बाध्य हुनुपर्यो । दुर्जन दुर्योधनलाई काखी च्यापेर प्रिय पाण्डवहरूमाथि शस्त्र चलाउनुपर्ने विवशताका कारण एउटै थिए, उही शन्तनु ।
पितृभक्तिलाई सर्वोच्च दायित्व (धर्म) मानिने त्यो युगमा भीष्मपितामहले गरेको त्याग परिस्थितिजन्य माग थियो, भलै अहिलेको पिढीलाई वाहियात लागोस् । सूर्यदेवसँगको अवैध सम्बन्धबाट कुन्तीले जन्माएका कर्णले सहोदर भाइ अर्जुनको हातबाट मृत्युवरण गर्नुपर्यो, अन्जानवश । मेनकाको पाउजुको छनछनले मनमा कामराग उत्पन्न गरिदिएपछि समाधिमा लीन विश्वामित्र आँखा नखोली बस्न सकेनन् । मेनकाको रूपसौन्दर्यको तेजले विश्वामित्रको तपस्वी मनलाई पराजित गरिदिएपछि उनको तपस्या अधुरै रहन पुग्यो ।
०००
खोज्दै जाने हो भने पुराण अनि इतिहासकालदेखि नै ‘सेक्स’ अनि त्यसले उत्पन्न गराएका स्क्यान्डलले हंगामा मच्चाएका यस्ता प्रसंग थुप्रै भेटिन्छन् । पूर्वीय वा पश्चिमा कुनै पनि सभ्यता यस्ता छैनन्, जसलाई यौनले प्रभावित नपारेको होस् । सभ्यताहरूले यौनलाई पूरै वर्जित त गरेका छैनन् तर यसको सीमा भने निर्धारण गरेका छन् । यौनले ठूलाठूला युद्धसमेत निम्त्याएका छन् । समयले धूलो लगायो होला तर मानिसहरूको स्मृतिमा नामेट अझै भइसकेको छैन, अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन र मोनिका लेविन्स्कीको अवैध यौनप्रकरण । सिल्भियो बर्लुस्कोनी, नेहरुसम्मका विश्वनेताले गरेका परस्त्रीगमनले उनीहरूको राजनीतिक करियरमै धब्बा लगाइदियो । अनि, करिब ५० वर्षअघि ब्रिटेनी युद्धमन्त्री जन प्रफ्युमोले पदबहालीकै क्रममा चर्काएको अवैध यौनसम्बन्धले विश्व तताएको प्रसंग पनि ऊ बेलाका युवा अथवा किशोर मस्तिष्कधारीहरूले अझै बिर्सिएका छैनन् होला । हो, प्रफ्युमो र क्रिस्टिन किलर नामक केटीबीचको सेक्स स्क्यान्डलले उतिबेला ब्रिटेनको सरकार नै हल्लाइदिएको थियो । क्रिस्टिन एक हाइ सोसाइटी गर्ल मानिन्थिन्, जसको एक रुसी जासुससँग पनि सम्बन्ध रहेको चर्चामा आएको थियो । प्रफ्युमो र क्रिस्टिनबीचको यो शक्तिशाली यौनकथाले यसरी स्पिड बढाउँछ–
संघर्षशील मोडल तथा अभिनेत्री मेन्डी राइस डेविस पनि यो प्रसंगमा तानिएकी थिइन्, उतिबेला । मेन्डीका अनुसार ती दिन क्रिस्टिन र उनी नाइटक्लबमा एकसाथ काम गर्थे । सोही दौरान आफूलाई प्रफ्युमोसँग क्रिस्टिनको सम्बन्धबारे थाहा लागेको उनले बताइन् । भनिन्– ‘एकचोटि क्रिस्टिनले मलाई चिडियाघर घुमाउन बोलाएकी थिइन् । त्यही बेला उनले आफू एक विशेष सम्बन्धमा रहेको बताएकी थिइन् । आफ्नो प्रेमीको नाम जोन प्रफ्युमो बताइन्, तर मलाई त्यतिबेला प्रफ्युमो ब्रिटेनका युद्धमन्त्री भन्ने थाहा थिएन ।’ नाइट क्लबमा काम गर्दाताका क्रिस्टिन १९ वर्षकी थिइन् भने मेन्डी षोडशी । दुवै असाध्यै सुन्दरी थिए । सौन्दर्यकै बलमा ठूलाभन्दा ठूला ओहदाधारीसँग सम्पर्क बनाउनु उनीहरूका लागि ठूलो चुनौती थिएन ।
एकचोटि दुवैको भेट उति बेलाका गण्यमान्य डाक्टर स्टिवन वार्डसँग भयो, जसको पहुँच निकै माथिसम्म थियो । मेन्डी सुनाउँछिन्– ‘स्टिवन आफैँ पनि निकै सुन्दर थिए । उच्चभन्दा उच्च ओहदाका व्यक्तिबीच परिचित थिए । उनका साथी नै लिज टेलर, सोफिया लरेनलगायत हुन्थे । इङ्ल्यान्डका उति बेलाका सम्भ्रान्त समुदायका आधाभन्दा बढी मान्छेसँग उनको दोस्ती थियो ।’ स्टिवनको बानी नै थियो, आफ्ना साथीहरूलाई अन्य नयाँ साथीहरूसँग भेट गराइरहनु । खासगरी कोरली उमेरका केटीसाथीहरूलाई परिपक्व तथा शक्तिशाली ओहदाका पुरुष साथीहरूसँग भेट गराउनमा उनी विशेष रुचि राख्थे ।
बकिंघमसायरको क्लिवडनबासी लर्ड एस्टर पनि स्टिवनका हितैषी मित्र थिए । एस्टर आफ्नो फार्महाउसमा प्रायजसो ठूलाठूला पार्टी गरिरहन्थे, जहाँ क्रिस्टिन र मेन्डीका अलावा अरू पनि थुप्रै रूपवती सरिक भइरहन्थे । त्यही क्लिवडनमा नै २०औँ शताब्दीका बदनामभन्दा बदनाम सेक्स स्क्यान्डलमध्ये एकको सुरुआत भएको मानिन्छ । यही ठाउँमा सन् १९६१ को एक पार्टीका दौरान क्रिस्टिन र प्रफ्युमोको हिमचिम सुरु भएको थियो ।
यही दौरान मेन्डी र क्रिस्टिन स्टिवनका अन्य साथीहरूसँग पनि भेट गरिरहेका थिए । रुसी दूतावासका कर्मचारी यु जेन आइवनहाफका साथ पनि उनीहरूको दोस्ती उक्लिँदै थियो । यु जेनको व्यक्तित्व निकै प्रभावशाली थियो, जादुगरी शैलीमा बात मार्थे । साम्यवादबारेको कुनै पनि मुद्दामा बहस गर्न सक्षम मानिन्थे । मेन्डी भन्छिन्– ‘हामी थुप्रैचोटि युजेनलाई सोध्थ्यौँ– कतै तपाईं जासुस त होइन ? उनी हाँसीहाँसी उत्तर दिन्थे– रुसी दूतावासमा सबै जासुसै त छन् †’ मेन्डीका अनुसार एक समय यु जेन र क्रिस्टिनबीचको सम्बन्ध निकै गहिरिएको थियो । एकचोटि पार्टीका लागि यु जेन र क्रिस्टिन सँगै क्लिवडन गएका थिए, फर्कंदा पनि आफ्नै गाडीमा लिफ्ट दिएका थिए । अनि सँगै रात बिताए । यो घटना बाहिर आएपछि प्रफ्युमोसँग चुलीमा पुगिसकेको क्रिस्टिनको सम्बन्ध तुहिन पुगेको थियो ।
त्यसको १८ महिनापछिको एउटा घटनाका कारण कहानीले यु–टर्न लियो । यतिबेला थुप्रै व्यक्ति क्रिस्टिनका पूर्वब्वाइफ्रेन्ड भइसकेका थिए । क्रिस्टिन र उनीसँग सम्बन्ध गाँसेका सबै जना एकाएक चर्चामा आए । यु जेनसँगको निकटतालाई लिएर बेलायती राष्ट्रिय सुरक्षामाथिको खतराका दृष्टिले पनि उनका सम्बन्धहरूको विश्लेषण हुन थाल्यो । मिडियाले खोतलखातल पार्न थालेपछि जोन प्रफ्युमो पनि तानिए । भएको के थियो भने क्रिस्टिनका पूर्वब्वाइफ्रेन्ड उनलाई खोज्दै जबर्जस्ती घरमा घुस्न आए । तर, मेन्डीले उनलाई रोकेपछि उनले गोली चलाइदिए । पुलिस आयो, मिडियाका क्यामेरा तेर्सिए । क्रिस्टिनका सबैखाले सेक्स स्क्यान्डल उदांगिन सुरु भए । पूर्वब्वाइफ्रेन्ड क्रिस्टिनको हत्याप्रयासको आरोपमा जेलमा बन्द थिए । त्यसको पेसीका क्रममा क्रिस्टिन अदालत गइनन्, मिडियाका लागि झन् मसालेदार सामग्री तयार भइदियो । युद्धमन्त्री जोन प्रफ्युमो पनि क्रिस्टिनसँगको अवैध सम्बन्धमा रहेको चर्चा बढेपछि उनीमाथि पनि औँला ठडियो । उनले बचाउ गर्न खोजे– ‘म कुनै क्रिस्टिन किलरलाई चिन्दिनँ, मात्र एकचोटि उनीसँग एउटा समारोहमा भेट भएकोसम्म हो ।’ मामिला यति चर्कियो कि प्रफ्युमोले हाउस अफ कमन्स अर्थात् लन्डनको तल्लो सदनमा सफाइ नै दिनुपर्यो– ‘एकचोटि सामाजिक भेटघाटबाहेक उनीसँग मेरो अरू कुनै सम्बन्ध छैन ।’ अब मिडिया प्रफ्युमो र किलरको सम्बन्धबारे यथार्थ पत्ता लगाउन मेन्डीसमक्ष गए । यसरी दबाब उर्लिंदै जाँदा तीन महिनापछि प्रफ्युमोले पदबाट राजीनामा नै दिनुपर्यो । उनले राजीनामा दिएको तीन दिनपछि स्टिवन पनि पक्राउ परे, उनीमाथि अनैतिक धन्दा सञ्चालन गरेको आरोप थियो ।
यद्यपि मेन्डी भने स्टिवनको गिरफ्तारीका पछि उनको जीवनशैली मुख्य कारण रहेको बताउँछिन् । स्टिवन र उनका महिला मित्रहरूको अदालती गवाहीले गतिलै स्क्यान्डल खडा गरिदियो । मानिसहरू उत्सुकतापूर्वक अदालतबाहिर भीड लाग्न थाले । क्रिस्टिन किलरसँगै मेन्डी पनि निकै चर्चित हुन पुगिन् । यद्यपि कहानीको अन्त्य भने निकै दु:खद हुन पुग्यो । यो हंगामालाई सहन नसकेर स्टिवन वार्डले अन्त्यमा आत्महत्या गरे । जाँच एजेन्सीले दुई महिनापछि प्रफ्युमोलाई क्लिन चिट दियो, ‘क्रिस्टिनसँग सम्बन्ध भए पनि उनका कारण राष्ट्रिय सुरक्षालाई खतरा थिएन’ भन्दै । तर, बढ्दो दबाबका कारण प्रधानमन्त्री हेराल्ड म्याकमिलनले पनि राजीनामा दिए । सेक्स स्यान्डलले राजनीतिक करियर नै डामाडोल पारिदिएपछि जोन प्रफ्युमोले बाँकी जिन्दगी एक सामाजिक संस्थामा काम गरेर बिताए । क्रिस्टिनले पनि आफ्ना विभिन्न चरणका प्रेमसम्बन्ध समेटेर पुस्तकहरू प्रकाशित गरिन् ।
०००
यो घटना अब ५० वर्ष पुरानो भइसकेको छ । नेपालमै पनि केही सेलेब्रिटीका सेक्स टेप सार्वजनिक भइदिएपछि हंगामा मच्चियो । यौनका मामिलामा दिनदिनै उदार हुँदै गएको पश्चिमा समाजको तुलनामा पुर्बेली सभ्यता अपेक्षाकृत खुला हुन नसक्नुले हाम्रोमा यौनजन्य ‘गल्ती’ को प्रभाव बढी हानिकारक साबित हुन पुगेको छ । समाजका सामान्य व्यक्तिका अवैध यौनप्रकरण र त्यसले निम्त्याउने विवाद परिवार र टोलमा मात्रै सीमित रहन्छ । तर, उच्च ओहदाधारी वा राजनीतिज्ञका हकमा यो देश वा विश्वव्यापी भइदिन्छ । तैपनि यौन बाँधिएर बस्न चाहँदैन । आखिर यौनसँग के शक्ति छ त्यस्तो ? यौनका मामिलामा किन मान्छे समाजले तोकिदिएका बाँधहरू भत्काइरहन्छ ? रगतका नाताहरू बिर्सन्छ ? विभिन्न दर्शनले आ–आफ्नै किसिमले यसको उत्तर पहिल्याउने प्रयास गरेका छन् । यौनको स्वभाव प्राकृतिक हो, जुन स्वतन्त्र हुन्छ । अनुभूतिका हिसाबले यो मानिसमा आफैँ उत्पन्न हुन्छ, कसैले सिकाइरहनुपर्दैन । त्यसैले यो वैयक्तिक हुन्छ तर सभ्यताको विकाससँगै मानिसहरूले यसलाई सामाजिक बनाए । सामाजिक नियमहरूमा बाँधे । शरीरको सीमा तोकिदिए । परिस्थितिवश यौनप्राप्तिको अभावमा यो कुण्ठा बनेर मानिसको दिमागमा पस्यो । कतिपय अवस्थामा यो मानसिक समस्या बन्न थाल्यो । यौनको वैधता र अवैधता छुट्याउने गरी समाजले तोकिदिएको मापदण्ड सही होला/नहोला, त्यो अर्को पाटो हो । तर, व्यक्तिमा निहित यौनचाहना सधैँभरि कुण्ठिएर बसिरहन सक्दैन । चाहना चरमतातिर उकालिँदै गर्दा यसले आफ्नो आयतन बढाउँछ र सामाजिक मयार्दाको पर्खाल भत्काउँदै ‘गल्ती’ गरिरहन्छ ।
(एजेन्सीको सहयोगमा)
प्रतिक्रिया