संगीतिक क्षेत्रमा उपलब्धि भएन

Yadav-Yogiकाठमाडौं : २०५२ सालदेखि गीत–संगीतमा लागेका गायक एवं संगीतकार यादव योगी सधैँ लो–प्रोफाइलमा बस्न रुचाउँछन् । दाङको सतबरिया–४, निम्बुखुटीमा जन्मिएका यादव जिल्लाका सांगीतिक माहोलले पनि गीत–संगीतमा लाग्न बाध्य भए ।
प्रचार–प्रसारभन्दा पनि आफ्नो कामप्रति मात्र लगाव राख्ने यादव पछिल्लो समय कोमल ओलीका आवाजमा गीत ल्याउने तयारीमा जुटेका छन् । निकट भविष्यमा ‘सखिया हो, म त राम्री सुघुर बठिनियाँ…’ बोलको गीत नेपाली र थारू भाषा मिसाएर ल्याउन लागेको उनले बताए ।
पहिलोपटक ‘आकाशैमा कालो मैलो छाएजस्तो…’ गीत गाएका यादवले संगीत भरेको पहिलो गीतचाहिँ ‘माया चिन्ता नमान… मायाको डोरी छिन्छ नतान’ हो ।
गीत–संगीतको क्षेत्रमा रहरले प्रवेश गरेका यादवका जीविकोपार्जनको माध्यम भने शिक्षण पेसा हो । हालसम्म आफ्नै स्वर, संगीत र रचनामा उनले आफ्ना पचास भन्दाबढी सिर्जना बजारमा ल्याएका छन् ।
अनामनगरमा साथीसँगको सहकार्यमा ‘आलाप रेकर्डिङ स्टुडियो’ सञ्चालनमा ल्याएका यादव पछिल्लो समय अलि व्यस्त देखिन थालेका छन् । अचेल रेकर्डिङ स्टुडियोमा धेरै समय बिताउने यादवको एक गुनासो पनि छ । त्यो हो, सांगीतिक क्षेत्रमा श्रोताहरूको माया–ममताबाहेक केही उपलब्धि भएन । ‘सांगीतिक क्षेत्रले आर्थिक उन्नतिभन्दा पनि समाजमा पहिचान दिलाएको छ,’ यादवले सुनाए ।
यादव भन्छन्, ‘गीत–संगीतको क्षेत्रमा खुब नशा लागेको छ, सायद यो क्षेत्र अब छाड्न सक्दिनँ होला ।’ शिक्षण र गीत–संगीत नितान्त अलग धारका पेसा होइनन् र † भन्दा यादव भन्छन्, ‘समय मिलाउनु पर्छ, मान्छेले चाहेमा जे पनि गर्न सक्छ ।’
त्यसो त यादवले खबरदार, भइहाल्छ नि, दबदबालगायत तीन चार चलचित्रका गीतमा संगीत दिइसकेका छन् । ‘खबरदार’ चलचित्रको गीतले उनलाई ‘डी सिने’ अवार्डमा उत्कृष्ट संगीतकारको पुरस्कार समेत दिलायो । यसका अलवा उनले राप्ती समाजको उत्कृष्ट संगीतकारको पुरस्कार पनि जितेका छन् ।
थुप्रै एल्बममा संगीत दिएका यादवले लोक तथा दोहोरी गीतलाई पनि छुटाएका छैनन् । निरन्तर संघर्षरत संगीतकार यादव यो क्षेत्रमा व्यावसायिकरूपले नै चिनिन चाहन्छन् । आर्थिक रूपले तनावपूर्ण रहेकोले नेपाली गीत–संगीतको बजारलाई राज्यले नीतिनियम बनाएर संरक्षण गर्नु अति आवश्यक रहेको बताउँछन् यादव ।
उनको गुनासो छ, ‘गीत–संगीतका सर्जकले भने जति पैसा पाइँदैन, यो क्षेत्र पूर्णरूपले व्यावसायिक भए तापनि रकम झार्न भने साह्रै गाह्रो छ ।’ संगीतकार यादव राजधानीले ग्रामीण भेगका कलाकारलाई ठाउँ दिन नसकेको बताउँछन् तर आफूले गाउँका कलाकारलाई जतिसक्यो स्थान दिने गरेको उनले बताए ।
गीत–संगीतमा लाग्ने प्रेरणा गाउँ/समाज नै हो भन्ने यादव उस्ताद गोविन्दराज श्रेष्ठलाई गुरु मान्छन् । झन्डै दुई वर्ष उनले श्रेष्ठसँग संगीतको प्रशिक्षण लिएका छन् । ‘बाँके बर्दिया, क्या कर्‍यो कान्छीले, मेरो दिलै चोर दिया…’ चन्द्रकला शाहको संकलन रहेको सो गीतमा यादव र शिला आलेको स्वर रहेको छ । उनका अनुसार यसै गीतले यादवलाई संगीतको दुनियाँमा अघि बढ्न मद्दत गरेको हो । (सौस)

प्रतिक्रिया