तीन दिन सर्ट फिल्म महोत्सव

काठमाडौं : छाँयाछवि क्रियसनले नयाँवर्षको अवसर पारेर राजधानीमा तीन दिन सर्ट फिल्म महोत्सव गर्ने भएको छ । ‘काठमाडौं सर्ट फिल्म फेस्टा–२०१३’ नाम रहेको महोत्सवमा दर्शकले छोटा चलचित्रबाट मनोरञ्जन प्राप्त गर्न सक्नेछन् । यसका लागि करिब तीन दर्जन छोटा चलचित्र प्राप्त भएका छन् ।
फेस्टाका लागि १२ चैतसम्म चलचित्र पठाउने मिति तोकिएको भए पनि बीचमा नेपाल बन्दलगायत थुप्रै कारणले चलचित्रकर्मीले फेस्टालाई तोकिएको तिथिभित्र चलचित्र पठाउन नसकेकाले चलचित्र दर्ता गर्ने समय एक साता बढाएर १८ चैतसम्म पुर्‍याएइको थियो ।
काठमाडौंको अनामनगरस्थित मण्डला थिएटरमा यही चैत ३०, ३१ र वैशाख १ गते आयोजना हुने फेस्टामा सहभागिता जनाउने चलचित्र, वृत्तचित्र एवं एनिमेसन चलचित्रका समय अवधि कम्तीमा पाँच मिनेटदेखि ४५ मिनेटसम्मको हुनुपर्ने प्रावधान आफूहरूले राखेको जानकारी आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले गराए ।
नेपालमा निर्माण भएका छोटा सिनेमाले वैकल्पिक बजार पाउन् भन्ने उद्देश्यले निर्माणपक्षलाई आफ्नो सिनेमा–प्रस्तुतिको अवसरका लागि फेस्टा आयोजना गर्न लागिएको फेस्टाका निर्देशक डब्बु क्षेत्रीले जानकारी गराए । (सौस)

प्रतिक्रिया