नेपाल र अफगानिस्तान फाइनलमा भिड्दै

Cricketकाठमाडौं,२१ चैत । दुई युवा ब्याट्सम्यान प्रदीप ऐरी र पृथु बास्कोटाको सानदार प्रदर्शनपछि नेपाल एसिसी टी–ट्वान्टी एलिटकपमा ऐतिहासिक यात्रा तय गर्दै फाइनल पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा पृथुले लिएको तीन विकेट र प्रदीपको ५८ रनको योगदानपछि नेपालले बलियो प्रतिद्वन्द्वी युएईलाई ६ विकेटले पराजित गर्‍यो । नेपालले उपाधिका लागि बुधबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दै छ । हङकङलाई सात विकेटले पराजित गरी अफगानिस्तान लगातार चौथोपटक उपाधि जित्ने दौडमा रहेको हो ।

टस जिती पहिला ब्याटिङ गरेको युएई नेपाली स्पिनरको कसिलो प्रदर्शनसामु निर्धारित २० ओभरमा १३३ रन मात्र जोड्न सक्यो । नेपालले १९.१ ओभरमा चार विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
स्पिन आक्रमणका रूपमा इनिङको दोस्रो ओभरमै पठाइएका पृथुले आफ्ना सुरुआती दुई ओभरमा दुई विकेट लिए । उनले चार ओभरमा २० रन मात्र खर्चिए । वसन्त रेग्मीले चार ओभरमा एक मेडन राखेर २४ रन खर्चिए । तीन ओभर बलिङ गरेका शक्तिले २१ रन दिए । नेपालले १५ ओभर स्पिनरमार्फत बलिङ गरेको थियो ।
नवाँै ओभरमा प्रारम्भिक ब्याट्सम्यान तथा विकेटकिपर अब्दुल शकुर(१८)लाई आउट गर्दै वसन्तले तेस्रो विकेटका लागि युएईले गरेको ३१ रनको साझेदारी तोडेका थिए । १६औँ ओभरसम्म ९० रन जोडेको युएईले अन्तिम तीन ओभरमा ३९ रन थपेको थियो । युएईका लागि स्वप्निल पटेलले सर्वाधिक ३७ रनको योगदान गरे । त्यस्तै मोहम्मद आजमले २४, रोहन मुस्ताफाले १६, अम्जाद जावेदले १२ रन जोडे ।
युएईलाई अनुमानितभन्दा कम योगफलमा समेटेपछि उच्च मनोबलका साथ उत्रिएको नेपालले सानदार सुरुआत गर्‍यो । प्रदीपले पहिलो विकेटका लागि सुभाष खकुरेल(२२)सँग ९.३ ओभरमा ६१ रनको साझेदारी गरे । प्रदीप र ज्ञानेन्द्र मल्लबीच दोस्रो विकेटका लागि ३९ रनको साझेदारी हुँदा नेपालले १५.१ ओभरमा १०० रन जोडेको थियो । अन्तिम दुई ओभरमा १८ रन आवश्यक भएको समयमा विनोद भण्डारीले १९आँै ओभरमा दुई छक्का प्रहार गरेर टोलीमाथि परिरहेको दबाब कम गरेका थिए ।
प्रदीपले तेस्रो विकेटका रूपमा आउट हुनुअघि ५७ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । जारी प्रतियोगितामा उनको यो दोस्रो अर्धशतक हो । यसअघि उनले समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ५७ रन जोडेका थिए । सानदार लयमा रहेका यी प्रारम्भिक ब्याट्सम्यानले समूह चरणका अन्य खेलमा हङकङसँग २१ र सिंगापुरविरुद्ध ३० रन जोडेका थिए । समूह चरणमा मलेसियाविरुद्ध भने उनले रन जोड्न सकेनन् । निकै आक्रामक ब्याट्सम्यानको छबी बनाएका प्रदीप अगाडि बढेर प्रहार गर्न खोज्दा स्टम्पिङ आउट भएका थिए । सानदार प्रदर्शन गरेका प्रदीप र पृथु सयुक्त रूपमा प्लेयर अफ दी म्याच भए ।
अफगानिस्तानले साविक उपविजेता हङकङलाई सहजै पराजित गर्‍यो । पहिला ब्याटिङ गरेको हङकङ १९ ओभरमा १०९ रनमा सीमित भएको थियो । हङकङलाई सस्तैमा समेट्नेक्रममा हम्जा होटाकले तीन तथा सामिउल्लाह सेन्वारीले दुई विकेट लिए । अफगानिस्तानले १७.१ ओभरमा तीन विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । साविक विजेता टोलीको जितमा नाजिवुल्लाह जद्रानले ३७ र फजल नियाजाईले २३ रनको योगदान गरे ।
समूह चरणका दुवै विजेता टोली फाइनल पुग्न असफल रहे । समूह ‘ए’मा चारवटै खेलमा विजयी हङकङले नेपाललाई समेत पराजित गरेको थियो भने समूह ‘बी’अन्तर्गत चार वटै खेलमा विजयी हुनेक्रममा युएईले अफगानिस्तानलाई पराजित गरेको थियो ।

प्रतिक्रिया