विद्यार्थी नेतालाई ३२ बर्षे उमेर हदको तयारी

TUकाठमाडौं, २० चैत । त्रिभुवन विश्व विद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि उमेरहद लागू गराउने तयारी गरे पछि विद्यार्थी नेताहरुमा हलचल पैदा भएको छ ।
त्रिविले ३२ वर्ष सम्म मात्रै विद्यार्थी राजनीतिका लागि विधान मस्यौदामा प्रस्ताव गरे पछि कांग्रेस, एमाले र नेकपा–माओवादी निकट विद्यार्थीले विरोध गरेका हुन् । उनीहरुले उमेरहद तोक्ने तयारी गरेर त्रिविले मौलिक अधिकारमाथि हस्तक्षेप गरेको आरोप लगाएका छन् ।
एमाओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले भने उमेर हदको स्वागत गरेको छ ।
त्रिविको उमेरहद सम्बन्धी प्रस्तावमा नेविसंघ र एमाले निकट अनेरास्ववियुले संशोधन प्रस्ताव लैजाने जनाएका छन् । नेविसंघका प्रवक्ता युपी लामिछानेले विद्यार्थी नेताहरुका लागि उमेरहद तोकिएमा विद्यार्थीको मौलिकहकहनन् हुने दाबी गरे ।
‘त्रिविले तोकिएको समयमै स्ववियु निर्वाचन गरेमा उमेरहद जायज हुन्छ,’ उनले भने, ‘समयमा निर्वाचन पनि नगराउने अनि उमेरहद लागू गरेर विद्यार्थी नेतालाई राजनीतिमा अवरोध गर्न पाईदैन ।’
त्रिवि परिषद बैठक चैत–२३ गते बस्ने तयारी भईरहँदा विधानका बारेमा त्रिविका पदाधिकारी र विद्यार्थी नेताहरुबीच आज वार्ता समेत भएको छ । बार्ता केही सकारात्मक रहे पनि उमेर हद र निर्वाचन प्रणालीमा ठोस सहमति हुन नसकेको प्रवक्ता लामिछानेले बताए ।
एमाओवादी र नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले स्ववियु चुनावमा समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने माग गर्दै आएका छन् । यद्यपि नेविसंघ र एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचन प्रत्यक्ष हुनुपर्ने अडान राख्दै आएका छन् ।
वार्तामा त्रिविका रेक्टर गुणनिधि न्यौपाने, त्रिवि विद्यार्थी कल्याण शाखाका प्रमुख गंगाबहादुर थापा, एमाओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल न्यौपाने, नेविसंघका अध्यक्ष रञ्जीत कर्ण, एमाले निकट अनेरास्ववियुका अध्यक्ष माधव ढुङगेल तथा नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष सरद रसाईलीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया