दुई घन्टामै क्षयरोग पत्ता लगाउने प्रविधि विस्तार हुने

काठमाडौं, २० चैत । क्षयरोग लागे/नलागेको दुई घन्टामै पत्ता लगाउने नयाँ प्रविधि देशका १७ स्थानमा विस्तार गरिने भएको छ । चालु आर्थिक वर्षमा मुलुकका विभिन्न ९ स्थानमा क्षयरोग पत्ता लगाउने ‘जिन एक्स्पर्ट’ उपकरण प्रयोग गर्दै आएको राष्ट्रिय क्षयरोग केन्द्रले यसै वर्ष थप ८ ठाउँमा सेवा विस्तार गर्ने भएको हो ।

केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तका अनुसार ‘जिन एक्स्पर्ट’ले माइक्रोब्याक्टेरियम ट्युबरक्युलोसिस र क्षयरोगको महत्त्वपूर्ण औषधि रिफाम्पिसिन प्रतिरोधसम्बन्धी नतिजा एकैपटक दिन्छ । उपकरणमार्फत क्षयरोगका कीटाणु नदेखिएका तथा रोग बल्झिएका क्षयरोगी र क्षयरोग तथा एचआइभीको दोहोरो संक्रमण भएका व्यक्तिको खकार परीक्षणलाई प्राथमिकता दिइने उनले बताए ।
नेपालमा सूक्ष्मदर्शक यन्त्रबाट खकार परीक्षण गरी क्षयरोग पत्ता लगाउने गरिन्छ । खकार परीक्षण गर्न कम्तीमा दुई दिन र खकार कल्चर गर्न कम्तीमा आठ साता लाग्ने गर्छ । ‘जिन एक्स्पर्ट’ उपकरणबाट खकार परीक्षण गर्दा दुई घन्टामै क्षयरोग भए/नभएको पत्ता लाग्ने डा. पन्तले बताए । ‘यसअघि माइक्रोस्कोपबाट खकारबाट परीक्षण गर्दा नतिजा हासिल गर्न केही दिन लाग्थ्यो, यो प्रविधिले एकै दिनमा क्षयरोग लागे/नलागेको पत्ता लगाउन सक्छ,’ उनले भने ।
डा. पन्तका अनुसार नयाँ प्रविधिलाई १४ अञ्चलमा विस्तार गरिनेछ । ‘अञ्चलगत प्रतिनिधित्व हुने गरी कुन–कुन स्थानमा यो प्रविधि राख्ने भन्ने विषयमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘हामीले क्षयरोगका बिरामी बढी भएका र उपचारमा आउनेको चाप बढी भएका ठाउँमा उपकरण उपलब्ध गराउने तयारी गरेका छौँ ।’
केन्द्रका अनुसार नेपालको राष्ट्रिय क्षयरोग कार्यक्रमलाई प्रभावकारी बनाउने उद्देश्यले राष्ट्रिय क्षयरोग केन्द्र तथा अन्तर्राष्ट्रिय आप्रवासी संघ नेपालको समन्वयमा जिन एक्स्पर्ट प्रविधिबाट खकार परीक्षण कार्य सुरु गरिएको हो । यसलाई विश्व स्वास्थ्य संगठनको क्षयरोग रोकथाम साझेदारिताअन्तर्गत टिबी रिच परियोजनाको सहयोग रहेको छ । सोही परियोजनाले थप ८ स्थानमा उपकरण राख्न सहयोग गरेको हो ।

प्रतिक्रिया