प्रचण्डपुत्रको कारबाही फुक्का, बीनाको कायमै

beena-magarकाठमाडौं, २० चैत । अनेरास्ववियु(क्रान्तिकारी)की नेत्री बीना मगरलाई भगाएर तेस्रो बिहे गरेपछि पार्टी कारबाहीमा परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपुत्र प्रकाशमाथिको कारबाही सोमबारदेखि फुकुवा भएको छ । तर, त्यही कसुरमा बीनामाथि गरिएको कारबाही भने फिर्ता गरिएको छैन ।

दाहालनिवास लाजिम्पाटमा सोमबार बसेको एमाओवादी पदाधिकारी बैठकले प्रकाशमाथिको कारबाही फिर्ता लिएको हो । ‘पदाधिकारीको बैठकले राज्य नेवा: राज्यसमिति सदस्य तथा अध्यक्षको सचिवालयका सदस्य कमरेड प्रकाशमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ,’ बैठक स्रोतले सौर्यसँग भन्यो, ‘अब उहाँलाई पार्टीले जिम्मेवारी दिनेछ ।’
गत असारमा प्रकाश र बीनाले भागेर विवाह गरेका थिए । प्रकाशसित बीनाले दोस्रो विवाह गरेकी थिइन् । ६ असारमा बसेको पोलिटब्युरो बैठकले प्रकाशलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रकाशलाई कारबाही गर्ने पार्टी निर्णयपछि अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य रहेकी बीनालाई मोर्चा संगठन र नेवा: राज्यसमितिले कारबाही गरेको थियो । प्रकाश र बीना दुवै राज्यसमिति सदस्य भए पनि अध्यक्ष दाहालपुत्र प्रकाशलाई पार्टी पोलिटब्युरोले र बीनालाई मोर्चा संगठन र नेवा: राज्यसमितिले कारबाही गरेको थियो ।
एउटै कमिटीमा रहेका दुईजनालाई एउटै मुद्दामा कारबाही र फुकुवा गर्ने निकाय भने अलग–अलग छन् । प्रकाशको कारबाही फुकुवा भए पनि बीनामाथिको भने कायमै छ ।
एउटै मुद्दामा कारबाहीको अलग–अलग मापदण्ड देखिएको अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले बताए । अब बस्ने राज्यसमितिको बैठकमा यसबारे छलफल हुने उनले बताए । ‘पार्टी पदाधिकारी बैठकले प्रकाशमाथिको कारबाही फुकुवा गरेको भन्ने सुनियो । कि दुवैको फुकुवा गरिनुपथ्र्याे, एकजनाको मात्र फुकुवा गर्नु न्यायिक देखिएन,’ शर्माले सौर्यसँग भने, ‘बीनाजीको कारबाहीबारे अब राज्यसमितिको बैठक बस्छ र त्यसैमा छलफल हुन्छ ।’
एउटै कमिटीमा रहेका दुवैको कारबाही गर्ने निकाय पनि एउटै हुनुपर्ने शर्माको भनाइ छ । ‘प्रकाशजीलाई कारबाही पनि केन्द्रले नै गर्‍यो र फुकुवा पनि केन्द्रीय पदाधिकारी बैठकले गर्‍यो । बीनाजीको कारबाहीबारे राज्यसमितिको बैठक बस्नुपर्ने भयो,’ शर्माले भने ।
एमाओवादीमा पार्टी अनुशासनविपरीत गतिविधि देखिएमा सम्बन्धित कमिटीमै आलोचना, आत्मालोचना र अन्त्यमा त्यही कमिटीले कारबाही गर्ने पद्धति छ । तर, अध्यक्ष दाहालपुत्र प्रकाशको हकमा भने कारबाही र फुकुवा दुवैमा दोहोरो मापदण्ड देखिएको हो ।
यसअघि पार्टी भूमिगत हुँदा पनि अध्यक्ष दाहाल र पुत्र प्रकाशको हकमा यस्तै दोहोरो मापदण्ड अपनाइएको थियो । चुनवाङ Prakash-Dahalबैठकले शान्तिप्रक्रियामा जाने निर्णय गरेपछि पार्टीका सबै तहमा एक तह घटुवा गर्ने निर्णय गरे पनि अध्यक्ष दाहाल र पुत्र प्रकाश भने पहिलेकै जिम्मेवारीमा थिए ।
गत जेठमा सगरमाथा आरोहण दलमा सँगै रहेका प्रकाश र बीनाबीचको निकटता पछि प्रेममा बदलिएको थियो । काठमाडौं फर्केपछि उनीहरूले भागेर विवाह गरेका थिए । पहिलो विवाह गरेकी पत्नीसँग सम्बन्धविच्छेदपछि पोखराकी सिर्जना त्रिपाठीसँग
प्रकाशले दोस्रो बिहे गरेका थिए । एमाओवादीकै कार्यकर्ता शंकर अधिकारीसँग पहिलो विवाह गरेकी बीना प्रकाशसँग भागेर दिल्ली गएकी थिइन् ।
सिर्जनाबाट प्रकाशका एक छोरा जन्मेपछि प्रकाशले बीनासँग तेस्रो बिहे गरेका हुन् । सिर्जना हाल छोरासहित पोखरास्थित माइतीमै छिन् भने भारतको राजधानी नयाँदिल्ली बस्दै आएका प्रकाश र बीना यसै साता काठमाडौं आएका छन् । उनी आइतबार मास्क लगाएर क्रिकेट हेर्न कीर्तिपुरस्थित मैदानमा समेत पुगेका थिए ।
प्रकाश तेस्री पत्नी लिएर दिल्ली गएपछि पत्नी सिर्जना लामो समयदेखि माइतीमै छिन् । गत साता पारिवारिक भ्रमणका लागि भन्दै पोखरा गएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र पत्नी सीता नाति हेर्न प्रकाशको ससुराली पुगेका थिए ।

प्रतिक्रिया