कीर्तिमान रच्दै नेपाल सेमिफाइनलमा

Cricate-Nepalकाठमाडौं, १९ चैत । टी–ट्वान्टी क्रिकेटमा अहिलेसम्मकै उच्च योगफल तयार गर्दै नेपाल एसियाली क्रिकेट परिषद्(एसिसी) टी–ट्वान्टी एलिटकपको चौथो संस्करणमा आइतबार सेमिफाइनल प्रवेश गरेको छ । समूह ‘ए’ अन्तर्गत आफ्नो अन्तिम खेलमा सिंगापुरविरुद्ध पहिला ब्याटिङ गर्नेक्रममा २१० रन जोडेको घरेलु टोली नेपाल १२१ रनले विजयी भएर समूहको उपविजेता बन्यो र लगातार दोस्रोपटक यस प्रतियोगितामा सेमिफाइनल प्रवेश गर्न सफल भयो । नेपालमै आयोजित गत संस्करणमार्फत नेपाल पहिलोपटक यस प्रतियोगितामा सेमिफाइनल पुग्न सफल भएको थियो । यसपटक हङकङसँग पराजय बेहोर्नुबाहेक समूहमा खेलिएका अन्य सबै तीन खेलमा नेपाल विजयी भयो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको खेलमा सहज जितको लक्ष्यसहित उत्रिएको नेपालले सानदार ब्याटिङ गर्‍यो । निर्धारित २० ओभर टिकेर पाँच विकेट मात्र गुमाएको नेपालको इनिङमा विनोद भण्डारीले ५४, कप्तान पारस खड्काले ४४ र प्रदीप ऐरी तथा ज्ञानेन्द्र मल्लले समान ३० रन जोडे । शरद भेषवाकरले २६ रन जोडे । यसअघि यसै प्रतियोगिताको गत संस्करणअन्तर्गत समूह चरणको अन्तिम खेलमा साउदी अरबविरुद्ध १८३ रन जोडेर नेपालले टी–ट्वान्टी क्रिकेटमा उच्च योगफलका रूपमा राष्ट्रिय कीर्तिमान बनाएको थियो ।
समूहमा यसअघि तीनवटै खेलमा पराजय बेहोरेको सिंगापुर नेपालविरुद्ध विशाल लक्ष्य पछ्याउने क्रममा १५.१ ओभरमा ८९ रनमा सीमित भयो । यसपछाडि नेपाली स्पिनरहरूको प्रदर्शन सानदार रह्यो । स्पिनरद्वय वसन्त रेग्मीले तीन तथा शक्ति गौचनले दुई विकेट लिए भने अन्य स्पिनर सागर पुन र पृथु बास्कोटाले पनि एक/एक विकेट हात पारे । पेस वलरद्वय पारस खड्का र चन्द्र साउदको नाममा समान एक विकेट रह्यो । इनिङको पहिलो ओभरमै विकेट लिएर चन्द्रले सानदार सुरुआत दिलाउँदा दोस्रो ओभरमा पारसले पनि विकेट हात पारे । पहिलो स्पिन आक्रमणका रूपमा चौथो ओभरमा वसन्तलाई उतारिँदा उनले सुरुआतमै विकेट लिए । सिंगापुरको इनिङ कुनै पनि समय सम्हालिने स्थितिमा देखिएन । वैकल्पिक खेलाडीका रूपमा टिममा रहेका स्पिनर सागर, सन्जम रेग्मी घाइते भएपछि टिममा फिर्ता हँुदै सिनियर टिममा आइतबार डेब्यू गर्न सफल भए । एकै स्पेलमा तीन ओभर बलिङ गर्न पाएका सागरले २० रन खर्चिए । चार स्पिनर र दुई फास्ट बलरसहित उत्रिएको नेपालले आइतबार हरेक पक्षमा सुधारिएको प्रदर्शन गर्‍यो ।
यसअघि नेपाली ब्याटिङक्रममा केही हेरबदल गरिएको यस खेलमा तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका विनोदले ३४ बलमा तीन चौका र चार छक्का प्रहार गरे । कप्तान पारसले २५ बलमा चार चौका र एक छक्का प्रहार गरे भने ज्ञानेन्द्रले ११ बलमा एक चौका र चार छक्का प्रहार गरे । शरदले ११ बलको सामना गर्दै तीन छक्का प्रहार गरे । शनिबार मलेसियाविरुद्ध ८७ रन बनाएका पारस स्पिनरको बलमा बलरद्वारा नै क्याच आउट भएपछि लगातार दोस्रो अर्धशतक बनाउनबाट चुकेका थिए ।
टोलीको ९ रन हुँदा प्रारम्भिक ब्याट्सम्यान सुभाष खकुरेल पाँच रन जोडेर आउट भए पनि त्यसपछिका ब्याट्सम्यानले सानदार प्रदर्शन गरे । प्रदीप र विनोदबीच दोस्रो विकेटका लागि ५५, विनोद र पारसबीच तेस्रो विकेटका लागि ७२ रनको साझेदारी भयो । नेपालले सेमिफाइनलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’अन्तर्गत आफ्नो सबै खेलमा विजयी हुँदै युएई समूह विजेताका रूपमा सेमिफाइनल प्रवेश गर्‍यो । यसअघिका सबै संस्करणको विजेता अफगानिस्तान यस समूहबाट उपविजेता बन्यो । उसले फाइनल प्रवेशका लागि समूह ‘ए’को विजेता हङकङसँग खेल्नेछ । अफगानिस्तानले युएइसँग पराजय बेहोर्नुबाहेक समूहका अन्य सबै खेलमा जित हात पार्‍यो । सेमिफाइनलका दुवै खेल मंगलबार कीर्तिपुर मैदानमा हुनेछन् ।
नेपाल विश्वकप छनोटमा
अफगानिस्तान र युएई समूह चरण पार गरेपछि नेपाल सेमिफाइनल यात्रासँगै यसै वर्षको नोभेम्बरमा युएईमा हुने आइसिसि टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश गरेको छ । नेपालसँग हङकङ पनि उक्त अवसरमा सहभागी हुने निश्चित भयो । अफगानिस्तान र युएईबाहेक यस प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोली आगामी वर्ष हुने टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा प्रवेश हुनेहँुदा सेमिफाइनलमा पुगे लगत्तै नेपाल र हङकङले त्यसमा सहभागिता निश्चित गरेका हुन् । अफगानिस्तान आइसिसिको एकदिवशीय मान्यता पाएका रूपमा र युएई विश्वकपको विश्वस्तर छनोट आयोजकका रूपमा यसअघि नै छनोट भइसकेका थिए । यसअघि गत संस्करणमा सेमिफाइनल पुगेका कारण नेपाल गत वर्ष आयोजित टी–ट्वान्टी विश्वकपको विश्वस्तरको छनोटमा सहभागी भएको थियो जहाँ सहभागी १६ टिममा नेपाल साताँै स्थानमा रहेको थियो । विश्वस्तरको छनोटमा विश्वभरका १६ टिम सहभागी हुनेछन् जसमध्ये शीर्ष ६ टोलीले आगामी वर्ष बंगलादेशमा हुने टी–ट्वान्टी विश्वकपको बाटो तय गर्नेछन् ।

प्रतिक्रिया