वार्ता सिधैं राष्ट्रपतिसँग गर्छौं : ३३ दल

maobadi flagकाठमाडौं, १८ चैत । नेकपा–माओवादीसहित साना ३३ दलले अन्तरिम मन्त्रिपरिषदसँग वार्ता नगर्ने निर्णय गरेका छन् ।
काठमाडौंमा आज बसेको बैठकले निकासका लागि राष्ट्रपतिसँग मात्रै वार्ता गर्ने निर्णय गरेको नेकपा माओवादीका सचिव देव गुरुङले जानकारी दिए ।
दलहरुले सरकार गठनका बेला भएको ११ बुँदे सहमति खारेज हुनुपर्ने माग गर्दै राष्ट्रपतिले नै वार्ताका लागि बोलाउनुपर्ने निर्णय गरेका हुन् ।
सचिव गुरुङगले वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक विधिबाट गठन भएकाले सरकारसँग वार्ता नगर्ने बताए ।
वार्ताको वातावरण बनाउन चैत १ गते भएको ११ बुँदे सहमति खारेज हुनुपर्ने भन्दै गुरुङले खिलराज रेग्मी नेतृत्वको सरकारको बहिर्गमन अनिवार्य सर्त भएको बताए । उनले भने, ‘अहिलेकै अवस्थामा सरकार र ४ दलसँग वार्ता गर्नुको कुनै औचित्य छैन ।’
३३ दलले चुनावको प्रचार–प्रसार नगर्न चेतावनी दिएका छन् । यथाअवस्थामा चुनावी प्रचारको कुनै अर्थ नहुने उनीहरुको भनाई छ ।

प्रतिक्रिया