किसुनजीको जीवनबारे ‘एक्लो नायक’

काठमाडौं : नेपाली राजनीतिमा लागेका व्यक्तिहरूको जीवनी र कृतित्वबारे मतसर्वेक्षण गर्ने हो भने सायद विश्वेश्वरप्रसाद कोइरालापछि यदि कसैको जीवन रंगीन छ भने त्यो निश्चित रूपमा कृष्णप्रसाद भट्टराई हुन् । उनको जीवनका विविध पाटा आफैँमा कुनै उपन्यासभन्दा कम छैनन् । नेपाली कांग्रेसको स्थापनाकालदेखि सम्वत् ०६७ मा निधन नहुँदासम्म एक वा अर्को रूपमा नेपाली राजनीतिको केन्द्रबिन्दु बनेर रहेका भट्टराई लगभग छ दशकसम्म राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीतिको साक्षी, भोक्ता र कर्ताका रूपमा छाइरहे ।
यिनै र यस्तै अन्य परिचित–अपरिचित तथ्यमै आधारित रहेर भट्टराईको जीवनमा आधारित उपन्यास लेख्ने जमर्को गरेका छन् कवि, लेखक, समीक्षक तथा पत्रकार हरि अधिकारी र त्यसको शीर्षक हाललाई जुराएका छन्– एक्लो नायक । उनले तयार पारेको पुस्तकलाई याम्बुरी बुक प्वाइन्टले बजारमा ल्याउने भएको छ । सोही सन्दर्भमा प्रकाशकको तर्फबाट याम्बुरीका अध्यक्ष कुयाङ लामा र लेखक अधिकारीबीच हालै सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भयो ।
रोयल्टीको रकम नखुलाइए पनि अधिकारीले आगामी साउन मसान्तसम्म उपन्यास पूर्ण रूपमा तयार गरी प्रकाशकलाई अन्तिम ड्राफ्ट बुझाउने प्रतिबद्धता व्यक्त गरे । याम्बुरी प्रकाशनले यसअघि राजेन्द्र थापालिखित ‘खेलौना’ उपन्यास र फूलमान बलको कवितासंग्रह ‘महाभारतकी मैच्याङ’ प्रकाशन गरिसकेको छ ।
बजारमा आएका नयाँ पुस्तकको खरो समीक्षाका लागि चिनिएका अधिकारीका यसअघि ‘हरि अधिकारीका कविता’, ‘संसद्मा एक दिन’ र ‘गार्मेन्टकी गायत्री’ गरी तीन कवितासंग्रह, ‘रामलालको आकाश’ कथासंग्रह र ‘साठी वर्षपछि’ संस्मरणसंग्रह प्रकाशित छन् । (सौस)

प्रतिक्रिया