ठगी गरेको आरोपमा युवक पक्राउ

Vijayamohan-Sahaराजविराज, १८ चैत । भारतको बेंगलोरस्थित रुरल कलेजमा पढाइको व्यवस्था मिलाइदिने आश्वासन दिएर सप्तरी, सुनसरी र मोरङका अभिभावकसँग रकम ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सिरहा, धनगढी–७ घर भई राजविराज–४ मा बस्दै आएका ३२ वर्षीय विजयमोहन साहलाई प्रहरीले पक्राउ गरेको हो ।

राजविराज बस्दै आएका अभिभावक रामकुमार यादवले दिएको उजुरीका आधारमा १२ चैतमा पक्राउ परेका साहलाई शनिबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । प्रहरीले दिएको जानकारीअनुसार साहले सप्तरी, सुनसरी र मोरङका ९ विद्यार्थीबाट करिब १० लाख रुपियाँ ठगी गरेका छन् । साहले हरेक विद्यार्थीबाट भारतीय रुपियाँ न्यूनतम २५ हजारदेखि १ लाख २५ हजारसम्म लिएको एसपी सञ्जयसिंह बस्नेतले बताए ।
साहमार्फत बेंगलोर पुगेका विद्यार्थीलाई पढ्न नदिई बन्दकोठाभित्र राखिएको उजुरीमा उल्लेख छ । भारतीय दूतावास, माइती नेपाल तथा भारतीय प्रहरीको सहयोगमा नौ विद्यार्थीलाई उद्धार गरिए पनि ठगीमा संलग्न साहलाई भने अभिभावकको उजुरीपछि पक्राउ गरिएको एसपी बस्नेतको भनाइ छ ।
साहले सप्तरीको राजविराज–७ की ज्योतिकुमारी गुप्ता, ८ की अनु चौधरी, औरही–७ की नितुकुमारी यादव, नर्घो–८ की निलम यादव, फकिरा–५ की पुजाकुमारी यादव, जण्डौल–२ की रीताकुमारी चौधरी, सुनसरी झुम्काकी रिया पोखरेल, झापा राजगढ सिनवारी–७ की रन्जु यादव र विराटनगर–१९ की रोजिना साहसँग रकम असुल गरेका थिए । पक्राउ परेका साहले भने ठगिएका विद्यार्थी राजविराजस्थित मिसन कलेजका विद्यार्थी भएको बताए ।

प्रतिक्रिया