नेप्से स्थिरतातर्फ

share_non_movedकाठमाडौ, १८ चैत । अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलाराज रेग्मीको नेत्रृत्वसँगै घटन थालेको सेयर बजारमा स्थिरता देखिन थालेको छ । राजनीतिक दलबिनाको सरकार बनेका कारण सुरुका दिनमा लागनीकर्ताले बजारप्रति विश्वास नगरे पनि क्रमश: त्यस्ता लगानीकर्ता बजारप्रति आकर्षित हुन थालेका कारण नेप्सेमा स्थिरता आएको हो ।

विगत लामो समयदेखि ओरालो लागेको सेयर बजारमा केही समयअघि मात्रै केही सुधार आएको थियो । नेप्से ५ सय ५० भन्दा माथि पुगे पनि बढ्दो राजनीतिक अन्यौलतासँगै यो पुन: घटेर गत साताको अन्तिम दिन ५ सय १८ दशमलव ६६ अंकमा सीमित रहेको छ ।
गत साता स्टक एक्सचेन्जमा १ सय ७ कम्पनीको कारोबार भएको छ । जसमा ४ हजार ४ सय ९९ कारोबारबाट ३२ करोड ४१ लाख ५२ हजार रुपियाँ बराबरका १० लाख ३५ हजार १ सय ७४ कित्ता सेयर खरिद बिक्री भएका छन् । गत साता १ सय २० कम्पनीको कारोबार भएको थियो । जसमा ६ हजार ६ सय २० कारोबारबाट ४९ करोड ४६ लाख २ हजार रुपियाँ बराबरका २३ लाख २७ हजार ३ सय १९ कित्ता सेयरहरू खरिदबिक्री भएको नेप्सेले जनाएको छ । कारोबार रकममा गत साताको तुलनामा ३४ दशमलव ४६ प्रतिशतले ह्रास आएको छ । कूल कारोबार मध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र १७ करोड ९ लाख रुपियाँ बराबरको कारोबार भएको छ । यो कूल कारोबारको ५२.७३ प्रतिशत हो ।
साताको परिसूचकलाई हेर्दा वाणिज्य बैंकतर्फ २ दशमलव २७ ले वृद्धि भएको छ । जलविद्युत् र विमा समूहको परिसूचकमा क्रमश: ६ दशमलव ४१ र १ दशमलव ३७ अंकले सुधार देखिए पनि उत्पादनमूलक समूहको सूचकांकमा ६ दशमलव ४१ ले ह्रास आएको छ । त्यसैगरी होटल समूहको २ दशम ८३, अन्य समूहको १६ दशमलव ४४ , वित्त र विकास बैंकको एक अंकभन्दा कमले परिसूचक घटेको छ ।
गत साता साता कारोबार रकमतर्फ ४ करोड ६० लाख रुपियाँको आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर १ लाख ४२ हजार १ सय ४९ कित्ताको आधारमा पनि सोही बैंक अग्रस्थानमा रह्यो । त्यसैगरी कारोबार संख्याको आधारमा ४ सय ५१ वटा कारोबार भई सिभिल बैंकअगाडि रहेको छ ।
साताको उत्कृष्ट पाँच कम्पनीमा क्रमश: बंगलादेश बैंक, एभरेस्ट, नविल, नेपाल एसबिआइ र बंैक अफ काठमाडौं रहेका छन् । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कारोबार हुन नसकेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया