क्लाइम्बिङको उपाधि भिडन्त आज

काठमाडौं, १७ चैत । पर्वतीय खेलकुद महोत्सवअन्तर्गत छैटौँ खुल्ला स्पोर्टस् क्लाइम्बिङ कम्पिटिसनको उपाधि भिडन्त शनिबार हुने भएको छ । महाराजगन्जस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानमा शुक्रबार सुरु भएको खेलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट तथा अन्य क्षेत्रबाट समेत ९३ खेलाडीले सहभागिता जनाएका थिए । जसमध्ये पुरुषतर्फ नौजना र महिलातर्फ १० जना उपाधिका लागि भिड्ने निश्चित भएको हो । शुक्रबार भएको पहिलो राउन्ड र सेमिफाइनल राउन्डपछि फाइनल चरणका लागि उनीहरू छानिएका हुन् । जसमा महिलातर्फ नेपाल पुलिसकी लक्ष्मी तामाङ, नेपाल स्काउटकी सविता प्याकुरेल, पासाङ ल्हामु शेर्पा कलेजकी ललिता थापा अन्तिम चरणका लागि छानिएकी छन् । त्यसैगरी, सीता थापा, निमाडोमा शेर्पा, आशाकुमारी सिंह, एरिना श्रेष्ठ, अञ्जु राउत, पञ्चमाया तामाङ र याङ्दी शेर्पा रहेका छन् ।
त्यस्तै, पुरुषतर्फको फाइनल चरणमा भने नेपाली सेनाका दिनेश सिवाकोटी, थम्सन ट्रेकिङका आङदाबा शेर्पा, पासाङ डेन्डी शेर्पा र आङ दावा शेर्पा, इनिटेटिभ आउटडोर्सका विकास तामाङ र सञ्जय भट्ट रहेका छन् । त्यस्तै, ध्रुव विष्ट, हरेराम खड्का र अनुप गुरुङ पनि अन्तिम चरणका लागि छानिएका छन् ।
दुईदिने प्रतियोगिताको पूर्वसन्ध्यामा ३ दिन खेलाडीलाई प्रशिक्षणसमेत दिइएको थियो । राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले प्रतियोगिता उद्घाटन गर्दै परिषद् खेलकुदको विकासमा सधैँ हातोमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै नेपाललाई पर्वतीय खेलकुदको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानबहादुर न्यौपाने, नेपाल बास्केटबल संघका अध्यक्ष लामा टेन्डी शेर्पा, नेपाल साइक्लिङ संघका उपाध्यक्ष सञ्जीव पाण्डे, पर्वतीय खेलकुद महासंघका महासचिव गोविन्द भट्टराईलगायतको उपस्थिति रहेको थियो ।
क्लाइम्बिङका उपाधि विजेताले २० हजार, उपविजेताले १० हजार र तेस्रो हुनेले ५ हजार रुपियाँ प्राप्त गर्ने क्लाइम्बिङ एसोसिएसनका महासचिव मेघराज पौडेलले बताएका छन् । त्यसैगरी, उपाधि विजेतालाई एभरेस्ट अवार्डबाट, उपविजेतालाई लुम्बिनी अवार्डबाट तथा तेस्रो हुनेलाई अन्नपूर्ण अवार्डबाट सम्मान गरिनेसमेत बताइएको छ ।

प्रतिक्रिया