“कन्टयाक्ट” पछि कोठामै “कारोबार”

हेटौंडा, १७ चैत । ‘पहिलेजस्तो सडक किनारामा बसेर ग्राहक खोज्ने दिन गयो,’ मीना (नाम परिवर्तन)ले भनिन्, ‘यौन व्यवसाय पनि अब फेरिएको छ ।’ पूर्व–पश्चिम राजमार्गको सडक किनारामा घर भाडामा लिएर चल्ने गरेको यौन व्यवसाय अब मोबाइलबाटै सम्पर्क बढाएर हुन थालेको छ ।
पूर्व–पश्चिम राजमार्गको किनारामा रहेर व्यवसाय गर्नेहरू सोझै माबाइलमार्फत सम्पर्क बढाएर व्यवसायमा लागेका छन् । ‘नम्बर एक जनालाई दिएपछि सबैकहाँ पुग्छ अनि फोन आउन थाल्छ,’ उनले सुनाइन्, ‘मोबाइलमा फोन आएपछि कहिले बजारका होटलमा गइन्छ, कहिले कोठामै बोलाएर कारोबार गरिन्छ ।’
हेटौंडा बजार क्षेत्रका रेसिडेन्सल क्षेत्र हुप्रचौर, कमलडाँडा, भैरवरोड र चाइना क्वाटरमा भाडामा लिएका कोठामा यौन व्यवसाय हुने गरेको छ । बसपार्क क्षेत्र र बजार बाहिरका होटलमा बस्न आएका पाहुनाले यौन कार्यमा ‘इन्ट्ेरस्ट’ दिएमा सञ्चालकले नै सम्पर्कमा रहेका युवतीलाई बोलाइदिने गरेको पेसामै रहेकी सुमित्रा
(नाम परिवर्तन) ले बताइन् । बजार क्षेत्रमा कोठा लिएर यौन व्यवसाय गर्दा प्रहरी प्रशासनको डर नहुने कारण पछिल्लो समय कोठा भाडामा लिएर व्यवसाय सञ्चालन गर्ने क्रम बढेको उनले बताइन् ।
‘धेरै साथीले बजार क्षेत्रमा कोठा लिएका छन्,’ उनले भनिन्, ‘पछिल्लो समय प्रहरीले स्थानीय होटलमा छापा मार्न थालेपछि विकल्पका रूपमा भाडामा कोठा लिएर पेसालाई व्यवस्थित बनाउने काममा पेसामा संलग्न युवती तथा महिला लागेका छन् ।’ यस्तो पेसामा पतिले छोडेका, पति विदेशमा भएका र बाहिरबाट स्थानीय तहमा अध्ययनका लागि आएका विद्यार्थी ‘कन्ट्याक्ट गर्ल’ का रूपमा बजारमा यौन पेसामा छन् । स्थानीय गैरसरकारी संस्था जिडब्लुपीले करिब पाँच सयका हाराहारीमा यौन व्यवसायी देखाए पनि यहाँ अधिक संख्यामा यौनिक क्रियाकलापमा लागेका महिला तथा युवती रहेको पाइएको छ ।
सुशीला (नाम परिवर्तन) कलिलो उमेरमै साथीको संगतले यौन पेसामा प्रवेश गरेको सुनाउँछिन् । ‘पहिले सोखका लागि यौनिक क्रियाकलापमा लागियो,’ उनले सुनाइन् ‘पछि त फोन सम्पर्क बढ्दै गएकाले आनन्द र पैसाका लागि वीरगन्ज, सौराहा, नारायणगढसम्म पुगियो ।’ हेटौंडा बजारका केही होटलमा पनि ग्राहकसँगै आफ्नो रात पनि रंगीन पारेको उनले सुनाइन् । उनको कोठा हुप्रचौर क्षेत्रमा छ । उनले कोठामा पनि कहिलेकाहीँ ग्राहकको चित्त बुझाउने गरेको सुनाइन् । उनका अनुसार बजारमा कलेज पढ्दै गरेका युवती पनि यो पेसामा रहेको बताइन् । बजार क्षेत्रका ठूलाबडा भनिएकाहरूकहाँ पनि कलेजका युवतीलाई पेसाका लागि उपहार लैजाने ‘कन्ट्याक्टर’ रहेको उनले बताइन् ।
सुशीलाका अनुसार हेटौंडाका युवतीका लागि सिन्धुली, नारायणगढ, पोखरा, काठमाडौंका ग्राहक आउने गरेका छन् । ‘व्यावसायिक घरानाका व्यक्ति पनि आउँछन्,’ उनले भनिन्, ‘कोही दामन, कोही सौराहामा लगेर शुक्रबारको रात रमाइलो पार्छन् र शनिबार फर्काउँछन् ।’ बजार क्षेत्रमा रहेका होटलमा प्रत्यक्ष रूपमा केटी राखेर यौन व्यवसाय सञ्चालन नभए पनि सम्पर्कका आधारमा यौन व्यवसाय चलाइरहेको प्रहरीले बताएको छ । होटलका कन्टयाक्टमा कलेज पढ्ने युवती र गाउँका युवती रहेको वडा प्रहरी कार्यालय हेटौंडाका इन्स्पेक्टर ओमप्रकाश खनालले बताए । हेटौंंडामा रहेका र तत्काल उपलब्ध हुने युवती र महिलालाई ‘कन्टयाक्ट’ मा राखेर व्यवसाय सञ्चालन भइरहेको उनले बताए ।
होटलमा गएर यौनका लागि कुरा गर्दा नचिनेकालाई छैन भन्ने र चिनेका नियमित ग्राहकलाई व्यवसायीले व्यवस्था गर्ने गरेको इन्स्पेक्टर खनालले जानकारी दिए । ‘ग्राहकले नियमित यौन साथी बनाएर स्कुटी किनिदिएको समेत पाइएको छ,’ इन्स्पेक्टर खनालले भने, ‘स्कुटीमा नचिनिने बनेर हिँड्नेहरू कन्टयाक्टमा आएका ग्राहकलाई स्कुटीमै राखेर ‘कारोबारस्थल’सम्म पुर्‍याउनेसम्म भइसके ।’

प्रतिक्रिया