निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौं, १७ चैत । राष्ट्रपति डा.रामवरण यादवले तत्काल वातावरण बनाई निर्वाचनको नयाँ मिति घोषणा गर्न प्रमुख राजनीतिक शक्तिका शीर्ष नेताहरुलाई आग्रह गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शनिबार भएको छलफलका क्रममा डा.यादवले प्रमुख राजनीतिक शक्तिका नेताहरुलाई मुलुक निकास दिन निर्वाचनको तयारी गर्न सुझाव दिएका हुन् ।
‘सबै दलहरुसंग सहमति गरेर निर्वाचनको वातावरण तयार गर्न भन्नु भएको छ,’ एक नेताले भने, ‘पूर्व सहमति अनुसार असार पहिलो साताभित्रै निर्वाचन गर्ने गरी मिति तोक्नु पर्छ ।’
छलफलमा राष्ट्रपति डा.यादवले सरकार गठन भएको दुई साता वितिसक्दा समेत निर्वाचनको मिति घोषणा नगरेकोप्रति असन्तुष्टि जनाए ।
राष्ट्रपति डा.यादवले निर्वाचनको प्रक्रिया भन्दा बाहिर रहेर आन्दोलन गरिरहेका दलहरुसँग पनि तत्काल बार्ता गर्न शीर्ष नेताहरुलाई सुझाव दिए ।
जवाफमा नेताहरुले निर्वाचनको वातावरण तयार गर्ने प्रयास भईरहेको जानकारी गराएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । उनले निर्वाचन बिरोधी दलहरुसंग पनि छलफल गर्ने तयारी भएको उनले बताए ।
‘जतिसक्दो चाँडो दलहरुले चनावी वातावरण वनाउन पहल गर्ने र निर्वाचन आयोगसंग पनि छलफल गरेर टुङ्गोमा पुग्ने जानकारी गराएका छौं,’ उनले भने ।
राष्ट्रपति डा.यादवले शुक्रबार मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई भेटेर संविधानसभाको निर्वाचनको मिति तोक्न ढिलाई भइरहेको विषयमा जानकारी लिएका थिए ।

प्रतिक्रिया