मृत्युपछि प्रेमको न्यानो सम्झना लिएर जान्थेँ

Hari-Adhikariहरि अधिकारीका कविता, कथा, निबन्धले पाठकलाई चेतनाको अर्को धरातलमा अवतरित गराउँछ । पछिल्लो समय पुस्तक समीक्षामार्फत नेपाली समालोचनामा पनि उनले विशिष्ट परिचय बनाएका छन् । समकालीन लेखकहरूको लेखनशक्ति र रचनात्मक सम्पन्नता तौलिने सवालमा उनी खरा छन् । यसैले उनी थुप्रैका अप्रिय पात्र पनि हुन् । उनी अहिले सन्त नेता कृष्णप्रसाद भट्टराईको संघर्षपूर्ण एवं रंगीन जीवनमाथि आधारित उपन्यास लेखनमा जुटेका छन् । उनका कथासंग्रह ‘रामलालको आकाश,’ कवितासंग्रह ‘संसद्मा एकदिन,’ ‘हरि अधिकारीका कविता,’ ‘गार्मेन्टकी गायत्री,’ निबन्धसंग्रह ‘६० वर्षपछि’ प्रकाशित छन् ।

तपाईंले कसरी लेखनमा आफ्नो आसक्ति भएको चाल पाउनुभयो ?
मैले घरमा बा–काकाहरूले श्रीमद्भागवत कुञ्ज र भानुभक्तको रामायण स्वर मिलाएर वाचन गरेको सुन्दासुन्दा र नजिकका राजनीतिकर्मी काका रामचन्द्र अधिकारीको कवि व्यक्तित्वसँग परिचित भएपछि आफूभित्र साहित्य–सिर्जनाप्रति आकर्षण पैदा भएको थाहा पाएको हुँ । विक्रमको बीसको दसकको प्रारम्भमा धुलिखेलको सञ्जिवनी माध्यामिक विद्यालयमा भर्ना भएर प्रवेशिका परीक्षाको समयसम्म आइपुग्दा म साहित्यको सम्मोहनमा बाँधिइसकेको रहेछु । त्यसबीचमा म साहित्यको गम्भीर पाठक पनि भइसकेको थिएँ ।
तर, पछिल्लो समय तपाईं गम्भीर साहित्य लेखन छोडेर समीक्षा लेखनजस्तो जस नपाइने विधामा मरिहत्ते गरेर लाग्नुभयो नि †
मैले गम्भीर साहित्य लेख्न छोडेर समीक्षा लेखनजस्तो जस नपाइने विधामा मरिहत्ते गरेको भन्ने प्रश्न मौलिक रूपमा तीन कारणले गलत छ । पहिलो, मैले गम्भीर साहित्य लेख्न छोडेको छैन । यसबीचमा नै मेरो कविताका दुई कृति, निबन्ध र संस्मरणको एउटा कृति प्रकाशनमा आएका छन् भने एउटा कथासंग्रह छापिँदै छ । दोस्रोमा, भन्नुपर्दा समीक्षा लेखन आफैँमा गम्भीर र उपयोगी विधा हो साहित्यको । समीक्षा गर्नेले जस–अपजसलाई वास्ता गर्ने होइन, कुनै पनि कृति पढ्दा अनुभूत गरेको लेख्ने हो । तेस्रो कुरा, म कुनै पनि विषयमा मरिहत्ते गरेर लागिपर्ने मानिस होइन ।
तपाईं मनपरेका मान्छेलाई ‘राम्रो, उत्कृष्ट, महान्’ र मननपरेको मान्छेको कृतिलाई राम्रै भए पनि ‘झूर’ भनेर लेख्नुहुन्छ भन्ने आरोप छ नि †
बजारको हल्लाको आधारमा मसँग कुरा गर्न आउनुभएको हो भने त्यो दुर्भाग्यपूर्ण हो भन्ने मलाई लाग्छ । तपाईं स्वयं मेरा समीक्षाहरूको पाठक हुनुहुन्छ । तपाईंलाई कस्ता लाग्छन् मेरा समीक्षाहरू, परीक्षण गर्नुभए भइहाल्छ नि, आफ्नो विवेकको कसीमा ।
समीक्षा लेखेर मलामी घटाएँ भनेर आफैँ लेख्नुभो । यस्तो डर लाग्दालाग्दै किन लेख्नुभो ?
मैले आफ्नो विचार यस्तो भनेर लेखेको होइन । यस्तो पनि भन्छन् भनेर उल्लेख गरेको मात्र हुँ ।
तपाईंले समीक्षा लेखेका किताबमध्ये सबैभन्दा मनपरेको कुन हो ?
मलाई एउटा होइन, तीनवटा किताबको नाम लिन दिनुस् । डाक्टर हर्क गुरुङको मैले देखेको नेपाल, कुमारमणि दीक्षितको फाटफुट सम्झना र सुकेतु मेहताको मुम्बईमाथिको पुस्तक ।
तपाईंको पूर्वलेखन प्रक्रियाका बारेमा केही बताइदिनुस् न †
स्वतन्त्र रचनात्मक लेखन गर्नुपर्दा म केही समय विषय चयन, त्यसको बनोट र अभिव्यक्तिको भंगिमाका बारेमा आत्ममन्थन गर्छु । लेख्न बसेपछि त्यसमा परिष्कार गर्दै अघि बढ्छु ।
तपाईं लेख्नका लागि प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
म जीवन र जगत्का बहुविध पक्षबाट प्रेरणा पाउँछु ।
तपाईं कसका लागि लेख्नुहुन्छ ?
म सम्भवत: आफ्नै लागि लेख्छु ।
तपाईंको लेख्ने तरिका कस्तो छ ? सुरु गर्ने कुनै विषेश रीत छ कि ?
मैले माथि नै भनिसकेँ, विषय चयन, बनोट र शैलीका बारेमा मनभित्रै छलफल गरेपछि म त्यसलाई आकार दिने प्रयत्न गर्छु । म साँझपछि कहिल्यै पनि लेख्न बस्दिनँ । लेखन सुरु गर्ने खासै त्यस्तो रीत त छैन । तर, बिहानको चिया खाएपछि तरोताजा भएर लेख्न बस्छु र प्राय: एकै बसाइमा एउटा लघुरचना पूरा गर्छु ।
लेखक बन्न चाहने युवालाई तपाईं कस्तो सल्लाह दिनुहुन्छ ?
लेखनमा लागेर स्थापित हुन चाहने युवा प्रतिभाहरूले सबैभन्दा पहिले त लेखनप्रतिको आफ्नो रुचि प्राकृतिक हो कि लहैलहैमा उठेको उत्सुकता मात्र हो, पत्तो लगाउनुपर्‍यो । त्यसपछि आफूलाई सबैभन्दा प्रिय लाग्ने विधाको पहिचान गर्न सक्नुपर्‍यो । जुन भाषामा लेख्ने हो, त्यो भाषाको मौलिकता र सौन्दर्य घटाउने होइन, बढोत्तरी गर्नेसम्मको ज्ञान आर्जन गरेको हुनुपर्‍यो । लेखक–कविहरूको भिडमा हराउने होइन, आफ्नो सुस्पष्ट पहिचान बनाउने गरी लेख्न सक्ने योग्यता र प्रयोगशीलता विकसित गर्नुपर्‍यो ।
अरूको लेखनमा यत्रो खरो टिप्पणी गर्ने मान्छे तपाईं आफूले लेखेको कुराचाहिँ कत्तिको परिमार्जन गर्नुहुन्छ ?
म आफ्नो लेखनलाई सकेसम्म सरल, सहज संप्रेषणीय, विषय–वस्तुलाई राम्ररी उजागर गर्न सक्ने र पाठकहरूसँग मानसिक रूपमा जोडिन सक्ने खालको बनाउने लगातार प्रयत्न गरिरहेको हुन्छु ।
अन्तर्वार्ताका क्रममा धेरै लेखक गम्भीर नभएर जथाभावी उत्तर दिन्छन् । तपाईं पनि त्यस्तै गर्नुहुन्छ ?
मैले त अन्तर्वार्ता दिने लेखकहरूभन्दा अन्तर्वार्ता लिन आउने कतिपय पत्रकारहरूलाई पो चाहिँदा/नचाहिँदा प्रश्न सोध्ने, गैरजिम्मेवार, अर्धसाक्षर खालका ठेट्नाको रूपमा भेट्ने गरेको छु ।
तपाईं त राजनीतिज्ञ बन्न चाहनुहुन्थ्यो क्यारे । अचानक साहित्यमा कसरी रुचि पलायो ?
म राजनीतिज्ञ बन्न चाहन्थेँ होइन, बनिसकेको छु । म अहिले पनि आकण्ठ राजनीतिमा डुबेको छु, कम्तीमा पनि मनोवैज्ञानिक रूपमा त म यस्तो दाबी गर्न सक्छु । त्यसमाथि राजनीति र साहित्य सँगसँगै जान नसक्ने विषय हुन् जस्तो मलाई लाग्दैन ।
उत्तिमलाल टमटाले लेखेको नियात्रा,’ ‘गार्मेन्टकी गायत्री’ जस्ता कविता तपाईंको आफ्नै अनुभवमा आधारित हो कि कल्पना ?
‘उत्तिमलाल टमटाले लेखेको नियात्रा’ माओवादीले कथित जनयुद्धकालमा जनसुविधाका संयन्त्रहरूमा गरेको विवेकहीन आक्रमणमाथि लेखिएको कविता हो भने ‘गार्मेन्टकी गायत्री’ एउटी श्रमजीवि निम्नवर्गीय महिलाको गाथा ।
राजनीति गर्दा र साहित्यकार बन्दा, के मा बढी सन्तुष्टि प्राप्त हुँदोरहे छ ?
म त साहित्यबाटै बढी सन्तुष्ट छु । मन्त्री–सन्त्री बन्न सकेको भए राजनीतिबाट पनि सन्तुष्टि लिन सकेको ठान्थेँ कि ? भन्न सक्दिनँ ।
पूरा हुन बाँकी तपाईंका कुनै सपना वा लक्ष्य छन् ?
मानिसका सपना सीमातीत हुन्छन् र लक्ष्य महान् ।
कविताको सबैभन्दा ठूलो शत्रु को हो ? झूर लेख्ने कवि कि तपाईं जस्तो समालोचक ?
कविता अजातशत्रु कला हो । हो, झूर कविता लेख्नेले कविता र कविको हुर्मत लिइरहेको हुन्छ, समालोचक त विचरो हो त्यसले कविताको हानी गर्नै सक्दैन ।
मृत्युपश्चात् के लिएर जान चाहनुहुन्छ ? आफ्ना कविता कि मान्छे भएको सम्झना ?
मृत्युपछि पनि केही लिएर जान सकिन्छ र दीपकजी † सक्ने भए त म आफूले प्रेम गरेका र आफूलाई प्रेम गरेकाहरूको न्यानो सम्झना लिएर जान्थेँ । कविता त उतै पनि लेख्न सकिँदो हो नि †
प्रस्तुति : दीपक सापकोटा

प्रतिक्रिया