अफगानिस्तानको सहज जित

काठमाडौं, १६ चैत । साविक विजेता अफगानिस्तानले चौथो एसिसी टी–ट्वान्टी एलिट कपमा लगातार दोस्रो जित हात पारेको छ । समूहको दोस्रो खेलमा बिहीबार यसअघिका सबै संस्करणको विजेतासमेत रहेको अफगानिस्तानले बहराइनलाई ७२ रनले पराजित गर्‍यो ।

बिहीबार नै भएको अर्को खेलमा सिंगापुरलाई पराजित गरी मलेसियाले सेमिफाइनल प्रवेश सम्भावना कायम राख्यो । टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५७ रन जोडेको थियो । गुल्बाइदिन नैबले ४६ र नाजिबुल्लाह जर्दानले ४५ रन जोडे । बहराइन १५.५ ओभरमा ८५ रनमा समेटियो । बलिङतर्फ अफगानिस्तानका नैबले चार विकेट लिए भने हम्जा होटाकको नाममा तीन विकेट रह्यो । नैबले चार ओभरमा २३ रन खर्चिए । बहराइनका लागि कप्तान ताहिर दारले सर्वाधिक १४ रन जोडे ।
समूह ‘बी’मा अफगानिस्तान दुई खेलबाट चार अंक जोड्दै शीर्षस्थानमा छ । अफगानिस्तानसँग समान अंक भए पनि रनरेटमा पछि रहँदै युएई दोस्रोमा छ । यो समूहमा दुई खेलबाट दुई अंक जोडेको कुवेत तेस्रो स्थानमा छ । समूह एको खेलमा कठिन चुनौती पाए पनि मलेसिया सिंगापुरविरुद्ध सानदार जित हात पार्न सफल भयो । १७२ रनको लक्ष्य मलेसियाले १८ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।
मलेसियाका लागि कप्तान सुहान कुमारले ७० रन जोडे । उनले ३७ बलमा सात चौका र तीन छक्का प्रहार गरे । खिजार दुरानीले ३० र सफिक सरिफले २६ र अहमद फैजले १९ रन जोडे । मलेसियाको जितसँगै समूह ‘ए’को समीकरण रोमाञ्चक बन्दै गएको छ । समूहमा दुई खेलबाट चार अंक जोडेको हङकङ शीर्षस्थानमा छ । दुई खेलबाट दुई अंक भएका नेपाल दोस्रो, माल्दिभ्स तेस्रो र मलेसिया चौथो स्थानमा रहेका छन् ।

प्रतिक्रिया