मनीष र नीरजको अग्रता

काठमाडौं, १६ चैत । नेसनल डेभलपमेन्ट सहकारी ललितपुरका फिडेमास्टर मनीष हमाल र झापाका नीरज निरौला प्रथम सहकारी कप बुद्धिचाल प्रतियोगितामा अग्रता लिन सफल भएका छन् । प्रतियोगिताको दोस्रो दिन बिहीबार लिग चरणअन्तर्गत भएका सबै खेलमा जित सम्भव भएपछि हमालको चार खेलबाट ४ अंक भएको छ । शतप्रतिशत नतिजा निकाल्ने क्रममा हमालले दोस्रो चरणमा अविरल राईलाई हराए भने तेस्रो र चौथो चरणमा क्रमश: भक्तपुर साकोसका निरञ्जन प्रजापति तथा सिटी साकोसका रवीन्द्र शाक्यलाई पराजित गरे ।

प्रतियोगितामा शीर्षवरीयता प्राप्त लालिगुराँस साकोसका क्यान्डिडेटमास्टर केशव श्रेष्ठमाथि एतिहासिक जित आत्मसात् गरेपछि दर्पण साकोस झापाका नीरज निरौला पनि मनीषसँगै समान ४ अंकका साथ शीर्ष स्थानमा रहेका हन् । निकै प्रतिस्पर्धात्मक रहेको चौथो चरणमा नीरजलाई जितका लागि ५३ चालसम्म कुर्नुपर्‍यो । यसअघि नीरजले दोस्रो तथा तेस्रो चरणको खेलमा मनिराज डाँगी तथा विकास कुलुजुलाई हराएका थिए । यसअघिका धेरे भिडन्तमा नीरज केशवसँग पराजित भएका थिए ।
ललितपुर महोत्सव, ललितपुर स्पोर्टस क्लब तथा ५६औँ राष्ट्रिय सहकारी दिवस २०६९ ललितपुर मूल आयोजक समितिको संयुक्त आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा साइनिङ साकोसका बद्रीलाल नेपाली, नोभा साकोसका कृष्ण थापा, विराटनगरका पूर्णराज खड्का, भेट्रानद्वय गणेशमान दुवाल तथा राजेन्द्रप्रसाद श्रेष्ठ, कान्तिपुरी साकोसका प्रचण्डमान मालाकार, लालिगुराँस साकोसका राजेन्द्र बज्राचार्य समान ३ दशमलव ५ अंकका साथ शीर्षस्थान पछ्रयाइरहेका छन् । तेस्रो चरणमा टाइम्स कलेजका विवेक थिङसँग बराबरी खेलेका पूर्वनेपाल च्याम्पियन बद्रीले दोस्रो तथा चौथो चरणमा काभ्रेका हरिचन्द्र चौलागाइँ र अरुणिमा साकोसका सजिन महर्जनलाई पराजित गरे ।
त्यस्तै, लालिगुराँस साकोसका क्यान्डिडेटमास्टर केशव श्रेष्ठ, गोल्डेनगेट कलेजका सुरवीर लामा तथा मदनकृष्ण कायस्थ, सिटी साकोसका रवीन्द्र शाक्य, श्यामसुन्दर श्रेष्ठ, दीपक महर्जन, सुमन राई, विपिन अमात्य, मिलन रोका, सुरेन्द्र गौतम तथा सुदीप बज्राचार्यको समान ३ अंक रहेको छ ।
प्रतियोगिताअनुसार शुक्रबार तीन चरणका खेल सञ्चालन हुनेछन् । लिग चरणको समाप्तिपश्चात् नकआउट चरणमा प्रवेश गर्ने खेलाडीको टुंगो शुक्रबार लाग्नेछ ।

प्रतिक्रिया