रक्षा युनिट देश दौडाहामा

काठमाडौं : चलचित्र ‘रक्षा’ युनिट देश दौडाहामा हिँडेको छ । चलचित्रले पहिलो हप्तामा राम्रो व्यवसाय गरेका कारण यो युनिट प्रचार–प्रसारलाई अझ ज्यादा बनाएर चलचित्रको व्यवसाय झन् उत्साहजनक बनाउन देश दौडाहामा लागेको हो । चलचित्र प्रदर्शनमा आएको केहीदिनमै सोचेभन्दा राम्रो व्यवसाय गरेकोले यसको व्यवसायलाई अझ राम्रो बनाउन हामी देश दौडाहमा लागेका हौँ निर्देशक राजु गिरीले भने, यसरी दौडाहमा हिँड्दा चलचित्रको प्रचार पनि हुन्छ र दर्शकको वास्तविक प्रतिक्रिया पनि बुझ्न पाइन्छ ।
दोडाहमा निर्देशक राजु गिरी, निर्माता पवन बस्नेत, नव कलाकार सारिका घिमिरे, नायक सुशान्त कार्कीलगायत कलाकार सरिक भएका छन् । छायांकनको समयमा अश्लील दृश्यका फोटाहरू सार्वजनिक गरेर आलोचनात्मक समाचारको विषय बनेको चलचित्र ‘रक्षा’को व्यवसाय राम्रो हुनुमा यही प्रचारले मद्दत गरेको निर्माण पक्षले बताएको छ । ‘रक्षा’ गत शुक्रबारदेखि देशभरका स्टेसनबाट प्रदर्शनमा आएको हो ।
सेन्सर बोर्डले पिजी सटिफिर्केट दिएको यस चलचित्रमा केही उत्तेजक बेडसिन रहेको छ । चलचित्रमा राजेश हमाल, पुजना स्त्री, अशोक फुयाल, सुशान्त कार्की, सारिका घिमिरेलगायतका कलाकारको अभिनय छ । पवन बस्नेतको निर्माणमा तयार भएको यस चलचित्रमा प्रकाश धितालको लेखन, अर्जुन पोखरेलको संगीत निर्देशन, रामेश्वर कार्कीको छायांकन छ । (सौस)

प्रतिक्रिया