पूर्णबजेट नआउदा अर्थतन्त्र प्रभावित

काठमाडौं, १५ चैत । राजनीतिक खिचातानीका कारण चालु आर्थिक वर्षमा पूर्णबजेट आउन नसक्दा देशको अर्थतन्त्रमा नकारात्मक असर पर्ने संकेत देखिएको छ ।

अर्थतन्त्र खुम्चिएको छ भने विकास निर्माण कार्यको गति लगभग ठप्प छ । त्यसकारण बजारमा तरलता अभाव देखिएको छ भने पूर्ण बजेट नआएकै कारण सरकारी कार्यालय सञ्चालनमा समेत अप्ठ्यारो परेको छ । खर्च गर्न नसक्दा सरकारी ढुकुटीमा पैसा थुप्रिन थालेको छ । चालु आवका लागि विनियोजित बजेटले खर्च धान्न नसक्दा अर्थ मन्त्रालयमा बजेट मागका फाइल थुप्रिन थालेका छन् ।
यसको प्रत्यक्ष असर दैनिक जनजीवन, विकास निर्माण, वित्तीय तथा लगानीको क्षेत्रमा परेको सम्बद्धविज्ञहरू बताउँछन् । विगतमा पनि समयमा पूर्णबजेट नआएर पुँजीगत खर्च हुन नसक्दा विकास कार्यक्रमहरूमा असर पर्नुका साथै विनियोजित रकम पनि खर्च हुन नसक्दा बजारमा विकराल तरलताको अभाव खड्किएको थियो । चालु आवमा पनि समयमा बजेट आउन नसकेकाले अर्थतन्त्र नै धराशयी बन्न पुगेको छ ।
पूर्ण बजेट अहिले देशको एक मात्र आवश्यकता रहेको नेपाल उद्योग महासंघका एक अधिकारीले बताए । उनले भने, ‘सरकारले आर्थिक जटिलतालाई हटाउन जतिसक्दो छिटो पूर्णबजेट ल्याउनुपर्ने महासंघको माग छ,’ । अहिलेको मुख्य आवश्यकता चुनाव तथा संविधानभन्दा पनि दैनिक जीवनयापनका सवालको समाधान भएको उनले बताए । प्रमुख उपभोक्ता नै सरकार भएको हाम्रोजस्तो विकासोन्मुख राष्ट्रमा पूर्णबजेट नआउँदा अर्थतन्त्र नै धराशयी हुने अवस्थामा पुगेको उद्यमी व्यवसायी बताउँछन् ।
एकातिर सरकारले पानी तथा पेट्रोलियम पदार्थजस्तो अत्यावश्यक वस्तुसमेत उपलब्ध गराउन नसक्दा दैनिक जनजीवन कष्टकर बन्दै गएको छ भने अर्कोतिर लगानी र रोजगारीका अवसरहरू खुम्चिएका छन् । वैदेशिक रोजगारीमा जानेहरूको संख्या दिनहुँ बढ्दो छ, रेमिट्यान्स कम मात्र भित्रिन थालेको छ । माघ महिनामा १० दशमलव १ प्रतिशतले मात्र रेमिट्यान्टस वृद्धिदर पुगेको छ । हालको उच्च गतिमा बढ्दै गएको मूल्य वृद्धिलाई रोक्न ठोस कदम नचाले अर्थतन्त्र थप तहसनहस हुने स्थिति देखिएको छ । दैनिक जीवनयापनसँग गाँसिएका विषयवस्तुको सम्बोधन हुने गरी पूर्णबजेटको माग निजीक्षेत्रले गर्दै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका एक अधिकारीले चालू आवमा पूर्णबजेट नआएकाले १२ लाख मजदुर बेरोजगार भएको बताए । ‘विकास निर्माणको बजेट भनेको गरिबको घरसम्म पुग्ने बजेट हो,’ उनले भने, ‘यसले लामो समयसम्म दूरगामी असर पर्ने देखिएको छ । वहुवर्षीय योजनामा बजेट निकासा नै हुन सकेको छैन ।’ उनका अनुसार पूर्णबजेट आउन नसक्दा बजारमा आर्थिक तरलताको अभाव देखिएको छ । तीन अर्ब मूल्यबराबरमा निर्माण क्षेत्रमा प्रयोग हुने मेसिन तथा औजारहरू बन्द अवस्थामा रहेको उनले बताए ।
चालू आवमा पूर्णबजेट आउन नसक्दा बैकिङ क्षेत्रमा सामान्य तरलता अभाव देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारीले बताए । पूर्णबजेट नआउँदा बैकिङ क्षेत्रलाई मात्र नभई व्यापार, आयात, निर्यातदेखि निर्माण क्षेत्रलगायत समग्र अर्थतन्त्रलाई नै असर पारेको उनको भनाइ छ । सरकारले चालु वर्षको बाँकी अवधिको लागि पूर्णबजेट ल्याउने तयारी गरेकाले बैकिङ क्षेत्रको समस्या समाधान हुनेमा बैंक आशावादी देखिएका छन् ।

प्रतिक्रिया