ट्युनिसियाली युवाको सपना खतरा मोल्दै इटाली पुग्नु

Sisterofsoufienaidaसोफियन हेडहिच, २५ वर्षे ट्युनिसियाली । पाँच महिनाअघि इटालीमा भाग्य बनाउने सपना बोकेर उनले ट्युनिसियाको राजधानीस्थित घर छाडे । घरबाट हिँडेको चार दिनपछि आफ्नो गन्तव्य लाम्पेड्युसादेखि १२ समुन्द्री माइल पर अर्थात् २२ किलोमिटर टाढा डुंगामा सवार थिए उनी । उनको जस्तै सपना बोकेर इटालीतिर तैरिँदै गरेका अन्य १ सय ४० युवा पनि त्यहीँ थिए । समुद्रको बीचमा डुंगा दुर्घटना भइदियो, सबै डुबे । जम्मा ५६ युवा मात्र मृत्युको चंगुलबाट उम्किन सफल भए । सोफियन जीवित छन्/छैनन्, उनको परिवार बेखबर छ ।
सोफियन बेरोजगार, परिवार गरिब । परिवार पाल्ने विकल्प नभएपछि उनी अवैधानिक रूपमा इटली प्रवेश गर्न लागेका थिए । ‘कृपया मलाई जान दिनुस्, मर्ने–बाँच्ने भगवान्को हातमा’, इटली नजान परिवारले गरेको अनुरोधमा अघिल्लो रात उनले फोनमार्फत यसरी सम्झाएका थिए । असुरक्षित अनि अवैधानिक तरिकाले समुद्री यात्राबाट इटली जाने युवाहरू पटकपटक अकालमृत्युको दलदलमा फसेको घटना यो पहिलो होइन । परिवारले त्यसअघिका उदाहरण दिँदै दु:खसुख सँगसँगै बाँडौ भनेर अनुनय गर्दा सोफियन मानेनन् । राम्रो आम्दानी गरेर परिवारलाई सुख दिने उनको अभिलासा थियो । छोराले जिद्दी गरेपछि पिताले भनेका थिए– ‘भगवान्ले तेरो रक्षा गरून् ।’
उनको कामना काम लागेन । सायद भगवान्ले छोराको रक्षाका लागि गरेको पुकारा सुनेनन् । परिवारको लागि कमाउन नपुग्दै बीच बाटोमै उनी बेपत्ता भए । सोफियन जीवित रहे/नरहेको सरकारले पुष्टि गरेको छैन । उनीजस्तै बेपत्ता युवाहरूको अवस्थाबारे जानकारीको माग गर्दै आमा तथा दिदीबहिनीले प्रदर्शन गरेका छन् । बेपत्ता भएका सोफियनको तस्विरसहित उनीहरू वियोगको वेदना सुनिदिन सरकारसँग पुकारा गरिरहेका छन् ।
‘हामीलाई थाहा छ, हाम्रो भाइलाई के भयो ? तर, भाइको मृत्यु भइसकेको भए उसको मृत शरीर देखाउनुपर्‍यो,’ हातमा सोफियनको तस्बिर लिएकी अइदा हेडडिचले भनिन् । तर, उनकी आमा अझै सामान्य अवस्थामा फर्किन सकेकी छैनन् । छोराको वियोगले सन्तप्त भएकी उनी बोल्न पनि नसक्ने भएकी छिन् ।
ट्युनिसियाका युवामा अहिले युरोप प्रवेश एउटा लहरजस्तै भएको छ । गरिबी र बेरोजगारीले व्याप्त उनीहरू जीवन खतरामा पारेरै भए पनि सुखी जीवनको अभिलासा लिएर अवैध रूपमा जलमार्ग हुँदै युरोप भित्रिने गरेका छन् ।
सोफियनका गरिब छिमेकी हुन् जेवेल अमहर । उनी पैसा कमाउने अभिलासा लिएर एक वर्षअघि जोखिम पार गर्दै युरोप पुगेका थिए । इटलीको लाम्पेड्युसामा एक वर्ष बसे पनि । ‘कृषि काम एक वर्षं गरेँ, तर धेरै पैसा जुटाउन सकिन,’ पैसा कमाउने आशामा इटली जाँदा पाएको दु:ख बताउँदै उनले सुनाए– ‘अवैधानिक काम गरेको पत्ता लागेपछि पुलिसले कागजात जफत गरी ट्युनिसिया फर्काइदियो । अहिले बेरोजगार भएर आफ्नै देश फर्किएको छु ।’ दु:ख पाएर स्वदेश फर्किए पनि जेवेल फेरि युरोप जान चाहन्छन्, ‘एक हजार ट्युनिसियाइ रकम भए म फेरि विदेश कमाउन जान सक्छु । मैले हार मानेको छैन । यहाँ मरेको जीवन जीउनुभन्दा दु:ख गरेर कमाउनु उचित हो ।’
अनिस माओउथी, २९ वर्षका युवा भाग्यशालीमध्येका एक हुन् । दश वर्षअघि अवैधानिक रूपमै इटली पुगेका थिए । इटलीकै एक युवतीसँग बिहे गरे । कागजात बनाएर इटलीको आइडी कार्ड पनि लिएका छन् । अहिले उनीसँग काम अनि दाम दुवै छ । ‘कागजात पूरा नभई इटलीमा राम्रो काम पाइँदैन,’ यो कुरा अनिसले राम्रोसँग बुझेका छन् । दश वर्षअघि समुद्री मार्ग भएर खचाखच भएको डुंगामा इटली पसेका अनिसजस्तै केही युवाको सफलताको कथाले अन्य युवालाई पनि जोखिमतर्फ तानिरहेको हो । द इन्टरनेसनल अर्गनाइजेसन अफ माइग्रेसनका अनुसार हरेक वर्ष ६० हजार ट्युनिसियन युवा समुन्द्री मार्गबाट इटलीको लाम्पेड्युसा जाने गर्छन् । तर, २७ हजार मात्रै सुरक्षित रूपमा पुग्ने गरेको तथ्यांक छ ।
(बिबिसी)

प्रतिक्रिया