वैदेशिक रोजगारीले पतिपत्नीमा भाँडभैलो

Balatkarझापा, १४ चैत । वैदेशिक रोजगारीका कारण झापामा पतिपत्नीबीच सम्बन्धविच्छेदमा वृद्धि भएको छ ।

झापा जिल्ला अदालतमा सम्बन्धविच्छेद गर्न निवेदन दिने अधिकांश वैदेशिक रोजगारमा गएका युवाका पत्नी छन् । परपुरुषसँगको यौनसम्बन्ध, महिलामाथि लाग्ने झुठा आरोपलगायतका कारण सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन् । महिला अधिकारको वकालत गर्दै आएकी अधिवक्ता कमला आचार्य वैदेशिक रोजगारमा गएका पुरुषका पत्नीले परपुरुषसँग यौनसम्बन्ध राख्ने वा शंकाको आधारमा पत्नीलाई आरोप लगाउनु प्रमुख कारण भएको बताउँछिन् । पुरुषले झुठा आरोपमा दिने मानसिक यातना पनि सम्बन्धविच्छेदको कारण भएको उनको भनाइ छ । ‘यौन सम्बन्धविच्छेदको मुख्य कारण हो,’ उनी भन्छिन्, ‘कतिपय महिलाले कानुनी अधिकारको दुरुपयोग गरेका छन् ।’
जिल्ला अदालतमा अघिल्लो आर्थिक वर्षमा ५ सय ३१ सम्बन्धविच्छेदका मुद्दा दर्ता भएकोमा ४ सय २५ वटा फैसला भएको थियो । गएको साउनदेखि फागुनसम्म मात्र २ सय ७६ वटा दर्ता भएकोमा १ सय ७४ वटा फैसला भइसकेको दायरी फाँटका नायबसुब्बा कुमार रिजालले जानकारी दिए । अघिल्लो आवका ८३ र यस आवको १ सय २ सहित १ सय ८५ मुद्दा फैसला हुन बाँकी छ । अदालतमा दैनिक सातवटासम्म मुद्दा दर्ता हुने गरेको छ । महिलाले सम्बन्धविच्छेदका लागि दिएको निवेदनमा पुरुषले सहमति गरे एकदुई दिनमै मिलापत्र गरी प्रक्रिया टुंगिने गर्छ । अदालतमा अघिल्लो वर्ष फैसला भएका ८ सय ६५ मुद्दामध्ये ४ सय २५ वटा सम्बन्धविच्छेदका थिए । परपुरुषसँग शारीरिक सम्बन्ध राखे पनि मुद्दा दर्तामा पतिले मानसिक तथा शारीरिक यातना दिएको आरोप लगाउने गरेको पाइएको छ ।
महिला वैदेशिक रोजगारमा गएको अवस्थामा अर्की पत्नी ल्याएको वा अन्य महिलासँग सम्बन्ध राखेको, कुटपिट र खान लाउन नदिएको आरोपमा अदालतमा महिलाले दर्ता गर्ने मुद्दाको संख्या भने न्यून छ । रोजगारीका लागि विदेश जाने महिला र पुरुषबीच सम्बन्धविच्छेदको समस्या देखिएको हो । वैदेशिक रोजगारबाट फर्किएका युवाले पत्नीसँग अप्राकृतिक यौनसम्बन्ध राख्न खोज्ने र नमान्दा तनाव उत्पन्न हुने गरेको पाइएको महिला मानवअधिकार रक्षक सञ्जाल झापाकी अध्यक्ष कविता शर्माले बताइन् । शर्माले ८५ प्रतिशत सम्बन्धविच्छेद यौनका कारण हुने गरेको उल्लेख गरिन् ।
अदालतको तथ्यांकमा अधिकांश २० देखि ३५ वर्ष उमेर समूहका महिलाले सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने गरेका छन् । महिलाले सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दर्ता गरे हुन्छ तर पुरुषले भने सम्बन्धविच्छेद गर्ने तोकिएका कारण पूरा भएको तीन वर्षपछि गाविस वा नगरपालिकामा निवेदन दिनुपर्दछ । मुलुकी ऐनमा महिला अधिकारको संरक्षण गरिएको छ । मानवअधिकारकर्मीको सक्रियता र महिलामा आएको चेतनाले सम्बन्धविच्छेदको संख्या बढेको झापा प्रहरीका एसपी शेरबहादुर बस्नेतको भनाइ छ । सहज ढंगले सम्बन्धविच्छेद गर्न पाउने महिलालाई कानुनले दिएको अधिकारको प्रयोग भएको एसपी बस्नेतले बताए ।

प्रतिक्रिया