क्रिकेटले क्रेजी गर्‍यो रे…

Samarthakकाठमाडौं, १४ चैत । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाले प्रमुख अतिथिको रूपमा माइकबाट उद्घोष गरे, ‘आई डिक्लेयर द टोर्नामेन्ट ओपन ।’ ताली र रोमाञ्चमिश्रित हर्षध्वनिले वातावरण तरंगियो । लगत्तै, टेस्ट नखेल्ने दस एसियाली देश सम्मिलित क्रिकेट प्रतियोगिता हिमाली राजधानीमा सुरु भयो ।

एसिसी ट्वान्टी–ट्वान्टी कप–२०१३ को उद्घाटन म्याच मंगलबार आयोजक नेपाल र माल्दिभ्सबीच कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रत्यक्ष र नेपाल टेलिभिजन प्लसमा प्रत्यक्ष प्रसारण हेर्नेहरू सबैजना एउटा तथ्यप्रति सहमत हुनै पर्छ, त्यो के भने अब नेपालमा पनि ‘क्रिकेटले क्रेजी गर्‍यो रे… ’ भन्ने अवस्था आइसकेको छ । हिजोसम्म फुटबल भनेर झुम्मिने धेरै दर्शक अब ‘नेपाल… नेपाल…’ को समवेत् स्वरले वातावरण गुञ्जाउँदै क्रिकेट मैदान वरिपरी भेला हुन थालेको देखिनु नौलो दृश्य हुन छाडेको छ । त्यसमा पनि मंगलबार पहिलोपटक नेपाली दर्शकले टिकट (मूल्य रु.एक सय र सिजनल रु.दुई हजार)) किनेर राष्ट्रिय टोलीले खेलेको हेरे । यो नेपाली क्रिकेटका लागि शुभ संकेत हो ।
मूल प्रायोजक रहेका पेप्सीकोला र स्टयान्डर्ड चार्टर्ड बैंकका एड–बोर्डहरू मात्र मैदान वरिपरि देखिएको सन्दर्भमा स:शुल्क दर्शकदीर्घामा बस्न आइपुगेका क्रिकेटप्रेमीको उपस्थितिले नै पनि ठूलो कहानी सुनाइरहेको थियो । त्यहाँ न प्यारापिट छ, न लस्करै सजाइएका कुर्सी । तापनि, दर्शक घाँस उम्रेको ढिस्कोमा बसेर ‘सय रुपियाँको आनन्द’ मा रमाइरहेका देखिन्थे । अझ थुपै्र दर्शक टिकट नपाएर बाहिर धेरै बेर बसेर फर्किए पनि । केही दर्शकलाई स्थिति सम्हाल्ने क्रममा प्रहरीले हल्का बल प्रयोगसमेत गर्न पुग्यो । यो सबैको एउटै सन्देश हो– व्यवस्थापन गर्न सक्ने हो भने नेपाल क्रिकेट संघ (क्यान) ले पनि अखिल नेपाल फुटबल संघ (एन्फा) ले जस्तै लाखौँ रुपियाँ केवल ‘गेट मनी’ को रूपमा मात्र उठाउन सक्छ । भारतमा विशेषत: क्रिकेटले र युरोप एवं ल्याटिन अमेरिकामा फुटबल संघ वा क्लबहरूले केवल गेट मनीबाट मात्रै करोडौँ रुपियाँ प्राप्त गर्छन् । उनीहरूकै स्तरमा नभए पनि नेपाली क्रिकेटमा पनि त्यो स्थितिको आभाष मंगलबारको दर्शक उपस्थितिले दिएको छ ।
कम्तीमा आठ हजारभन्दा बढीको संख्यामा उपस्थित भएका दर्शक केवल होलीको बिदा मनाउन अथवा होली छल्न त्यहाँ पुगेका थिएनन्, उनीहरू सम्पूर्ण रूपमा क्रिकेटको आनन्द लिन कीर्तिपुर मैदानमा झुम्मिएका थिए । नेपाली खेलाडी चौका–छक्का प्रहार गर्दा वा विकेट ढाल्दा अथवा राम्रो फिल्डिङ गर्दा जस्ता हरेक अवसरमा दर्शक हर्षोल्लास र प्रोत्साहनका हा–हा र हु–हुका रोमाञ्चक आवाजले रंगशाला गुञ्जायमान बनाइरहेका हुन्थे भने धेरै दर्शकको हातमा सुशोभित सूर्य–चन्द्रअंकित तीनकुने राष्ट्रिय झन्डाले हावाको सरसराहटलाई पनि माथ गरिरहेको हुन्थ्यो । यस्तो मनहर्ने दृश्य हत्पति अन्यत्र कहाँ देख्न–सुन्न पाइन्छ ?
यति मात्र कहाँ हो र ? नेपाल–माल्दिभ्स म्याचपछि कीर्तिपुरमै भएको अफगानिस्तान–ओमानबीचको खेल हेर्न पनि दर्शक निकै अनुशासित भएर बसिरहेका थिए र उनीहरू हरेक सुन्दर प्रहारमा, आकर्षक फिल्डिङमा र विकेटपतनमा तालीको गडगडाहटका साथ सन्तुष्टि व्यक्त गरिरहेका हुन्थे । यसको अर्थ, के नेपाली दर्शकहरूमा सुसस्ंकृत ‘क्रिकेट कल्चर’ को विकास हुँदै गइरहेको हो ? अनेक दर्शकहरू नेपाली क्रिकेट फ्यान क्लबले बेचिरहेका राष्ट्रिय खेलाडीका नाम अंकित जर्सी किन्दै त्यही लगाएर म्याचको आनन्द लिइरहेका देखिन्थे । अनुहारमा नेपाली झन्डा बनाएका दर्शकको संख्या पनि कम थिएन ।
जेहोस्, यही अवस्था कायम रहिरहने हो भने नेपाली क्रिकेटले दर्शकबाट सकारात्मक स्नेह र ‘गेट मनी’ को सद्भाव पाउने क्रममा उल्लेनीय ढंगले बढ्दै जानेछ । तर, यसका लागि आयोजक क्यान वा अन्य संस्थाले दर्शकको सुविधा अर्थात् कम्तीमा पिउने पानी र ट्वाइलेटको सुविधा प्राथमिक सर्त हुन् ।

प्रतिक्रिया