राजधानीसहितका जिल्लामा होली मनाईदै

holi-rang2काठमाडौं, १३ चैत । रङको पर्व होली आज राजधानी लगायतका पहाडी जिल्ला मनाईदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूणिर्माको दिन फागू अर्थात होली पर्व मनाउने गरिन्छ ।
होली तराईका जिल्लामा भने भोलि मनाइने छ । हिरण्यकश्यपु नामक राक्षसले आफ्ना विष्णुभक्त छोरा प्रह्लादलाई मार्न अग्नि दहन नहुने बर पाएकी आफ्नी बहिनी होलिकालाई जिम्मा दिएका थिए ।
दाजुको आदेशानुसार होलिका प्रह्लादलाई काखमा लिएर आगोमा बसेकोमा होलिका जलेर भष्म भएको तथा प्रह्लादलाई केही नभएको खुशीयालीमा पनि होली पर्व मनाउन थालिएको किंवदन्ती छ । होलिका दहनकै खुशीयालीमा एकापसमा रङ र अविर लगाएर पर्व मनाउने गरिएको हो ।
काठमाडौंको वसन्तपुरमा फागुन शुक्ल अष्टमीका दिन गाडिएको चीरलाई आज विधिपूर्वक ढालिनु पर्ने भएपनि नक्षत्रका कारण भोलि बिहान मात्र चिरदाह गर्ने साइत निस्केको छ ।
यसैगरी, टुंडिखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कतै नबिसाई ल्याएको १० पाथी चामलको भात र एउटा राँगाको मासु खुवाई संैनिक अस्पतालभित्र रहेको जधु धारामा चुठाउने चलन छ ।
उता, गृह मन्त्रालयले होली पर्वका लागि विशेष सुरक्षा व्यवस्था मिलाएको जनाएको छ । गृह मन्त्रालयले होली मनाउने क्रममा कसैलाई पनि जबर्जस्ती नगर्न, गाँजा भाङ तथा मद्यपानलगायतका पदार्थ सेवन नगर्न पनि सचेत बनाएको छ । राजधानीका विभिन्न स्थानमा प्रहरीले आज विहानैदेखि मादक पदार्थ सेवन चेकजाँच पनि गरेको छ ।

प्रतिक्रिया