७० प्रतिशत केटा ३० प्रतिशत केटी

richard_o_brienरिचर्ड ब्रायनलाई पहिलोचोटि देख्ने मान्छे चकित पर्छ । हेर्दै अचम्मको लुक्स छ उनको । केटा भनौँ, महिलाका लुगा लगाएर त्यस्तै मेकअप गरेका भेटिन्छन् । केटी भनौँ अनुहार, जिउडाल, बोली सबै केटाकै जस्तो छ । पहिलोचोटि देख्ने जोसुकैले ‘अजिबको प्राणी’ ठान्छ उनलाई । उनी कुरा पनि त्यस्तै गर्छन् । भन्छन्, ‘मलाई लाग्छ, मभित्र ७० प्रतिशत केटाको अंश छ त ३० प्रतिशत केटीको ।’ यसो भन्दैमा उनी शारीरिक रूपमा तेस्रो लिंगी हुन् भनांँ भने आधिकारिक काजगपत्रहरूमा उनले आफ्नो लिंग ‘पुरुष’ नै उल्लेख गर्ने गरेका छन् । दुईचोटि बिहे गरेर तीन सन्तानका पिता बनेका छन् । तर, केचाहिँ स्पष्ट हो भने उनको पुरुष शरीर र आन्तरिक चाहनाबीच केही बेमेल पक्कै छ । यो उनी आफैँ स्विकार्छन् ।
सत्तरीको दशकदेखि चल्दै आएको पारम्परिक यौनव्यवहारमै खल्बली मच्चाउने गरी आएको एक चर्चित हरर सोका लेखक हुन् रिचर्ड । अनि ब्रिटेनका नाम चलेका अभिनेता । उनको गीत ‘स्विट ट्रान्सवेस्टाइट’ निकै लोकप्रिय भएको थियो । तर, एक समय सोका आयोजक नै एकाएक लज्जा र आश्चर्यमा परे, जब उनले सबैसामु आफू महिला बन्न चाहेको इच्छा जाहेर गरे । त्यसो त उनीभित्रको यो इच्छा तत्काल जागेको नभएर बाल्यकालदेखिकै रहेछ र त्यसले व्यक्त हुने उपयुक्त समय र ठाउँ खोजिरहेको रहेछ । ब्रायन सम्झन्छन्, ‘तब साढे ६ वर्षको थिएँ । मैले ठूल्दाजुसँग भनेँ– दाइ, म राम्री राजकुमारी बन्न चाहन्छु । म बढ्दो उमेरको केटाले यसो भनेको सुन्दा दाइ रिसाउनुभयो । उहाँको मुहारमा आक्रोश थियो । त्यसपछि म चुप लागेँ । मैले बुझेँ– अब म फेरि दोहोर्‍याएर दाइसँग यो कुरा बताउन सक्दिनँ ।’
त्यसपछिका ५० वर्षसम्म ब्रायनले आफ्नो इच्छा पर्दाभित्र लुकाएरै राखे । तर, यसलाई सधैँ दबाउन सम्भव भएन । भन्छन्, ‘कुनै चिजलाई दबाउनुको अर्थ यो हुँदो रहेनछ कि त्यसको अस्तित्व नै मेटिएर जानेछ ।’ महिला हुने तीव्र इच्छाका कारण उनले दशक पहिले महिलामा हुने एस्ट्रोजोन हार्मोन बढाउने खुराक लिन सुरु गरे । विस्तारै शारीरिक रूपमा पनि उनीभित्र नारीजन्य केही संकेत देखापर्न थाले । यो परिणामले उनी निकै खुसी थिए । सुनाउँछन्, ‘त्यसपछि मभित्रको पुरुष कमजोर हुँदै गयो । लाग्छ, थुप्रै मामिलामा म पहिलाभन्दा अझ राम्रो मान्छे बनेँ, पहिलाभन्दा नरम मान्छे । जिन्दगीमा पहिलोचोटि मैले आफ्नो वजन पनि बढाएँ, यसो गर्दा मलाई खुसी मिल्छ ।’ ब्रायनको समतल छाती पनि अहिले केही उचालिइसकेको छ । तर, योभन्दा बढाउने उनको चाहना छैन । अनि तत्काल लिंग परिवर्तन सर्जरीबारे पनि आफूले सोचिनसकेको उनले स्पष्ट पारे ।
मानिसहरूले आफ्नो यौनप्रकृतिविपरीतको धारणा राखिदिँदा ब्रायनलाई पटक्कै चित्त बुझ्दो रहेनछ । ६० वर्षे उनी भन्छन्, ‘म त्यस्तो देखिनै चाहन्नँ जो म होइन । अभिनेता एन्टन रोजरले मलाई भने, ‘तिमी पुरुष वा महिला नभएर अरू नै केही हौ । मलाई पनि लाग्यो, त्यही नै साँचो हो । मलाई मन पर्छ पनि त्यस्तै व्यवहार ।’
थप्छन्, ‘हामीजस्ता मान्छे महिला र पुरुष दुवैको बीचमा हुन्छौँ । पूरै महिला वा पूरै पुरुष मान्छे थुप्रै हुन्छन् । तर, हामीजस्तो स्वाभावका धेरै मान्छे बढीजसो बीचमै हुन्छौँ । मलाई आफू ७० प्रतिशत केटा अनि ३० प्रतिशत केटी हुँजस्तो लाग्छ ।’
त्यसो भए पासपोर्टलगायत प्रयोजनका लागि आवेदन दिनुपर्दा कागजमा महिला, पुरुष वा ‘अन्य’ के उल्लेख गर्छन् त रिचर्ड ? ‘लगाउन त पुरुषमै टिक लगाउँछु तर मेरो चाहनाचाहिँ ‘अन्य’ मा लगाउन पाए हुन्थ्यो भन्ने छ ।’
(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया