मलेसियामा नेपाली कामदारमाथि आक्रमण

hostelकाठमाडौं, १३ चैत । रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदारमाथि आक्रमण हुँदा दुई नेपाली गम्भीर घाइते भएका छन् । मलेसियाको जोहोर पासिर गुडाङमा सोमबार स्थानीय मलेसियन युवा र नेपाली कामदारबीच झडप हुँदा नेपाली कामदार घाइते भएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार दुईपक्षीय नेपाली कामदारबीच झगडा भएको थियो । त्यसपछि स्थानीय युवासँग झडप हुँदा तीन नेपाली कामदार घाइते भएका छन् । यद्यपि, दुईपक्षीय झडपको आधिकारिक कारण अझै पत्ता लागेको छैन । ‘दुईपक्षीय झडपमा तीन नेपाली घाइते भएका हुन्,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता अर्जुनबहादुर क्षेत्रीले भने, ‘यसमध्ये दुई गम्भीर घाइते भएकाले उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने एक जना सामान्य उपचारपछि फर्किएका छन् ।’
घटनामा महमतपुर रौतहटका रामलाल साह र नुवाकोटका राजु विश्वकर्मा घाइते भएको जनाइए पनि उनीहरूको अझै आधिकारिक ठेगाना पत्ता नलागेको मन्त्रालयले जनाएको छ ।
घटनामा ६ जना नेपाली कामदारको मृत्यु भएको हल्ला भए पनि अहिलेसम्म पुष्टि नभएको थापाले बताए । ‘घटनामा कुनै कामदारको मृत्यु भएको पुष्टि भएको छैन,’ उनले भने, ‘यथार्थ पत्ता लगाउन त्यहाँस्थित नेपाली दूतावासले पहल गरिरहेको छ ।’
झडपमा संलग्न मलेसियन र केही नेपाली कामदारलाई स्थानीय प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको उनले बताए ।

घाइते नेपाली कामदारलाई दूतावासका कर्मचारीले अस्पताल पुगेर भेटेको मन्त्रालयले जनाएको छ । घाइतेसँग कर्मचारीले भेट गरे पनि अस्पतालमा नेपालीको शव नभेटिएको मन्त्रालयले जनाएको छ । दुईपक्षीय झडपमा ठूलो संख्यामा नेपाली कामदार घाइते भएको भन्ने स्थानीय सञ्चारमाध्यमले जनाए पनि त्यसको पुष्टि नभएको मन्त्रालयको दाबी छ ।
घटनापछि मलेसियास्थित नेपाली दूतावासले सबै नेपाली कामदारलाई संयमित हुन आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै सबैलाई संयमित ढंगले काममा जान आग्रह गरेको हो । घटनामा कुनै कामदारको मृत्यु भएको पुष्टि नभएकाले उत्तेजित गतिविधि नगर्न पनि र कुनै असामान्य अवस्था आए दूतावासमा तत्काल सम्पर्क गर्न दुतावासको विज्ञप्तिमा अनुरोध गरिएको छ ।
यसैबीच, मलेसियामा नेपाली कामदारमाथि आक्रमण भएको घटनालाई लिएर सोमबार काठमाडौंमा छानबिनको मागसहित विरोध प्रदर्शन भएको छ । झडपमा नेपाली कामदारको मृत्यु भएको हल्ला चलेपछि राजधानीमा प्रदर्शन भएको हो । तर, कुनै अप्रत्यासित घटना नभएको प्रहरीले जनाएको छ ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष बलबहादुर तामाङले बाहिर आएको हल्लाजस्तो कुनै घटना नभएको जनाए । उनले झडपमा कुनै कामदारको मृत्यु नभएको बताए । विगतमा जस्तै ठूलो आक्रमण र तोडफोडको आशंकाले म्यानपावर सञ्चालकहरू भने सोमबार त्रसित बनेका थिए ।
विगतमा इराकमा नेपाली कामदारको मृत्यु हुँदा सयौँ म्यानपावर कम्पनीमाथि तोडफोड भएकाले व्यवसायी भने त्रसित बनेका थिए । उनीहरूले सबै समस्या कूटनीतिक ढंगबाट मिलाउन सरकारसँग आग्रहसमेत गरेका छन् । एक महिनादेखि लेबी विवादलाई लिएर मलेसियामा नेपाली कामदार आन्दोलित भएकाले समस्या तत्काल समाधान गर्न व्यवसायीले सरकारसँग आग्रह गरेका छन् ।

प्रतिक्रिया