सबैलाई भाग पुर्‍याउँदा एमाओवादी समिति जम्बो

mao officeकाठमाडौं, १३ चैत । हेटांैडा महाधिवेशनले दिएको म्यान्डेडविपरीत एमाओवादीले केन्द्रीय समिति जम्बो बनाउने निर्णय गरेको छ । सोमबार बसेको बैठकले केन्द्रीय समिति ३ सय ९९ बनाउने निर्णय गरेको छ ।

केन्द्रीय समितिमा क–कसलाई ल्याउने भन्ने विषयमा आन्तरिक विवाद बढ्दै गएपछि महाधिवेशन सकिएको झन्डै डेढ महिनापछि एमाओवादीले महाधिवेशन आयोजक समितिभन्दा ठूलो केन्द्रीय समिति बनाउने निर्णय गरेको हो । महाधिवेशन आयोजक समितिमा २ सय ४० सदस्य थिए । सोमबारको बैठकले एक सय ५१ पूर्ण र दुई सय ४८ वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय गरेको छ । विवादका कारण नामको अन्तिम टुंगो भने अझै लागेको छैन् । महाधिवेशन आयोजक समितिमा रहेका अधिकांश सदस्य केन्द्रीय सदस्यमा परेको स्रोतले जनाएको छ ।
गत माघ अन्तिम साता हेटौंडामा सम्पन्न सातौँ महाधिवेशनले दुई अंकभन्दा नबढाएर केन्द्रीय समिति बनाउन म्यान्डेट दिएको थियो ।

महाधिवेशन आयोजक समितिले भने १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउन प्रस्ताव गरेको थियो । तीमध्ये ९८ जना महाधिवेशनबाटै चुनिएका थिए भने बाँकी ५३ जना केन्द्रीय समिति बैठकले मनोनीत गर्ने निर्णय महाधिवेशनले गरेको थियो ।
संविधानसभाको निर्वाचनलाई केन्द्रमा राखेर समावेशी, वरिष्ठ र फिल्डमा काम गरेका नेताहरूलाई ल्याउँदा ठूलो केन्द्रीय समिति बनाउनुपरेको एमाओवादीले जनाएको छ । आगामी १७ चैतमा बस्ने बैठकले पदाधिकारी चयन, राज्य समिति इन्चार्जसहित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्ने एमाओवादीले जनाएको छ । ‘आवश्यक गृहकार्य गरेर पदाधिकारी, केन्द्रीय सदस्य थप गर्नेलगायत विषय टुंग्याइनेछ,’ प्रवक्ता अग्नि सापकोटाले भने ।
महाधिवेशनले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरे पनि आवश्यकताअनुसार वैकल्पिक सदस्य राख्न सकिने विधानमा व्यवस्था गरिएकाले त्यसैअनुसार २ सय ४८ वैकल्पिक सदस्यको व्यवस्था गरिएको प्रवक्ता सापकोटा बताए ।
पार्टी विधानमा १ सय ५१ सदस्यीय केन्द्रीय समिति रहने उल्लेख भए पनि महाधिवेशनले २ सय ४१ सदस्यीय आयोजक समितिमध्ये ९८ जनालाई मात्र केन्द्रीय समितिमा ल्याएको थियो । केन्द्रीय सदस्य मनोनीत गर्दा महिला, दलित, मधेसी र उत्पीडित क्षेत्रलाई प्राथमिकता दिइने माओवादीले जनाएको थियो । ‘सबै सन्तुलन मिलाउँदा केन्द्रीय समिति ठूलो भयो,’ एक केन्द्रीय सदस्यले भने । अन्य पार्टीबाट एमाओवादीमा आउनेहरूका लागि केही सिट छुट्टयाउन सकिने ती नेताले बताए ।
पार्टी विधानमा केन्द्रीय समितिको एकतिहाइ पोलिटब्युरो र पोलिटब्युरोको एकतिहाइ सदस्य बराबर स्थायी समिति हुने व्यवस्था छ । महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल, उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ तथा महासचिवमा पोष्टबहादुर बोगटीलाई चयन गरेको थियो । केन्द्रीय समितिअघि पार्टीको पदाधिकारी बैठक बसेको थियो । पदािधकारी बैठकले तयार पारेको केन्द्रीय सदस्यको सूचीलाई केन्द्रीय समिति बैठकले अनुमोदन गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया