मैनबत्ती व्यवसायले जीवनस्तरमा सुधार

वीरगन्ज, १२ चैत । तीन वर्षअघिसम्म पर्सा महुवन गाविसकी ललिता रामको परिचय गृहणी र मजदुरको रूपमा हुने गर्दथ्यो ।

ज्याला मजदुरीमा काम गर्दा पनि गरिबी र विपन्नताका कारण उनलाई जीविकोपार्जनमा कठिनाइ हुन्थ्यो तर अहिले उनी उद्यमी महिला बनेकी छिन् । उनले मैनबत्ती बनाउने व्यवसाय थालेकी छिन् । पाँच सदस्य रहेको ललिताको परिवार सार्वजनिक जग्गामा बनेको घरमा बस्छिन । गरिब र भूमिहीन ललितालाई हातमुख जोर्न कठिन भएपछि मैनबत्ती बनाउने व्यवसाय सुरु गरिन । अहिले उनको जीवनस्तर फेरिएको छ ।
पहिला गाउँघरमै धान गहुँ काटेर मजदुरी गर्दासमेत केही गर्न सकिएन, जिल्ला वन समन्वय समितिको कार्यालय पर्साको परामर्श र सहयोगमा मैनबत्ती बनाउने व्यवसाय गर्न थाले, चार गुणा आम्दानी बढ्न थाल्यो, उनी भन्छिन्, ‘अहिले खान लाउन समस्या छैन ।’
बाह्रै महिना खेतबारी र ज्याला मजदुरीमा काम गर्दा पनि जीविकोपार्जनमा कठिनाइ हुने ललिता रामले विगत एक वर्षभित्र गरेको मेहनत र त्यसबाट प्राप्त हुने आम्दानी अहिले समाजका लागि उदाहरणीय बनेको छ ।
खानलाउन, छोराछोरीलाई पढाउन र बिरामी पर्दा औषधोपचारका लागि आवश्यक रकम जोहो गर्न अहिले साहुको शरणमा जानुपर्दैन्, यसै कुराप्रति खुसी मान्दै उनले भनिन्, ‘मैनबत्तीको बिक्रीबाट आर्जन गरेको आम्दानीले हाम्रो पाँच जनाका परिवारको जीवन राम्रोसँग चलेको छ ।’
गरिबी न्यूनीकरण र स्थानीय बासिन्दाको जीविकोपार्जनका अवसर सिर्जना गरी वन क्षेत्रलाई स्थानीय स्तरमा स्वावलम्बी बनाउँदै लैजानका लागि सरोकारवालाको क्षमता अभिवृद्धि र आयमूलक क्रियाकलाप सञ्चालन गर्न सहयोग पुर्‍याउने उद्देश्यले जिल्ला वन समन्वय समिति पर्साले ती गाउँका दलित समुदायलाई लक्षित गरेर तीनदिने मैनबत्ती बनाउने तालिम सञ्चालन गरेको थियो ।
मैनबत्ती बनाउने तालिम लिएर उनी मात्र होइन्, उनको टोलका अरू दलितले पनि सामूहिकरूपमा मैनबत्ती बनाउने व्यवसायमा लागेपछि महुवनस्थित दलित टोलको मुहार नै अहिले फेरिएको छ । टोलका करिब एकदर्जन घरपरिवारलाई लक्षित गरी दलित उत्थान आयमूलक समूहसमेत गठन गरेको छ ।
मैनबत्ती बनाउने व्यवसाय सुरु गरेपछि गरिब र भूमिहीन दलित समुदायलाई घर खर्च चलाउन, बालबच्चा पढाउने बलियो माध्यम अहिले त्यो व्यवसाय भएको छ, जिल्ला वन समन्वय समिति पर्साका प्रमुख हिरशङ्कर साहले भने, ‘गरिब, विपन्न र आर्थिक तथा सामाजिकरूपले पिछडिएका समुदायलाई आत्मनिर्भर बनाउन मैनबत्ती व्यवसायले ठूलो सहयोग पुर्‍याएको छ ।’
घरबाटै मैनबती बिक्री भएपछि समयको पनि बचत भएको छ, स्थानीय श्यामनाथ रामले भने, ‘खानलाउन, छोराछोरीलाई पढाउन र बिरामी पर्दा औषधोपचारका लागि आवश्यक रकम जोहो गर्न अहिले साहुको शरणमा जानुपर्दैन् ।’
वन क्षेत्रमा सुशासन ल्याई बनको दिगो व्यवस्थापनद्वारा गरिबी न्यूनीकरण र स्थानीय बासिन्दाको जीविकोपार्जनका अवसर सिर्जना गरी वन क्षेत्रलाई स्थानीय स्तरमा स्वावलम्बी बनाउँदै लग्नका लागि जिल्ला वन समन्वय समिति पर्साले जिल्लामा गोबर ग्यासको स्थापना, सुधारिएको चुल्हो जडान र कृषि वन तथा निजी वनका विकास एवम् विस्तारका लागि बिरुवा तथा प्राविधिक सहयोगका साथै जैविक विविधताको प्रवद्र्धनमा पनि सहयोग पुर्‍याउँदै आएको छ ।
कृषि वनको विकास तथा विस्तारले सार्वजनिक तथा निजी जग्गामा हरियाली बढेको छ, जिल्ला वन समन्वय समितिका प्रमुख साहले भने, यस्ता कार्यले स्थानीय स्तरमा रोजगारीको अवसरमा समेत वृद्धि भएको छ ।
पोखरीको एलानी, पर्ती बाँझो जग्गाजस्ता ठाउँमा गरिएको वृक्षारोपणले जैविक विविधता, वन तथा वातावरण संरक्षण, वन व्यवस्थापन र वन पैदावार आपूर्तिमा सहयोग पुग्ने गरेको छ उनले भने, ‘यस्ता कार्यक्रमबाट गरिब, महिला र पिछडिएको समुदायलाई आयमूलक कार्यक्रम सञ्चालन भई विकासका अवसरसमेत उपलब्ध भएको छ ।’

प्रतिक्रिया