फोटो पत्रकारिता तालिम

Photo-Patrakarकाठमाडौं, १२ चैत । सूचना विभाग र फोटो पत्रकार क्लब (पिजेक्लब) को आयोजनामा फोटो पत्रकारिता तालिम भएको छ ।

सूचना विभागको हलमा भएको सातदिने तालिममा कान्तिपुर, नागरिक, सौर्य दैनिक, नेपाल समाचारपत्र, कारोकार, अभियान, अनलाइन खबर, आर्थिक दैनिक, दैनिकपत्रलागायत विभिन्न सञ्चारमाध्यममा कार्यरत २४ फोटो पत्रकारको सहभागिता थियो ।
तालिम समापनमा विभागका महानिर्देशक लक्ष्मीविलास कोइरालाले प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले फोटो पत्रकारको क्षमता अभिवृद्धि गर्न तालिमलाई प्राथमिकता दिएको र आउँदा दिनमा विभागले सक्दो सहयोग गर्ने बताए ।
उनले भविष्यमा उपत्यकाबाहिर पनि तालिमलाई लैजाने बताए । पिजे क्लबका अध्यक्ष प्रकाश माथेमाले सूचना विभागले गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सूचना विभागसँग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको बताए । क्लबका प्रवक्ता एवं सदस्य द्वारिका काफ्लेले इतिहासमै पहिलोपटक सरकारी निकायले फोटो पत्रकारलाई तालिम दिएर सहकार्यको बाटो खुला गरेकोमा खुसी व्यक्त गरे । प्रशिक्षार्थी अशोक दुलालले अग्रजबाट तालिम लिन पाउँदा धेरै पाटो सिक्न पाएको बताए । यस्तै, स्मृति ढुंगानाले तालिममा धेरै कुरा सिक्न पाइएको बताइन् ।
तालिममा विभागका महानिर्देशक लक्ष्मीविलास कोइराला, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले, पिजेक्लबका अध्यक्ष प्रकाश माथेमा, वरिष्ठ पत्रकार नारायण वाग्ले, नेपाल बैंकका जनसम्पर्क अधिकृत आश्विन पुडासैनी, वरिष्ठ फोटोपत्रकार विकास रौनियार, पत्रकार उज्ज्वल आचार्य, फोटो पत्रकार विजय गजमेर र शैलेन्द्र खरेलले तालिम दिएका थिए ।

प्रतिक्रिया