लन्डनस्थित दूतावास नबेच्न गेसोको दबाब

काठमाडौं, १२ चैत । सरकारले लन्डनको १२ ‘ए’ क्यान्सिटनस्थित नेपाली राजदूतावासको भवन बिक्री गर्न लागेकोमा गोरखा भूतपूर्व सैनिक संघ (गेसो)ले आपत्ति जनाएको छ । गेसोले आइतबार विज्ञप्तिमार्फत सरकारले संरक्षण गर्न नसकेको कारण देखाएर दूतावास भवन बिक्री गर्न लागेको समाचार आएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

गेसोले उक्त भवन पुर्खाहरूको बलिदानीको चिनोस्वरूप रहेको उल्लेख गर्दै सरकार वा कुनै पनि राजनीतिक दलसँग बिक्री गर्नर्े कुनै अधिकार नरहेको जिकिर गरेको छ । उक्त भवन नेपाली युवाहरूले गोरखा सैनिकमा भर्ना भएर बेलायती सार्वभौमसत्ता, राजमुकुट र जनताको रक्षाका निम्ति उच्च वफदारीपूर्वक बलिदान गरेबापत नि:शुल्क दिइएको विज्ञप्तिमा उल्लेख छ । ‘करिब ६० हजारभन्दा बढी गोरखा सैनिकहरूको बलिदानीको उच्च सम्मान गर्दै नि:शुल्क रूपमा दिइएको यो भवन संरक्षण गर्न नसकेको बहानामा बिक्री गर्नु ती ६० हजार बढी हाम्रा पुर्खाहरूको अपमान मात्रै होइन,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाल र नेपालीको स्वाभिमानमाथिको प्रहार पनि हो ।’
उक्त भवन संरक्षण गर्न नसकेर भन्दा पनि नेपाल राजनीतिक दल, तिनका नेता र कर्मचारीले ‘कमिसन’को लोभमा बेच्न लागेको गेसोले दाबी गरेको छ । ‘यसर्थ केवल ‘कमिसन’का लागि नेपालको अमूल्य र ऐतिहासिक सम्पत्ति कुनै पनि हालतमा बिक्री नगर्न हामी सम्बन्धित पक्षलाई अनुरोध गर्न चाहन्छौँ,’ गेसो सभापति पदमबहादुर गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यदि सरकारले यो भवनको संरक्षण गर्न सक्दैन भने गेसोले पूर्णरूपमा संरक्षण गर्नसक्ने
सम्बन्धित पक्षलाई जानकारी गराउन चाहन्छु ।’
सरकारले गेसोलाई हस्तान्तरण गरे उक्त सम्पदा सधैँ बचाइराख्ने विज्ञप्तिमा उल्लेख छ । ‘कमिसन’को लोभमा नेपाल र नेपालीको स्वाभिमान र शिर झुकाउने काम नगर्न गेसोले विज्ञप्तिमार्फत सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । ‘हाम्रो आग्रहको बेवास्ता गर्दै बिक्री प्रक्रिया अघि बढाइए हामी हाम्रो ऐतिहासिक सम्पत्ति जोगाउन जुनसुकै मूल्य चुकाउन तयार छौँ,’ गेसोले भनेको छ ।

प्रतिक्रिया