चुनावबारे जापान र चीनको चासो

काठमाडौं, १२ चैत । नेपालस्थित वैदेशिक कूटनीतिक नियोगका प्रतिनिधिले संविधानसभाको नयाँ चुनाव निष्पक्ष हुने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आइतबार जापान र चिनियाँ राजदूतले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग भेट गरी यस्तो विश्वास व्यक्त गरेका हुन् ।

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग जापानी राजदूत कुनियो ताकाहासी र चिनियाँ राजदूत उ चुन्ताईले भेट गरेका थिए । रेग्मीका प्रेस संयोजक राजेन्द्रप्रसाद पाण्डेका अनुसार छुट्टाछुट्टै भेटमा दुवै राजदूतले आगामी चुनाव र त्यसको तयारीलगायत विषयमा चासो व्यक्त गरेका थिए । उनीहरूले चुनावका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको जानकारी गरेका थिए ।
न्यायिक क्षेत्रका व्यक्तिको नेतृत्वमा हुने चुनाव निष्पक्ष हुनेमा आफूहरू विश्वस्त रहेको र चुनावका लागि चाहिने सहयोग दिन तयार रहेको जानकारी उनीहरूले गराएको प्रेस संयोजक पाण्डेले बताए । पाण्डेका अनुसार जापानी राजदूत ताकाहासीले नेपालको आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा गर्दै आएको सहयोगलाई थप निरन्तरता दिनेमा विश्वस्त तुल्याएका थिए ।
भेटमा रेग्मीले निष्पक्ष चुनाव गर्नकै लागि आफ्नो नेतृत्वमा सरकार बनेको जानकारी गराउँदै निष्पक्ष र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न हुनेमा विश्वस्त हुन आग्रह गरेका थिए । उनले सरकारको उद्देश्य निष्पक्ष चुनाव गराउने र शान्ति, सुरक्षा तथा मानवअधिकारप्रति कटिबद्ध रहेको बताएका थिए ।

प्रतिक्रिया