एसिसी टी–ट्वान्टी एलिट कपनिम्ति नेपाल तयार

काठमाडौं : यही मंगलबारबाट काठमाडौंमा सुरु हुने एसिसी ट्वान्टी–ट्वान्टी एलिट कप क्रिकेट प्रतियोगिताको आयोजना निम्ति नेपाल पूर्ण तयार छ । कीर्तिपुरको त्रिवि मैदान र इन्जिनियरिङ कलेजको मैदानमा सञ्चालन हुने प्रतियोगितामा नेपालसमेत एसियाका दस देश सहभागी हुँदै छन् ।
विगतमा दर्शक–व्यवहारले खेललाई प्रभावित पारेकाले यसपटकको आयोजनामा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) र एसियाली क्रिकेट परिषद् (एसिसी दुवैले सुरक्षा व्यवस्थाप्रति विशेष चासो राखिरहेको छ । यससम्बन्धमा आइसिसी र एसिसीबाट उच्चस्तरीय सुरक्षा अधिकारी नै काठमाडौं आउने भएका छन् । प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) ले अन्य सबै तयारी पूरा भइसकेको र बहराइन टोली नेपाल आइसकेको बतायो । माल्दिभ्स र सिंगापुर शनिबार रातिसम्म आइपुग्ने र बाँकी अरू सबै टोली आइतबार रातिसम्ममा आइपुग्ने पनि जनायो ।
क्यान महासचिव अशोकनाथ प्याकुरेलले प्रतियोगिता आयोजना गर्न २ करोड ५२ लाख २१ हजार ७ सय २० रुपियाँ अनुमानित लागत रहेको बताउँदै त्यसमध्ये २ करोड २७ लाख४० हजार ७ सय २० रुपियाँ एसिसीबाट प्राप्त हुने र बाँकी रकम क्यानले आन्तरिक स्रोतबाट जुटाउने जानकारी गराए । प्याकुरेलले प्रतियोगिता आयोजना गर्न मूलसमितिअन्तर्गत नौवटा उपसमिति बनाइएको पनि बताए । दुई समूहमा रहेका टोलीमध्ये ‘ए’ मा नेपाल, मलेसिया, हङकङ, माल्दिभ्स र सिंगापुर छन् भने ‘बी’ मा युएई, अफगानिस्तान, ओमान, कुवेत र बहराइन छन् ।

प्रतिक्रिया