कहिले विद्यार्थी आउँदैनन्, कहिले शिक्षक

राजविराज, ११ चैत । जिल्लामा सबैभन्दा बढी विद्यालय रहेको सप्तरीको विषहरिया गाविसका अधिकांश बालबालिकाले चाहेजस्तो शिक्षा पाउन सकेका छैनन् । शिक्षक समयमा नआउने र आए पनि पठनपाठनमा ध्यान नदिने भएका कारण बालबालिकाले उचित शिक्षा पाउन नसकेका हुन् ।

विषहरियामा १ मावि र १३ प्रावि गरी १४ वटा विद्यालय सञ्चालित छन् । यी विद्यालय प्राय: बन्द भेटिने गरेको स्थानीय गन्नुप्रसाद दास बताउँछन् । विद्यालयमा प्राय: शिक्षक नै अनुपस्थित रहने, उपस्थित भए पनि अधिकांश शिक्षक हाजिर गर्ने र कार्यालयमा बसेर फर्कने गरेका कारण विद्यार्थीसमेत विद्यालय जान छाडेको दासको भनाइ छ ।
‘कहिले शिक्षक नभएर विद्यार्थी फर्कन्छन् त कहिले विद्यार्थी नभएर शिक्षक फर्कन्छन्,’ उनी भन्छन्, ‘तर, विद्यालयमा पठनपाठनचाहिँ कहिलेकाहीँ मात्र हुन्छ ।’ विद्यालयमा पढाइ सञ्चालन भएको देख्दा नौलो कामै हुन लागेजस्तो अनुभूति हुने गरेको उनले सुनाए । नियमित विद्यार्थीले पढ्न नपाएपछि पढाइको स्तर खस्कँदै गएको उनको भनाइ छ ।
समयमा पढाइ नभएकै कारण एसएलसी परीक्षालगायत माथिल्ला कक्षामा पास गर्न विद्यार्थीले चिट चोर्नुपरेको स्थानीय सुनिता यादवको ठम्याइ छ । परीक्षा हलमा पसेर गाइड खोस्नुपूर्व जिल्लाभरका विद्यालयको पढाइको स्तर के छ भन्नेतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने उनी बताउँछिन् ।
जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत .विजयकुमार मण्डलले विद्यालयमा पढाइ नभएको र कतिपय विद्यालय बन्द रहेको विषयमा अनभिज्ञता जनाए । यस विषयमा अनुसन्धान गरी आवश्यक कारबाही गरिने मण्डलको भनाइ छ ।

प्रतिक्रिया