निर्वाचन आयोगमा पुरानै नाम सिफारिस

काठमाडौं, ११ चैत । संवैधानिक परिषद्ले निर्वाचन आयोगका प्रमुख तथा अन्य पदाधिकारीहरूको नियुक्ति सम्बन्धित सिफारिस संविधानसम्मत् नै भएको भन्दै पुरानै नामलाई अनुमोदन गर्न राष्ट्रपति डा. रामवरण यादवसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति यादवले शुक्रबार परिषद्लाई पत्र पठाई निर्वाचन आयोगका निवर्तमान पदाधिकारीलाई गरिएको नियुक्तिप्रति संवैधानिक आधार खोजेका थिए ।

राष्ट्रपतिले पूर्वकार्यवाहक निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती र आयुक्तहरू अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङको नाममा प्रश्न उठाउँदै अन्तरिम संविधानको धारा १ सय २८ को उपधारा ३ र ७ आकर्षित हुन्छ वा हुँदैन स्पष्ट पार्न भनेका थिए । परिषद्ले राष्ट्रपतिले पठाएको पत्रको कानुनअनुसार सम्बोधन गर्दै पुरानै नामका व्यक्तिलाई अनुमोदन गर्न पत्र पठाएको मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका प्रेस सल्लाहकार राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार बिहीबार बसेको परिषद् बैठकले पहिलोपटक सिफारिस गर्दा नै आधार र कारण खुलाइएकाले पुन: पठाइएको हो ।
सिंहदरबारमा शनिबार साँझ बसेको परिषद् बैठकले गरेको निर्णय मन्त्रिपरिषद् हेर्ने सहसचिव शंकर पाठकले राष्ट्रपति कार्यालय पुर्‍याएका छन् । पत्रमा राष्ट्रपतिले उठाएको जिज्ञासालाई सम्बोधन गर्दै नियुक्ति संविधानअनुसार नै रहेको उल्लेख छ । परिषद्को बैठक बस्नुअघि सो विषयमा मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले उच्चस्तरीय राजनीतिक दलका नेताहरूसँग शुक्रबार साँझ नै राय लिएका थिए । उच्चस्तरीय संयन्त्रले नियुक्ति संविधान र कानुनसम्मत भएको भन्दै सोहीअनुसार राष्ट्रपतिलाई जवाफ पठाउने सुझाव दिएका थिए ।
परिषद् बैठकमा मन्त्रिपरिषद अध्यक्ष रेग्मीसहित गृहमन्त्री माधवप्रसाद घिमिरे, सूचना तथा सञ्चारमन्त्री माधव पौडेल र महिला तथा बालबालिका मन्त्री रिद्धिबाबा प्रधान र कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा र परिषद् सदस्यसचिव लीलामणि पौड्याल सहभागी भएका थिए ।

प्रतिक्रिया