निरीक्षकले नै अमर्यादित बनाए एसएलसी

राजविराज, १० चैत । एसएलसी परीक्षा सप्तरीमा यस वर्ष पनि मर्यादित बन्न सकेन । अभिभावक मात्र होइन, निरीक्षक नै परीक्षा अमर्यादित बनाउने कार्यमा संलग्न भए । अमर्यादित गतिविधिमा संलग्न १६ निरीक्षक र ५२ परीक्षार्थी कारबाहीमा परेका छन् ।

परीक्षालाई मर्यादित बनाउने निर्णयविपरीत विद्यार्थीलाई चिट चोर्न सहयोग गरेको आरोपमा परीक्षा अनुगमन समितिले विभिन्न मितिमा १६ निरीक्षकलाई कारबाही गरेको हो । कारबाहीमा पर्नेमा हनुमाननगरस्थित महावीर उमावि परीक्षा केन्द्रबाट गजेन्द्र मण्डल र शम्भु ठाकुर, राजविराजस्थित लिटिल फ्लावर परीक्षा केन्द्रबाट सन्दीप देव, प्रमोद किशोर र रमेश झा छन् । त्यस्तै जनता उमाविबाट सुमित्रा चौधरी, महेन्द्र जनता उच्च माविबाट नन्दलाल साह, पत्थरगडाको एसएलपी उमाविबाट प्रमेश्वर मण्डल, सिस्वावेल्ही परीक्षा केन्द्रबाट मोहम्मद रहमान अली र रामचरण मण्डल, तेरहौता परीक्षा केन्द्रबाट लालदेव यादव, घोगिदाहा केन्द्रबाट ललिताकुमारी चौधरी, पातो केन्द्रबाट रामबाबु मण्डल र प्रभुलाल साह, वभनगामा कट्टी केन्द्रबाट रूपाकान्त झा र चिरन्जीवी यादव कारबाहीमा परेको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए । उनीहरूले परीक्षा केन्द्रमा देखाएको गतिविधिबारे थप अनुसन्धान गरी कारबाही गरिने जिशिअ भण्डारीको भनाइ छ ।
यसैगरी, विभिन्न केन्द्रबाट तीन कार्यालय सहायकसमेत कारबाहीमा परेका छन् । कुशाहा केन्द्रबाट दिनेशकुमार मण्डल, महेन्द्र जनता उमावि कडरवोना परीक्षा केन्द्रबाट रवीन्द्र यादव र दिनेश यादव कारबाहीमा परेका हुन् ।
परीक्षा अवधिभर ५२ परीक्षार्थी कारबाहीमा परेको शिक्षा कार्यालयले जनाएको छ । अनुगमनका क्रममा चिट चोर्दै गरेको फेला परेपछि सम्बन्धित सबै विद्यार्थीको उक्त दिनको परीक्षा रद्द भएको छ । अनुगमन समितिले परीक्षाको प्रथम दिनै एकैपटक २० परीक्षार्थीको परीक्षा रद्द गरेको थियो ।
अघिल्ला वर्षको तुलनामा भने परीक्षा प्रणालीमा धेरै सुधार आएको दाबी जिशिअ भण्डारीको दाबी छ । समयमा पाठ्यपुस्तक नपाउने तथा विभिन्न खाले आन्दोलनको मार विद्यार्थीले भोग्नुपर्ने भएकाले पनि परीक्षा प्रणाली जटिल बनेको भण्डारीको भनाइ छ ।

प्रतिक्रिया