रक्षा, लभ इन चाइना बोर्डर देशभर कथा उपत्यकामा

poojana-pradhanकाठमाडौं : चलचित्रको सिंगल रिलिज अचेल निर्माताका लागि कल्पनामा मात्र सीमित भएको छ । अघिल्ला केही साता फ्राइडे रिलिजअन्तर्गत दुई वा त्योभन्दा माथिको संख्याका चलचित्र सार्वजनिक प्रदर्शनमा आए । यो साता अर्थात् आज शुक्रबार तीन नयाँ चलचित्र सार्वजनिक प्रदर्शनमा आउने भएका छन् । चलचित्र हुन् – ‘रक्षा’, ‘कथा’ र ‘लभ इन चाइना बोर्डर’ । यी तीनै चलचित्रमध्ये दुई देशभर र एक उपत्यकाका स्टेशनबाट एकैसाथ प्रदर्शनमा आउन लागेका हुन् । ‘रक्षा’ राजु गिरीको निर्देशनमा बनेको चलचित्र हो भने ‘कथा’ का निर्देशक प्रशान्त रसाइली रहेका छन् । त्यस्तै ‘लभ इन चाइना बोर्डर’ उदय सुब्बाको निर्देशनमा तयार भएको छ ।
‘रक्षा’ पवन बस्नेतको निर्माणमा तयार भएको चलचित्र हो । छायांकनको समयमा अश्लील दृश्यका फोटाहरू सार्वजनिक गरेर आलोचनात्मक समाचारको विषय बनेको यस चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । यौनका केही दृश्य रहेकाले चलचित्रलाई यो प्रमाणपत्र दिइएको हो ।
चलचित्रमा केही बेड सिन रहेका छन् । चलचित्रमा रहेको अभिनेत्री पुजना प्रधानका हटसिनका दृश्यले यस अगाडी नै चर्चा परिचर्चा बटुलेको छ । राष्ट्रभक्ति विषयवस्तुमा निर्माण भएको यस चलचित्रकी नायिका पुजनाले अहिले चलचित्र प्रदर्शनको समयमा प्रचार/प्रसारमा साथ नदिएको गुनासो निर्माण पक्षको रहेको छ । जबर्जस्ती अश्लील दृश्य दिन लगाइएको भन्दै प्रचारमा साथ छोडेकी हुन् । ‘आफ्नो नग्न तस्बिर पोस्टरमा राखेका भन्दै पुजनाले हामीलाई चलचित्र प्रचारमा नसघाएकी हुन् निर्देशक गिरीले भने ।
चलचित्रमा राजेश हमाल, पुजना स्त्री, अशोक फुयाल, सुशान्त कार्की, सारिका घिमिरेलगायतका कलाकारको अभिनय छ । प्रकाश धितालको लेखन, अर्जुन पोखरेलको संगीत निर्देशन रहेको चलचित्रलका छाँयाकार रामेश्वर कार्की हुन् । चलचित्र देशभरबाट सार्वजनिक प्रदर्शनमा आउन लागेको हो ।
‘लभ इन चाइना बोर्डर’लाई दिनेश पाख्रिनले निर्माण गरेका हुन् । पाख्रिन फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रको सुटिङ चीनको बोर्डरमै पुगेर गरिएको निर्माता पाख्रिनले बताए । ‘लभ इन चाइना बोर्डर’ नेपाली फिल्म इतिहासका माइलस्टोन फिल्म ‘कुसुमेरुमाल’, ‘कान्छी’, ‘चिनो’हरूभैँm सफल भई रेकर्ड राख्ने दाबी उनले गरे । चलचित्रलाई सेन्सर बोर्डले पिजी सर्टिफिकेट दिएको छ । चलचित्रको अडियो बुधबार सार्वजनिक गरियो । चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदीलगायतले संयुक्त रूपमा अडियोको विमोचन गरेका थिए ।
चलचित्रका गीतमा राजेश पायल राई, दीपक लिम्बू, बिनिता रसाइली, मनिषा पोखरेल र मौसमी गुरुङ आदिको स्वर छ । दीपक रमणको संगीत रहेको फिल्मका गीतकारमा डब्बु क्षत्री, नरेश भट्टराई, दयाराम दाहाल र निर्देशक उदय स्वयं छन् । कार्यक्रममा सिरिसिरी डाँडैमा, मैले ढाटेको होइन र यो पहाड यो हिमाल बोलका गीतको भिडियो र प्रोमोसमेत प्रदर्शन गरिएको थियो । सुवास मेचे, जेनिशा केसी, दीपक क्षेत्री, सुनील थापा, रोहितकुमार र निर्देशक उदय स्वयं प्रमुख भूमिकामा छन् ।
त्यस्तै आजैबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कथा’ ६ वटा टर्च लाइटको प्रयोग गरेर प्रयोगात्मक रूपमा खिँचिएको चलचित्र हो । सौगात मल्ल र अभिनेत्री उषा रजक चलचित्रमा मुख्य भूमिकामा छन् । चलचित्रको १४ दिनसम्म सिक्किममा सुटिङ गरिएका बिहीबार राजधानीमा आयोजित कार्यक्रममा जानकारी गराइयो । चलचित्र राजधानीमा केही मल्टिप्लेक्स सिनेमा भवनमा मात्र लाग्दै छ । दर्शकको प्रतिक्रिया हेरेर अन्य स्टेसनमा रिलिज गर्ने निर्माण पक्षले जानकारी गराएको छ । ३५ लाख भारतीय मूल्य खर्चेर निर्माण गरिएको यस चलचित्रबाट उषा रजत केही समयपछि चलचित्रमा फेरि देखिँदै छिन् । चलचित्रको प्रचार/प्रसारका लागि आफू किर्गिजस्थानबाट नेपाल आएको रजतले कार्यक्रममा जानकारी गराइन् । विदेशी नागरीकसँग प्रेम विवाह गरेर त्यहाँ रहँदै आएकी रजकले नेपाली चलचित्र अभिनय गर्ने चाहना आफूमा रहेको बताउँदै भनिन् म विदेशी मुलुकमा विवाहका कारणले रहे पनि नेपाली चलचित्रमा अभिनय गर्ने चाहना मेरो छ । चलचित्रलाई निर्देशक प्रशान्तले नै निर्माण गरेका हुन् । चलचित्रमा सौगात र उषाको प्रेमकथालाई रोमाञ्चक तरिकाले प्रस्तुत गरिएको छ । ड्रिमस्ट्रिम इन्टरटेन्मेन्टको व्यानरमा निर्मित चलचित्र कथाका छायाँकार शैलेन्द्रध्वज कार्की रहेका छन् । (सौस)

प्रतिक्रिया