बिग्रेको चामल एक वर्षदेखि गोदाममै

chamalजाजरकोट, ९ चैत । अञ्चल कार्यालय नेपालगञ्जको बेवास्ताका कारण नेपाल खाद्य संस्थान जाजरकोट शाखामा गत एक वर्षदेखि बिग्रिएको चामल गोदाममै थन्किएको छ । संस्थानको अञ्चल कार्यालय नेपालगन्जले गत वर्षको वैशाखमा पठाएको दुई सय ३० क्विन्टल चामलमध्ये डेड सय क्विन्टल बढी चामल सदरमुकामस्थित शाखामा थन्किएको छ । २ सय ३० क्विन्टलमध्ये ४५ क्विन्टल चामल अञ्चल कार्यालयले केही समय अघि फिर्ता लिएको थियो ।

बेला–बेलामा खाद्य संकट पर्ने जाजरकोटमा अञ्चल कार्यालयले गत साल पठाएको चामलमध्ये सो चामल गुणस्तरहीन पाइएको छ । उक्त चामल भुलबस जाजरकोट पुगेको अञ्चल कार्यालयलाई उद्धृत गर्दै खाद्य संस्थान जाजरकोटका निमित्त प्रमुख रामप्रसाद पौडेलले जानकारी दिए । ‘अञ्चलमा बुझ््दा भुल भएर आएको जानकारी आएको छ’ पौडेलले भने, ‘फिर्ता गर्ने प्रक्रियामा छौँ’ ।
अञ्चल कार्यालयले ट्रक नपठाउँदा समस्या परेको कार्यालयले जनाएको छ । चामल गुणस्तरीय नभएको समाचार बाहिर आएपछि खाद्य अनुगमन तथा गुण नियन्त्रण कार्यालयको अनुगमन टोली केहीसमयअघि जाजरकोट आएको थियो । उक्त टोलीले चामल गुणस्तर नभएको भन्दै फिर्ता गर्न सिफारिश गरेको थियो । तर, संस्थानको शाखाले भने सो चामललाई नेपालगन्ज पठाएपछि पुन: प्रयोगमा ल्याउन सकिने दाबी गरेको छ ।
‘नस्ट गर्ने खालको भए हामी यतै नस्ट गथ्र्यौं’, निमित्त कार्यालय प्रमुख पौडेलले भने, ‘यसलाई शुद्धिकरण गरेर पुन: प्रयोग ल्याउन सकिने भएकाले नै अञ्चलमा पठाउन लागिएको हो’,
यसैबीच, खाद्य संस्थान जाजरकोटले जिल्लाका चार वटा डिपोबाट एक हजार एक सय ८२ क्विन्टल चामल वितरण गरेको छ । खाद्यान्न अभाव भएका भगवती, रग्दा, खगेनकोट, लहँ, नायकवाडा, रोकायगाउँ, लिम्सा, सक्ला, ढिमे, दह, पजारु, कोर्ताङ, गर्खाकोट, दशेरा, सीमा, जुंगाथापाचौर, अर्छानी, टालेगाउँ, थालारैकर, पैँक, झाप्रालगायतका गाविसलाई मध्यनजर गर्दै संस्थानले रग्दाको चौखा डिपोबाट तीन सय ७०, नायकवाडाको घाट डिपोबाट तीन सय ५२, दशेरा डिपोबाट दुई सय ५० र पजारुको घोडी डिपोबाट दुई सय क्वीन्ट चालम वितरण गरेको हो ।

प्रतिक्रिया