सामाजिक सुरक्षा भत्ताको ४६ लाख जोगियो

दोलखा, ९ चैत । सामाजिक सुरक्षा भत्ताअन्तर्गत दुरुपयोग हुँदै आएको ४६ लाख ६१ हजार रुपियाँ यस वर्ष सफ्टवेयरका कारण बचेको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई वैज्ञानिकीकरण गर्दै सफ्टवेयरमार्फत व्यवस्थित गरेपछि एक वर्षमा त्यति रकम जोगिएको हो ।

‘वैज्ञानिक पद्धति’ लागू नभएका बेला १० वर्षअघि नै मृत्यु भइसकेका व्यक्तिको नाममा पनि भत्ता लिइरहेको पाइएको थियो । बसाइँ सरेकाको नामबाट भत्ताबापतको रकम खर्च भइरहेको थियो । श्रीमान् ज्युँदो हुनेले पनि एकल महिला भन्दै भत्ता लिइरहेको तथ्यसमेत खुलेको थियो । फोटोसहितको परिचयपत्र र भर्पाई प्रक्रियालाई व्यवस्थित गरेपछि प्रमाण नपुगेका र मृत्यु भइसकेका व्यत्तिmको रकम राज्यकोषमा फिर्ता भएको छ । जिल्लाको ५१ गाविस र एक नगरपालिकाबाट वितरण हुने सामाजिक सुरक्षा भत्ताको रकम दुरुपयोग भएको विषयमा खारेका युवाले प्रमाणसहित विरोध जनाएपछि जिविसले यो कार्यलाई व्यवस्थित गर्न थालेको हो । यस वर्षको जिल्ला परिषद्मा सार्वजनिक नीति तथा कार्यक्रममा सफ्टवेयर लागू गरेपछि जिविसले भ्रष्टाचार रोक्ने कार्यमा ठूलो उपलब्धि हात पारेको उल्लेख छ ।
सफ्टवेयरको विकास गरी विवरणलाई चुस्त–दुरुस्त बनाएर भ्रष्टाचार रोक्ने कार्यमा सक्रिय जिविसका कर्मचारी मधुसूदन आचार्यलाई पुरस्कृतसमेत गरिएको छ । नीति तथा कार्यक्रममा एकल महिलाको सबै गाविसको विवरणलाई व्यवस्थित गरिसकेको जनाइएको छ । ज्येष्ठ नागरिकसम्बन्धी फोटोसहितको परिचयत्र बनाउने कार्य सकिएको उल्लेख छ । जिल्लाको झुले, जिरी र काब्रे गाविस आफैँले सफ्टवेयर बनाएर लागू गर्ने योजनासमेत बनाएका छन् । गाविस सचिवहरूले पत्ता लगाउन नसकेको मृत्यु भइसकेका, बसाइँ सरेका र दोहोरो नाम परेका व्यक्तिको नामावली सफ्टवेयरले काटिदिएपछि रकम दुरुपयोग रोकिएको एलडिओ टुवराज पोखरेलले बताए ।

प्रतिक्रिया