भैरहवा भन्सारमा प्रशासनको चासो

bhairahwa-customभैरहवा, ८ चैत । भैरहवा भन्सार कार्यलयमा भएको अनियमितता तथा लापरबाहीको सम्बन्धमा जिल्ला प्रशासन कार्यलयले चासो देखाएको छ । दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको, सरुवा भएर पनि कर्मचारी भन्सारमै कार्यरत रहेको, लिलाम हुनुपर्ने सवारीसाधन समयमै लिलाम नभएको तथा सेवाग्राहीसँग भन्सार कर्मचारीले अनियमित रूपमा पैसा उठाएको सम्बन्धमा समाचार प्रकाशनमा आएपछि प्रशासनले चासो व्यक्त गरेको हो ।

स्थानीय प्रशासनले भन्सार प्रमुखलाई मौखिक रूपमा सोधपुछ गरेको छ । जिल्लाका निमित्त सिडिओ कृष्णप्रसाद खनालले भन्सार प्रमुख कुलराज ज्ञवालीलाई प्रशासनमा बोलाई मौखिक रूपमा भन्सारमा भइरहेको लापरबाही तथा अनियमितता सम्बन्धमा सोधपुछ गरेको बताए ।
भैरहवा भन्सारमा ८६ जना कर्मचारीको दरबन्दी रहेकोमा १ सय २४ जना कार्यरत छन् । जसमध्ये कार्यालय सहयोगीका रूपमा २८ जना हुनुपर्नेमा ५६ जना कार्यरत छन् । त्यसैगरी, प्रत्येक ४/४ महिनामा हुनुपर्ने जफत सवारीसाधनको लिलाम ७ महिनासम्म भएको छैन । यसअघि असोजमा लिलाम भएको थियो । समयमै लिलाम नहुँदा राम्रा कन्डिसनका गाडी घामपानी, माटो तथा झाडी पातपतिंगरले गर्दा काम नलाग्ने भएका छन् । सरुवा भएका कर्मचारी विष्णुदत्त बडु सामन्य प्रशासन मन्त्रालयको पत्रविपरीत सरुवा भएको जिल्ला पशु सेवा कार्यलयमा गएका छैनन् ।
कर्मचारीको अभावका कारण जिल्ला पशु सेवा कार्यलय रूपन्देहीको कामकाज प्रभावित भएको कार्यालय प्रमुख डा. लक्ष्मणबहादुर ढकालले बताएका छन् । पत्रिकामा समाचार प्रकाशित भएपछि अब आउनुपर्ने कर्मचारी आउँछन् कि भन्नेमा कार्यालय आशावादी भएको डा. ढकालले प्रतिक्रिया दिए ।
समाचार प्रकाशित भएपछि कमसेकम प्रशासनले चासो देखाउँदा देशकै दोस्रो ठूलो मानिने भैरहवा भन्सारमा केही प्रशासनिक सुधार हुने आशा गरिएको छ । यता लामो समयदेखि लिलाम नभएका सवारीसाधन लिलाम नभएकोप्रति पनि प्रशासनले चासो देखाएपछि भन्सार प्रशासनले लिलाम गर्ने प्रक्रिया अगाडि सारेको भन्सार स्रोतले जनाएको छ ।

प्रतिक्रिया