कार्की विरुद्ध सर्वोच्चमा रिट दायर

Lokmanshin-Karkiकाठमाडौं, ७ चैत । पूर्व मुख्यसचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त नबनाउन माग गरेर आज सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
अधिवक्ता ओम प्रकाश अर्यालले कार्कीलाई अख्तियारमा नियुक्त नगर्न माग गरेर रिट दायर गरेका हुन् । कार्कीलाई प्रमुख आयुक्त बनाउने प्रमुख चार राजनीतिक शक्तिहरुको निर्णय अन्तरिम संविधान विपरित रहेको रिटमा जिकिर गरिएको छ ।
‘लोकमान सिंह कार्की नियुक्ति सम्बन्धि कामकारवाही जुन अवस्थामा छ सोही अवस्था मै रोक्नु भनी विपक्षीहरुका नाममा सर्वोच्च अदालत नियमावली २०४९ को नियम ४१ बमोजिम तत्काल अन्तरिम आदेश समेत जारी गरी पाऊँ,’ रिटमा भनिएको छ ।
कार्कीलाई उच्चस्तरीय रायमाझी आयोग तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अयोग्य घोषित गरेको पनि रिटमा उल्लेख छ । कार्कीलाई २०६२/०६३ को जनआन्दोलनका दमन गरेको एवं २०५१ सालको सुनतस्करी काण्डमा संलग्न रहेको अभियोग लागेको छ ।

प्रतिक्रिया