सावा च्याम्पियनसिपमा कांस्य विजेता टोलीलाई सम्मान

sportsकाठमाडौं : नेपाल बास्केटबल संघले दोस्रो दक्षिण एसियाली बास्केटबल च्याम्पियनसिप (सावा)मा कांस्य पदक विजेता नेपाली बास्केटबल टोलीलाई सम्मान गरेको छ । बंगलादेशको ढाकामा भएको सावा च्याम्पियनसिपमा तेस्रो भएको नेपाली टोलीलाई संघले ८० हजार रुपियाँ प्रदान गर्‍यो । टोलीलाई नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले पुरस्कार वितरण गरे । अध्यक्ष खनालकै जन्मदिन पारेर कार्यक्रम आयोजना गरिएको थियो ।
उक्त अवसरमा नेपाली बास्केटबल टिममा रहेर योगदान दिएको कदर गर्दै बास्केटबल खेलाडी विपेन्द्र महर्जन र रवीन्द्र महर्जनलाई लाइभ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । दुवै खेलाडीले १० वर्षभन्दा बढी समय राष्ट्रिय टोलीमा रहेर बिताएका छन् । दुवै खेलाडी प्रशिक्षकका रूपमासमेत विभिन्न बास्बेटबल क्लबमा आबद्ध रहेका छन् । संघले यी दुवै खेलाडीलाई १०/१० हजार रुपियाँ प्रदान गरेको हो । त्यसैगरी बास्केटबलका मुख्य प्रशिक्षक दिनेश नकर्मी पनि सम्मानित भए । उनलाई पनि १० हजार रुपियाँ प्रदान गरियो । ढाकामा सम्पन्न सावा च्याम्पियसिपमा सहभागी नेपाली टोलीका सहायक प्रशिक्षक विकास शाहीले पुरस्कार स्वरूप पाएको ८ हजार रुपियाँ कीर्तिपुर बास्केबल संघलाई लिग सञ्चालनका लागि प्रदान गरे ।
सावा च्याम्पियनसिपमा सदिस प्रधानको कप्तानीमा नेपाली टोली सहभागी भएको थियो । सो टोलीमा विक्रम जोशी, सन्जम व्यञ्जनकार, विनोद श्रेष्ठ, राजीव जोशी, युक्ता राम, विनोद महर्जन, सुभत राय उपाध्याय, सुजन पुन, सुशील गुरुङ र परेश श्रेष्ठ रहेका थिए । सो खेलाडी सम्मानका लागि झापा बास्केटबल संघका अध्यक्ष उमेश खतिवडाको विशेष पहल रहेको बताइएको छ । सुनसरी, काठमाडौं र पोखरा संघले सम्मानका लागि सहयोग गरेका थिए ।
सो अवसरमा इटलीमा भएको थ्री अन थ्री युथ विश्वच्याम्पियनसिप र ग्रिसमा भएको थ्री अन थ्री महिला विश्वच्याम्पियनसिपमा सहभागी पुरुष तथा महिला राष्ट्रिय खेलाडीलाई पनि सम्मान गरियो । थ्री अन थ्री युथ विश्वच्याम्पियसिपमा विजय विराज, र्नोबु लामा, मनीष तामाङ, सुजन पुन रहेका थिए । प्रमुख प्रशिक्षक दिनेश नकर्मी सो टोलीमा थिए । त्यसैगरी ग्रिसमा भएको महिला विश्वच्याम्पियनसिपमा सदिना श्रेष्ठ, स्नेहा श्रेष्ठ, समीक्षा विष्ट, इउहाभा सिंह रहेका थिए । महिला टोलीका प्रशिक्षक विकास शाहीले टोलीको नेतृत्व गरेका थिए ।
संघको स्वायत्ततामाथि हस्तक्षेप भयो
नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले खेलकुदमा भएको लगानी सदुपयोग हुन नसकेको आरोप लगाएका छन् । उनले खेलकुद क्षेत्रलाई निजी हितका लागि प्रयोग गर्न खोजेकोसमेत आरोप लगाए । अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटीका महासचिव जीवनराम श्रेष्ठले
खेलकुद संघको स्वायत्ततामाथि राष्ट्रिय खेलकुद परिषद्ले हस्तक्षेप गरेको आरोप लगाउँदै तत्काल बन्द गर्न चेतावनी दिए । उनले ओलम्पिक सरकारसँग समन्वय गरेर अगाडि बढ्न चोहेको बताउँदै भने खेलकुद ऐन नियम परिवर्तन गर्नुपर्नेमा जोड दिए । नेपाल बास्केबल संघका अध्यक्ष लामा टेन्डी शेर्पाले खेलकुद परिषद्मा लगानीको नीति नभएका कारण जथाभावी लगानी भएको आरोप लगाए । कार्यक्रममा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेल, अन्तर्राष्ट्रिय मान्यता नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्र विक्रम लाखे, युवा संघका अध्यक्ष महेश बस्नेत, नेपाल बास्केटबल संघका उपाध्यक्ष नरेन्द्र थापालगायतले मन्तव्य व्यक्त गरेका थिए । (सौस)

प्रतिक्रिया