एमालेद्वारा लोकमानसिंह कार्कीको विरोध

UML 1काठमाडौं, ६ चैत । नेकपा (एमाले)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने तयारीको विरोध गरेको छ ।
एमालेले मंगलबार विज्ञप्ति जारी गरेर पूर्व मुख्य सचिव कार्कीको नियुक्तिप्रति आपत्ति जनाएको हो । ‘राजनैतिक समितिको सिफारिसका आधारमा लामो समयदेखि रिक्त अख्तियारको प्रमुखमा लोकमानसिंह कार्कीको नियुक्तिको निर्णय सार्वजनिक भएको विषयप्रति गम्भीर ध्यानाकर्षण भएको छ ।’
एमालेले मुलुकमा व्याप्त भ्रष्टाचार तथा अनियमिततालाई रोक्न प्रभावकारी भूमिका खेल्नुपर्ने अख्तियारजस्तो महत्वपूर्ण र सम्वेदनशील संवैधानिक निकायमा कार्कीको नियुक्ति उचित नहुने जनाएको छ ।
‘विगतमा उच्चस्तरीय जाँचबुझ आयोग र अख्तियारले समेत दोषि मात्र होइन, अयोग्य समेत ठह¥याएको कार्कीजस्ता व्यक्तिलाई बिना विश्लेषण नियुक्ति गर्न राजनीतिक दलका नेताहरुले सिफारिस गर्नु ज्यादै दुःखद र गैह्र–जिम्मेवार कार्य हो,’ विज्ञप्तिमा उल्लेख छ ।
‘सबैलाई थाहा छ, लोकमानसिंह कार्की शान्तिपूर्ण जन–आन्दोलनको बेला सत्ता, शक्ति र पदको चरम दुरुपयोग गरी गणतन्त्र प्राप्तिको ऐतिहासिक आन्दोलनलाई दमन गर्न बदनामी कमाएका दमनकारी व्यक्तिमध्येका हुन्,’ विज्ञप्तिमा अगाडि भएको छ, ‘संवैधानिक निकायजस्तो महत्वपूर्ण विषयमा कुनै विचार विमर्श वा सम्बन्धित व्यक्तिको पृष्ठभूमिको समेत वास्ता गरेर भ्रष्ट तत्वहरुलाई प्रोत्साहन गर्ने लोकतन्त्र विरोधी कार्य हो भन्ने ठहर गर्दछ ।’
यसैबीच, एमालेको अनुशासन आयोगले कार्कीलाई अख्तियारको प्रमुखमा नियुक्त गर्न लागिएको विषयमा अध्यक्ष झलनाथ खनालको ध्यानाकर्षण गरिएको जनाएको छ ।
एमालेले अख्तियार प्रमुखमा कार्कीको नाम सिफारिस गर्ने गलत निर्णय अविलम्ब फिर्ता गर्न माग पनि गरेको छ ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको सिफारिसमा कार्की अख्तियार प्रमुखमा नियुक्त हुने अन्तिम तयारीमा छन् ।

प्रतिक्रिया