महादेव कटुवाललाई कयाक उपाधि

काठमाडौं : प्रथम पर्वतीय खेलकुद महोत्सवअन्तर्गत पोखराको फेवातालमा आयोजित फ्ल्याट वाटर कयाक च्याम्पियनसिपको उपाधि गोरखाका महादेव कटुवालले जितेका छन् । १ हजार ४ सय मिटरको दूरी उनले ११ मिनट ४८.८९ सेकेन्डमा पूरा गरे । उनलाई पछ्याइरहेका कास्कीका विभिन गुरुङले उक्त दूरी ११ मिनेट ५१.३० सेकेन्डमा पूरा गरे । तेस्रो स्थान तनहुँका सोमबहादुर मगरले प्राप्त गरे । उनले निर्धारित दूरी ११ मिनेट ५६.५८ सेकेन्डका साथ पूरा गरेको प्रतियोगिता आयोजक नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष मनबहादुर न्यौपानेले जनाएका छन् ।
विजेताले एभरेस्ट अवार्डसहित २० हजार रुपियाँ प्राप्त गरे । दोस्रोले लुम्बिनी अवार्डका साथै १० हजार रुपियाँ पाए । तेस्रोले अन्नपूर्ण अवार्डका साथै ५ हजार रुपियाँ पाए । प्रतियोगितामा चौथो स्थान भविराज गुरुङले प्राप्त गरे । उनले सान्त्वना पुरस्कारसहित १ हजार रुपियाँ पाए । पाँचौ स्थान हासिल पाउने बुद्धिबहादुर परियारले ५ सय रुपियाँ पाए ।
दुई दिने प्रतियोगितामा नेपाली सेना, नेपाल प्रहरी, एपिएफ र अन्य गरी ८० जनाले सहभागिता रहेको थियो । (सौस)

प्रतिक्रिया