बैँसका रहर अहिले पूरा गर्दै छौँ

म झापामा पार्टी काममा सक्रिय भइरहेको थिएँ । ०२७ सालमा उनीसँग त्यहीँ भेट भयो । सीता खड्काका नामले चिनिन्थिन् उनी । पहिलोचोटि देख्दा भर्खरकी केटी थिइन् । जुझारू अनि मेहनती स्वभावकी उनी विद्यार्थी संगठनमा आबद्ध थिइन् । पार्टीका हरेक कुरा बुझ्न सक्ने अनि पार्टीको निर्देशन शिरोधार्य गर्ने बफादार र आँटिली महिलाका रूपमा उनलाई चिनेको थिएँ । उतिबेला पार्टीमा महिला कार्यकर्ता धेरै थिएनन् । त्यसमाथि महिला भूमिगत हुने कुरा चानचुने थिएन ।

‘सीता’ उनको भूमिगत नाम हो । वास्तविक नामचाहिँ नीलम केसी । पार्टीकाममा प्रायजसो भेट भइरहने गरे पनि उनीसँगै मेरो बिहे होला भन्ने रत्तिभर सोचेको थिइनँ । कालान्तरमा उनै पो मेरी जीवनसंगिनी बनिन् । म विद्यार्थी संगठनको नेता थिएँ, मेची क्याम्पसमा स्ववियु गठन गर्न सक्रिय थिएँ । उनी पनि विद्यार्थी संगठनमा थिइन् तर स्कुले विद्यार्थी ।
म भूमिगत भइसकेपछि पनि पार्टीकामका सिलसिलामा हाम्रो भेट भइरहन्थ्यो । म बिहे गर्ने उमेरको भइसकेको थिएँ तर गरिसकेको थिइनँ । बारम्बारको भेटपछि म उनीप्रति आकर्षित हुन थालेँ । सोचेँ– ‘यत्तिकी केटी जीवनसाथी पाए जीवन राम्रो चल्छ, हाम्रो विचार दृष्टिकोण पनि मिल्छ, एकअर्कालाई सजिलो नै हुन्छ ।’ उमेरभन्दा पनि अनुभव र विचारका हिसाबले परिपक्व थिइन् उनी ।
म भित्रभित्र उनलाई मनमा सजाउन थालेको थिएँ । त्यति नै बेला राधाकृष्ण मैनालीलगायत नेताहरूसँगै उनलाई पनि पुलिसले गिरफ्तार गर्‍यो । केही समय राखेपछि उनलाई चाहिँ नाबालिग भनेर छोडिदिएछ । त्यसपछि उनी फेरि पार्टी काममै सक्रिय भइन् । अब हाम्रो भेट झन् बाक्लिँदै गयो । जे त पर्ला भनेर एक दिन मौका मिलाउँदै प्रस्ताव पनि राखिहालेँ– ‘हामी बिहे गरौँ, तपाईंको के विचार छ ?’ उनले केही दिनलाई समय मागिन्– ‘म विचार गर्छु ।’ म उनको सकारात्मक जवाफको प्रतीक्षामा थिए । नभन्दै केही समयपछि मैले आशा गरेजस्तै भयो । उनले सहमति जनाइन्– ‘ठीकै छ, म तपाईंको प्रस्तावमा सहमत छु ।’
उनको जवाफ आएको तीन दिनपछि मैले पार्टीका साथीहरूलाई हाम्रो बिहे गर्ने योजना सुनाएँ । जेलमा रहेका आरकेलगायत नेताहरूसम्म पनि कुरा पुग्यो । सबैतिरबाट अनुमतिसहित सकारात्मक प्रतिक्रिया आयो । हामी झापामा बस्थ्यौँ । म सधैँ पार्टी सेल्टरमा बस्थेँ । सेल्टरमै करिब पन्ध्र जना साथीका बीच हाम्रो बिहे भयो । मेरो परिवारमा आमाबुबाबाहेक सबै राजनीतिमै थियौँ । बिहेमा मेरा दुई भाइ उपस्थित थिए । बिहेका सामान्य सामग्री पार्टीले नै व्यवस्थापन गरिदिएको थियो । बिहेमा मैले उनलाई दिएको भनेको एकजोर कपडा मात्रै हो । एकआपसमा टीका र माला पहिर्‍याएर विधिवत् रूपमा एकअर्कालाई जीवनसाथी बनायौं ।
जुन अवस्थामा हामीले बिहे गर्‍यौँ, त्यो सामान्य थिएन । तर, आफूले चिने/जानेको र विचार मिल्ने जीवनसाथी पाएका थियौँ । हाम्रा लागि त्यो धेरै ठूलो र आनन्दको कुरा थियो । बिहेमा न बाजा थिए, न भोजभतेर–गरगहना, न त रंगीचंगी ध्वजापताका । हामीलाई झापाली भन्थे, अनि झापाली क्रान्तिकारीका रूपमा चिनिन्थे । रूढीवादी परम्परा र सस्कृतिका विरोधी । अहिले पनि लाग्छ– उतिबेला जे गर्‍यौँ धेरै गर्‍यौँ । संस्कृतिका नाममा रहेका रूढीवादी र अनावश्यक कुरा छोड्नुपर्छ, राम्रा कुराले मात्रै निरन्तरता पाउनुपर्छ भन्ने हाम्रो मान्यता हुन्थ्यो ।
बिहेअघि हामीबीच प्रेम पनि नचलेको होइन । तर, ती दिनमा न उपहार आदानप्रदान भयो न त घुम्न वा सिनेमा हेर्न जाने अवस्था थियो । दुवै भूमिगत थियौँ । हाम्रो प्रेम र जीवन त्यति बेलाको राजनीतिजस्तै उतरचढाबको बीचमा थियो । लुकीलुकी चल्थ्यो हाम्रो प्रेम पनि ।
बिहेपछि तीन–चार दिन हामी सँगै बस्यौँ । त्यसपछि उनलाई पार्टीले धनुषामा खटायो । म झापामै बसेँ । ५/६ महिनापछि मलाई पुलिसले गिरफ्तार गर्‍यो । उनी मलाई जेलमा भेट्न आउन सम्भवै थिएन । उनका नाममा पनि वारेन्ट जारी भएको थियो । जेलमा बसेर सोच्थेँ– ‘सीताको ठाउँमा राजनीतिक चेतना नभएकी महिलासँग बिहे गरेको भए आज जीवन कति गाह्रो हुन्थ्यो होला ।’ जति चित्त बुझाए पनि जेलमा उनको सम्झना निकै आउँथ्यो । त्यो मानवीय स्वभावै हो । बिहे हुँदा म चौबीस वर्षको थिएँ, उनी सोह्र वर्षकी । दुवै युवा भएकाले मानवीय रूपमा कतिपय चाहना हुनु स्वाभाविकै हो ।
हामीबीच भेट साह्रै कम हुन्थ्यो पछि त । कुनैकुनै बेला पार्टी कामको सन्दर्भमा मात्र । खबर पनि कमै आदानप्रदान हुन्थ्यो । अहिलेजस्तो सञ्चारसुविधा थिएन । असुरक्षाका कारण जताततै सहजै हिँडडुल गर्ने अवस्था पनि थिएन । कहिलेकाहीँ पत्रमार्फत एकअर्काका भावना आदानप्रदान गथ्र्यौं । हाम्रो मुख्य कर्म राजनीति थियो, त्यसैले वैयक्तिक कुरातिर सोच्ने फुर्सद उति पाइएन पनि ।
उस्तै राजनीतिक विचार भएकाहरूबीच बिहे हुँदा एकअर्काप्रति सहयोग र सद्भाव अझ बढ्छ । यदि, हाम्रो विचार र चिन्तन नमिल्दो हो त काममा बाधाअड्चन उत्पन्न हुन्थे होलान् । नेताकी पत्नी भएकै कारण कतिपय अवस्थामा नारीले विभिन्न त्याग गर्नुपर्ने हुन्छ । आपैँmभित्रको क्षमतालाई कुण्ठित गर्नुपर्ने, अवसरबाट वञ्चित हुनुपर्ने पनि हुन सक्छ । तर, त्यो पनि एकअर्काप्रतिको समझदारी, सहयोग र सद्भाव नै हो । सीताको हकमा पनि त्यो अवस्था धेरै पटक आयो । उनका थोरै उपलब्धिमा पनि मान्छेले कुरा उठाए, आज पनि यो कायमै छ ।
बाहिर हाम्रा बारेमा धेरै कुरा आउने गर्छन् । कतिले भन्छन्– ‘सिपीका कारण सीताले धेरै अवसर पाइन् ।’ अनि सिपीकै कारण सीता छायामा परिन् भन्ने पनि थुप्रै छन् । यस्ता कुरालाई सामान्य रूपमा ग्रहण गर्छौं हामी । जे भए नि हामीबीच एकअर्कालाई बुझ्ने र सहयोग गर्ने मामिलामा कुनै कमी भएको छैन । मेरो सफलता भनौँ वा उद्देश्यप्राप्तिमा उनले गरेको त्यागको ठूलो भूमिका छ । नेताको परिवारको सदस्य भएका कारण जस–अपजसको भागीदार त हुनुपर्छ नै । हरेक अप्ठ्याराहरूमा उनको साथै पाएको छु मैले त सधैँभरि । तर, जुन संघर्षसाथ उनी आन्दोलनमा लागेकी थिइन्, तुलनात्मक रूपमा उनले अवसरहरूबाटचाहिँ वञ्चित हुनुपरेको देख्छु ।
जेलमा हुँदा सधैँभरि त्यहाँबाट उम्कने योजना सोचेर बसियो । जेल प्रशासनलाई कसरी नियन्त्रण गर्ने, कसरी निस्कने भन्ने योजना बुन्दैमा बित्थ्यो समय । एक प्रकारले हामी सधैँ अन्तद्र्वन्द्वमा थियौँ । भर्खर बिहे भएको युवा । महिनौँदेखि श्रीमतीसँग भेट भएको थिएन । न्यास्रो लाग्थ्यो । तर, राजनीतिक उद्देश्य सम्झिएपछि वैयक्तिक कुरा गौण हुन थाल्थे । जेलबाट फुत्किने उपाय बनाउँदाबनाउँदै निजी जीवन छायामा पथ्र्यो ।
धेरै राजनीतिकर्मीको गैरराजनीतिक मान्छेसँग बिहे भएको छ र परिवार चलेकै छ । तर, विचार र भावना मिल्दा जीवनयात्रा अझ सरल र सहज हुन्छ । केही अप्ठ्यारा यहाँ पनि भएका होइनन् । कहिलेकाहीँ दुवै पार्टीकाममा हिँड्नुपर्दा घरपरिवारलाई समय दिन पाइँदैन । दुवैले घर छोड्नुपर्ने भइदिन्छ । कुनै–कुनै बेला परिस्थितिवश त्यो अभाव खट्किएजस्तो लाग्छ ।
म वाणिज्यमन्त्री हुँदा निकटतम केही साथीहरूको प्रस्तावमा उनलाई आयल निगमको सदस्य बनाएँ । त्यो विषयलाई लिएर धेरैले हाम्राबारे अनावश्यक चर्चा गरे । संविधानसभामा समानुपातिक रूपमा उनलाई सदस्य बनाइयो । त्यस बेला पनि ‘सिपीका श्रीमान्/श्रीमती नै सभासद्’ भनेर अनावश्यक उछितो काढ्न बाँकी राखेनन् थुप्रैले । तर, बुझ्नुपर्ने के हो भने सीता खड्का मेरी श्रीमती मात्र होइनन्, ०२७ सालदेखि मुलुकको परिवर्तनका लागि घर छाडेर हिँडेकी राजनीतिकर्मी पनि हुन् । मेरी श्रीमती भएका नाममा उनले सधैँ त्याग गर्नुपर्छ भन्ने होइन । संघर्षका तुलनामा उनले जति पाउनुपथ्र्यो, पाइनन् । कहिलेकाहीँ यस्तो सोच्छु– ‘एउटै विचार र सिद्धान्त बोकेको व्यक्तिसँग बिहे गरेकै कारण उनी अवसरबाट वञ्चित भइन्, उनीमाथि अन्याय भयो ।’
०४७ सालपछि मात्र हामी स्थायी रूपमा सँगै बस्न थालेका हौँ । ०३४ मा छोरी र ०३७ मा छोरा जन्मिए । त्यति बेला मैले चाहेजति समय दिन सकिनँ । हाम्रो वैवाहिक जीवनमा सामान्य गुनासाबाहेक अरू केही अप्ठ्यारा छैनन् । बिहेमा उनलाई केही दिन पाइनँ, यसमा उनको कुनै माग वा गुनासो पनि छैन । ०४७ पछि विदेश जाँदा औँठी र नेकलेस ल्याइदिएँ । उनी पनि विदेश जाँदा उपहार ल्याइदिन्छिन् । युवा बेलामा अधुरै रहेका कतिपय रहर अहिले पूरा गर्दै छौँ ।
प्रस्तुति : चमिना भट्टराई

प्रतिक्रिया