सिरियाली अस्त्रभण्डार विद्रोहीको कब्जामा

बेरुत : सिरियाको आलेप्पो प्रान्तमा रहेको सरकारी अस्त्रभण्डारमा त्यहाँका विद्रोहीले कब्जा जमाएका छन् । आलेप्पो प्रान्तमा चार दिनसम्म सरकारी सैनिक र विद्रोहीबीचको भीषण भिडन्त भएपछि अस्त्रभण्डार विद्रोहीको कब्जामा गएको विद्रोही सैनिक स्रोतले जनाएको छ ।
सिरियाको दक्षिणी भेगमा पर्ने आलेप्पो प्रान्तको खान तोमान गाउँमा रहेको अस्त्रभण्डारमा विद्रोहीले कब्जा जमाएका हुन् । हतियार कब्जा भएको ‘सिरियन अब्जरभेटरी फर ह्युुमन राइट्स’ले पनि पुष्टि गरेको छ ।
सिरियाली राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गर्न भन्दै आरम्भ भएको आन्दोलन तथा सशस्त्र विद्रोह गत शुक्रबारदेखि तीन वर्षमा प्रवेश गरेको छ । यस क्रममा ७० हजारभन्दा बढीले ज्यान गुमाएको मानव अधिकारवादीले जनाएका छन् । साथै कैयौँ सिरियाली जनताले छिमेकी मुलुकमा आश्रय लिएका छन् । यसरी विदेशी भूमिमा शरण खोज्दै जाने शरणार्थीको संख्या प्रतिदिन बढिरहेको बताइएको छ । राष्ट्रपति असदको राजीनामा माग्दै सुरु भएको सो आन्दोलन तीन वर्षमा प्रवेश गरिसक्दा पनि यसको शान्तिपूर्ण समाधानको उपाय निस्कन सकेको छैन ।
अन्तर्राष्ट्रिय समुदायले सिरियाली राष्ट्रपति असदलाई विद्रोहीको माग सुनुवाइ गर्न दबाब दिँदै आएका छन् । तर, असदले भने यस विषयमा विपक्षीसँग वार्ता गर्न आफू तयार रहे पनि यसका निम्ती कुनै पूर्वशर्त तेर्साउन नहुने प्रस्ट पार्दै आएका छन् । साथै उनले विपक्षीले हतियार नत्यागेसम्म वार्ता नहुने समेत जनाएका छन् । गत महिना एक पत्रिकारसँगको अन्तवार्तामा उनले हतियारसहित आत्मसमर्पण गर्ने विद्रोहीसँग मात्र वार्ता गर्न सिरियाली सत्ता तयार रहेको बताएका थिए । मुलुकविरुद्ध लाग्ने राष्ट्रघाती तथा आतंकवादीसँग समेत वार्ता नगरिने उनले प्रष्ट पारेका थिए । (एजेन्सी)

प्रतिक्रिया