निर्वाचन आयोगद्वारा ७ अर्ब माग

काठमाडौं, ५ चैत । निर्वाचन आयोगले चुनावको तयारीका लागि सरकारसित ७ अर्ब रुपियाँ माग गरेको छ । आयोगका सचिवसहितको टोलीले आइतबार चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई भेटेर यस्तो माग गरेको हो ।

‘चुनावको तयारी गर्न हामीले ७ अर्ब रुपियाँ मागेका छौँ,’ मन्त्रिपरिषद् अध्यक्ष रेग्मीसितको भेटपछि आयोगका प्रवक्ता अनिलकुमार ठाकुरले भने । आगामी असारको पहिलो साता चुनाव गर्न आयोग सक्षम रहेको जानकारी गराउँदै आयोग टोलीले त्यसको आवश्यक तयारी गर्न तत्काल बजेट निकास गर्न माग गरेका थिए ।
मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले चुनाव प्रक्रियाको प्राविधिक वातावरण तयार गर्न आयोगका कर्मचारीलाई निर्देशन दिएका थिए । आयोग टोलीले चुनावको तयारीका बारेमा रेग्मीलाई जानकारी गराएको थियो ।
चुनावको तयारीका लागि सरकार तथा राजनीतिक दलका नेता/कार्यकर्ताको पूर्णसमर्थन चाहिने भन्दै आयोग टोलीले रेग्मीको ध्यानाकर्षण गराएको थियो । जवाफमा रेग्मीले दलीय सहमतिको वातावरण बनाउन प्रयास भइरहेको बताएका थिए ।
आयोगले बजेटसँगै कर्मचारी, मतदाता नामावली संकलनमा दलहरूको सहयोगको पनि माग गरेको छ । दलका नेताहरूले सहयोग गरे वैशाख दोस्रो सातासम्म मतदाता नामावली संकलन गरिसक्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया