सुरुमै उपचार गरे एचआइभी नियन्त्रण हुने

hiv_virusसंक्रमणको सुरुआतमै उपचार प्रक्रिया थाल्ने हो भने एचआइभी नियन्त्रित गर्न सकिने अनुसन्धानकर्ताले बताएका छन् । फ्रान्सेली अनुसन्धाताहरूको टोलीले यो तथ्य पत्ता लगाएको हो ।
टोलीले सुरुआतदेखि नै औषधि सेवन गरेर पछि छोडेका १४ एचआइभी संक्रमितको स्वास्थ्यावस्था अध्ययन गरेर यो निचोड निकालेको छ । ती व्यक्तिमा अहिले एचआई विषाणु थप सक्रिय नभएको पाइएको हो । यसअघि प्रारम्भिक चरणदेखि नै उपचार गरिएकी एक एचआइभी पीडित बालिका पूर्ण रूपले ठीक भएको तथ्य सार्वजनिक भएको थियो । यद्यपि अधिकांश मामिलामा विषाणुले पूरै शरीरलाई कमजोर बनाइसकेपछि मात्रै एचआइभी भएको पत्तो लाग्ने गरेको छ ।
अनुसन्धाताले एचआइभी संक्रमितहरूको उक्त समूहलाई ‘विस्कटी कोहर्ट’ नाम दिएका छन्, जसले संक्रमित भएको दश हप्ताभित्रै उपचारप्रक्रिया सुरु गरेका थिए । औसतमा तीन वर्ष एन्टिरेट्रोवाइरल ड्रग्स लिएपछि उनीहरूले औषधि खान बन्द गरेका थिए । औषधिले एचआइभीको प्रसारलाई रोक्न मात्र सक्ने तर प्रतिरोधप्रणालीमा लुकेर बसेका विषाणुलाई पूरै खत्तम गर्न भने नसक्ने पनि वैज्ञानिकले प्रस्ट्याएका छन् । कुनैकुनै अवस्थामा औषधि खान बन्द गरेपछि विषाणु फेरि सलबलाउन सुरु गरेको पनि नभेटिएको होइन । यद्यपि ‘विस्कटी कोहर्ट’ का सहभागीहरूमा भने यस्तो भएको पाइएन । उनीहरूमध्ये कति जना एचआइभी जीवाणुलाई दशौं वर्षसम्म नियन्त्रण गर्न सफल रहेका पाइयो । (एजेन्सी)

प्रतिक्रिया