प्रतिफलमुखी र प्रविधियुक्त बन्दै कोष

Rishiram-Gautamकाठमाडौ,४ चैत । वित्तीय क्षेत्रमा लामो अनुभव सँगालेका व्यक्तिका रूपमा पर्छन ऋषिराम गौतम । वित्तीय क्षेत्रमा लामो अनुभव र अनवरत समर्पणले उनलाई वित्तीय क्षेत्रका ऊर्जाशील र सकारात्मक सोचधारी व्यक्तित्वका रूपमा उभ्याएको छ । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तथा बेलायतबाट एमबिए कोर्स उत्तीर्ण गरेका गौतमले लामो समय राष्ट्र बैंकमा रहेर आफ्नो व्यावसायिकतालाई अझ उच्च पारे । गौतमले वित्तीय क्षेत्रका समस्या, चुनौती अनि अप्ठ्यारालाई नजिकबाट नियालेका छन् । यो लामो अनुभवले दिलाएको क्षमतालाई चार वर्ष अघि देखि कार्यकारी निर्देशक भएर नागरिक लगानीकोषमा लगाइरहेका छन् । चार वर्षअघि खुला प्रतिस्पर्धामार्फत आएका गौतमले कोषलाई अहिलेको अवस्थामा ल्याएका हुन् ।

०६९ पुस मसान्तसम्म कोषको कुल लगानी ३४ अर्ब ५२ करोड रुपियाँ पुगेको छ । यो उनकै कार्यकालको देन हो । कोषको लगानीको दायरा फराकिलो हुँदै छ । निक्षेप राख्ने र त्यसको ब्याज मात्रै लिएर बस्ने वर्षौदेखिको न्यून लाभकारी प्रवृत्तिलाई गौतमले परिवर्तन गरेका छन् । मुलुकको आर्थिक विकासलाई योगदान पुग्ने गरी दीर्घकालीन पुँजी निर्माणका आयोजनामा लगानी प्रवाह गराउन उनले ठूलो प्रयास गरेका छन् । कोषको लगानी रकमलाई हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरूमा कुल रकमको ४७ दशमलव ६० प्रतिशत रहेको छ । त्यसैगरी सरकारको ऋणपत्र र समयकालीन कर्जामा क्रमश: ९ दशमलव ४८ र २० दशमलव २० प्रतिशत लगानी रहेको छ । अन्य संगठित संस्थाको सेयर/डिवेञ्चरमा कुल लगानीको ९ प्रतिशत र कोषले सञ्चालन गरेका कार्यक्रमका सहभागीलाई कुल लगानीको १३ दशमलव ८२ प्रतिशत लगानी गरेको अवस्था बिद्यमान छ ।
यो सँगै कोषले पूर्वाधार विकास, कृषि, ऊर्जा, वन्यजन्तु, खनिज, सेवा, निर्माण आदिसँग सम्बन्धित संगठित संस्थालाई लगानी गर्ने नीति अख्तियारी गरेको छ । कोषले लगानी विविधिकरणलाई प्राथामिकता दिँदै जलविद्युत् कम्पनी र पूर्वाधार विकास, निर्यात प्रवर्धन र पर्यटन, व्यापार तथा व्यावसायिक र अन्य उत्पादनशील क्षेत्र, सरकारको प्राथमिकतामा परेका समयानुकूल र उपयुक्त सुरक्षणयुक्त क्षेत्रमा लागनी गरिरहेको छ । यसको अलावा कोषले संगठित संस्था, उद्योग वा सरकारको स्वामित्वमा रहेका संस्थाको संस्थापक सेयर, साधारण सेयर र अग्राधिकार सेयर, संगठित संस्थाले जारी गरेको डिवेन्चरमा लगानी गर्ने सोचलाई अघि सारेको छ । यी सबै बैक तथा वित्तीय संस्थाभित्र मुद्दती निक्षेपमा केन्द्रित लगानीलाई सरकारी प्राथामिकताका पूर्वाधार विकास आयोजनातर्फ केन्द्रित गर्नमा गौतमको महत्त्वपूर्ण भूमिका छ ।
दोलखाको लामाबगर गाविसमा ०६३ सालमा स्थापना भएको ४ सय ५६ मेगाबाट क्षमताको अपर तामाकोसी जलविद्युत् आयोजनालाई आव ०७१/७२ सम्ममा सम्पन्न गर्न लाग्ने कुल लागत ३५ अर्ब २९ करोड मध्ये कोषले ऋण प्रदान गर्ने प्रतिबद्धता जनाएको २ अर्ब रुपियाँ तथा सेयरमा चुक्ता पुँजीको २ प्रतिशतको २१ करोड १८ लाखको सीमामध्ये ५५ करोड रुपियाँ प्रदान गरिसकेको छ । माथिल्लो तामाकोसीजस्ता आयोजनामा गरिएको सेयर तथा ऋण लगानीले कोषको विकासमा महत्त्वपूर्ण भूमिका राख्ने देखिन्छ । सर्वसाधारणलाई बचतका लागि प्रोत्साहन गरी लगानीका अवसर बढाउनु र पुँजी बजारको विकासमा गतिशीलता ल्याई मुलुकको आर्थिक विकासलाई सघाउनु कोष स्थापनाको उद्देश्य हो । कोषको यो उद्देश्य र आफ्नो जिम्मेवारीलाई सार्थक बनाउने बाटोमा गौतम निरन्तर लागिरहेको उनले गरेको कार्यले पुष्टि गर्छ । कोषले साना तथा मझौला स्तरका सहभागीको बचत परिचालन गरी अधिकतम प्रतिफलको अवसर प्रदान गर्दै आएको छ । सार्वजनिक संस्थान र अन्य संघसंस्थालाई आफ्नो दीर्घकालीन दायित्व सुरुमै कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने, सरकारीसाथै अन्य क्षेत्रमा सामाजिक सुरक्षा प्रदान गर्न पेन्सन तथा उत्पादन योजना लागू गर्ने कार्यमा कोष दत्तचित्त छ ।
प्रतिफलमुखी र प्रविधियुक्त कार्यक्रममार्फत कोषलाई प्रभावकारी बनाउने यात्रामा गौतमको जिम्मेवारी सक्षम मानिन्छ । जोखिम र प्रतिफलका आधारमा उच्च प्रतिफल दिने गरी लगानी केन्द्रित गर्ने, संगठनात्मक स्वरूपलाई आवश्यकताअनुसार संशोधन गरी समयानुकूल बनाउने, सूचनाप्रणालीको सशक्तता बढाउने र भौतिक पुर्वाधार निर्माण–विकासतर्फ उनले महत्त्वपूर्ण काम गरेका छन् । कार्यलय र मुलुकको आर्थिक अवस्थाको सुक्ष्म र बृहत् रूपले अध्यन गर्ने गौतम अधुरै रहेका थुप्रै आर्थिक लक्ष्य र समस्याको निराकरणनमा अहोरात्र खटिरहेका हुन्छन् । उनको हेराईमा आार्थिक विकासका कार्यक्रमले गति लिन नसक्नु, आर्थिक असमानता र बेरोजगारी, राजनीतिक अस्थिरता, आर्थिक विभेद, अहिलेको राष्ट्रिय समस्याका रूपमा रहेका छन् । त्यसैले लगानी कोषमार्फत आफूले सकेजति मुलुकको आर्थिक विकासलाई सघाउने योजनामा गौतम सोचिरहन्छन् । हाल कोषले कर्मचारी बचतवृद्धि अवकाश कोष, लगानीकर्ता हिसाब योजना, उपदान कोष, नागरिक एकांक योजना, निजामती कर्मचारी बिमा, सामुदायिक बिद्यालय शिक्षकहरूको जीवन बिमा कोषजस्ता सामाजिक सुरक्षणकारी आयोजना, ट्रस्टी र पुँजी बजार सेवा सञ्चालन गरिरहेको छ । बचत कार्यक्रमबाट संकलित रकमलाई उत्पादनमूलक लगानीका रूपमा सफलतापूर्वक व्यवस्थापन गर्ने गौतमको चाहना सफल हुँदै गइरहेको कोषको गतिविधिले जनाउँछ ।
पछिल्लो समय गौतम देशमा राम्रो प्रतिफल तथा योगदान गर्न सक्ने, आमुल परिवर्तन गराउने परियोजनमा लगानी प्रवाह गराउने गृहकार्य गरिरहेका छन् । निजीक्षेत्रका बाणिज्य बैंकहरूसाँगको सहवित्तीयकरणमा लगानी गर्न सके ठूला आयोजनामार्फत पुँजी विकासलाई गति दिलाउन सकिने उनको बुझाइ छ । विगतमा सहवित्तीयकरण सरकारी बैंकहरूबाट बढी भएको छ । त्यस्तो लगानीमा राजनीतिक हस्तक्षेप देखिन्छ । तर, अब त्यस्तो अवस्था नरहेको उनी बताउँछन । ‘अब निजीक्षेत्रका वाणिज्य बैंकहरूले पनि आयोजनाबारे स्वतन्त्र रूपमा विस्तृत अध्ययन गर्नसक्ने क्षमता राख्छन् । लगानी गर्न उपयुक्त छ/छैन, प्रतिफलमुखी हुन्छ/हुँदैन त्यो हेरेर लगानीको निर्णय लिन सक्छन् । त्यसैले उनीहरूसँगको सहवित्तीयकरण थप प्रभावकारी हुन सक्छ ’ उनी भन्छन् ।
उनले आफ्नो कार्यकालमा मुलुकको आवश्यकताअनुसार कार्यक्रम पहिचान गरी लगानी सञ्चालन गर्नतिर कोषलाई अग्रसर गराइरहेका छन् । यसका लागि सञ्चालित कार्यक्रमलाई थप प्रभावकारी बनाउने, नसमेटिएका संघ, संस्था र व्यक्तिलाई पनि समेट्ने गरी अघि बढ्ने तर्फ कोष लागिरहेको छ ।

प्रतिक्रिया